खेलकुद पूर्वाधारमा मधेस प्रदेश नमूना बन्छ : मुख्यमन्त्री यादव

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले खेलकूद पूर्वाधारमा मधेश प्रदेशलाई देशकै नमूना बनाउने घोषणा गरेका छन् । बुधबार जनकपुरधाम–१४ स्थित रामजानकी अन्तराष्ट्रिय स्टेडियम (रंगशाला) निर्माणस्थलको निरीक्षण गर्दै मुख्यमन्त्री यादवले मधेश प्रदेशलाई नमूना बनाउने घोषणा गरेका हुन् । मुख्यमन्त्री यादवले रंगशाला निर्माणस्थलको निरीक्षण गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहयोग गरेको एक अर्ब रुपैयाँ स्टेडियम निर्माणमा खर्च गरिने जानकारी दिए ।
‘म भन्दा पहिलेको मधेश सरकारले धर्मशाला बनाउने प्रयास गरेको थियो, त्यो पनि संचालनमा आएन । त्यसैले उक्त रकमको उपयोग अन्तराष्ट्रिय रंगशाला (स्टेडियम) निर्माण गरेर मधेश प्रदेशलाई सबै प्रकारको खेलको हव बनाउने योजना रहेको छ’ उनले भने । आउँदो तीन वर्षभित्र स्टेडियम निर्माण कार्य पूरा हुने गरी प्रदेश सरकारले काम अगाडि बढाउने समेत उनले बताए । ‘भारत सरकारले दिएको आर्थिक सहयोग अपुग भए प्रदेश सरकार ५० करोडदेखि सय करोडसम्म बजेट उपलब्ध गराउन तयार छ’ उनले भने–‘आगामी ११ औं राष्ट्रिय खेलकूद मधेश प्रदेशमा आयोजना गर्नको लागि पहल थालेका छौं ।’
जनकपुरधाम नगरपालिकाको समेत सहभागितामा राष्ट्रिय खेलकूद आयोजनाको लागि प्रदेशस्थित महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयका सचिव रञ्जित यादवको संयोजकत्वमा कार्यदल समेत गठन गरिएको छ । कार्यदलमा आठै जिल्लाका प्रतिनिधिहरु रहेका छन् । कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा आगामी राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजनाको दावी पेस गर्ने मुख्यमन्त्री यादवले बताए ।
मुख्यमन्त्री यादवले मधेश प्रदेशमा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नका लागि खेलकूदलाई प्राथमिकतामा राखेर अघि बढ्ने समेत बताए। खेलाडीले नै देश र प्रदेशको नाम विश्वसामु चिनाउने भएकोले उनीहरुलाई प्रोत्साहित गर्नका लागि प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने उनको भनाई थियो । सो अवसरमा प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुर, शेषनारायण यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह लगायतको उपस्थिति थियो । स्टेडियम निर्माण स्थलमा मुख्यमन्त्री यादवसहितको टोलीलाई क्रिकेट प्रशिक्षक, खेलप्रेमी, खेलाडी लगायतले भव्य स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय प्रधानमन्त्रीले उपयुक्त समयमा नेपाल भ्रमण गर्नुहुनेछ : प्रचण्ड
-
गेरुबस्त्र धारणबारे प्रचण्ड : पत्नीका लागि महाकालेश्वर गएको होइन
-
भारत भ्रमण विगतभन्दा फरक र परिणामुखी भयो : प्रधानमन्त्री
-
जुम्लामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा
-
प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा स्वागत, तस्बिरहरू हेर्नुहोस्
-
यार्सा टिप्न डोल्पा गएका जाजरकोटका एक पुरुषको मृत्यु