शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र र साझा कार्यक्रम बनाउनुपर्छ’

बुधबार, ०८ चैत २०७९, १५ : ५०
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलले सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र र साझा कार्यक्रम बनाउनुपर्ने बताएका छन् । उनले गठबन्धनको सरकार भएको हुनाले न्यूनतम साझा कार्यक्रम आवश्यक रहेको बताए । सरकार सञ्चालनका लागि आचारसंहिता पनि चाहिने उनको भनाइ थियो । 

 उपमहासचिव पोखरेलले कस्ता व्यक्तिहरूलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल आवश्यक रहेको बताए । भ्रष्टाचारबाट मुक्त भएकाहरूलाई मन्त्री बनाउनुपर्नेमा जोड दिँदै उनले शान्ति प्रक्रियाका कामलाई अगाडि बढाउने, सुशासन, सेवा प्रवाह र प्रणाली निर्माण गर्नुपर्ने मुख्य कार्यभार सरकारको रहेकाले सोही अनुरूपको जिम्मेवारी निर्वाह गर्न सक्नेहरूलाई सरकारमा लानुपर्ने बताए । 

‘प्रधानमन्त्रीज्यूले चैत्र १० सम्ममा सरकार बन्छ भनेर भन्नुभएको छ । विश्वासको मत लिइसकेपछि सबै पार्टीका आफ्ना आफ्ना अपेक्षा छन् । यो सांसदलाई पाँच वर्ष चलाउने, देशले स्थायित्व र स्थिरता खोजेको छ, त्यो दिने’, उनले भने, ‘शान्ति प्रक्रियाका कामलाई अगाडि बढाउने, जनतालाई साँच्चै परिवर्तनको अनुभूति दिलाउने, सुशासन, सेवा प्रवाह र प्रणाली निर्माण गर्ने एकदम महत्त्वपूर्ण जिम्मेवारी छन् । त्यस कारण अहिले मन्त्रालय बाँडफाँटका कुरा मात्रै होइन कस्ता मन्त्री आउने बारेमा छलफल गर्नुपर्छ । भ्रष्टाचारबाट मुक्त भएको साँच्चै नयाँ ढङ्गले जाने ढङ्गले सोच्नुपर्छ । त्यस कारणले अलिकति समय लागे पनि यी कार्यभारलाई पूरा गर्ने गरी लैजानुपर्छ । अर्को पनि प्रश्न उठेको छ कि मन्त्रीहरू मात्रै बनाउने होइन मन्त्रीहरूले लागू गर्ने न्यूनतम साझा कार्यक्रम पनि बनाउनुप¥यो ।संयन्त्र बनाउने, नबनाउने आ–आफ्नो देशको विशिष्टतामा सोचिन्छ । साझा आचारसंहिता चाहिन्छ ।’

उनले नयाँ मन्त्रिपरिषद् गठन हुँदा माओवादी केन्द्रबाट मन्त्री भएकाहरूलाई फिर्ता नबोलाइने बताए । उनले मन्त्रीहरूले विगतमा राम्रो सँग काम गर्न नपाएका भन्दै मन्त्रीहरू बदल्ने कुरा नभएको स्पष्ट पारे । 

उपमहासचिव पोखरेलले वर्तमान सत्तारुढ गठबन्धन बाध्यता र आवश्यकताले बनेको उल्लेख गर्दै यो गठबन्धन पाँचै वर्ष जाने बताए । उनले  सत्तारुढ दलहरू एउटै डुंगामा बसेर जानुको विकल्प नभएको बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप