शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा हुने विश्व नेपाली नारी साहित्य सम्मेलनको तयारी पूरा

बुधबार, ०८ चैत २०७९, २० : ३४
बुधबार, ०८ चैत २०७९

धनगढी । यही चैत्र १० गते धनगढीमा हुने विश्व नेपाली नारी साहित्य सम्मेलनको तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै नारी साहित्य सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो ।

साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले विश्व नेपाली नारी साहित्य सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने जानकारी दिए । उनले सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भुटान, म्यानमार लगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा समारोहमा साहित्यिक प्रतिभा झमक घिमिरेलाई एक लाख ११ हजार रुपैयाँ राशिको बद्रि–कृष्णा बाङ्गमय पुरस्कार प्रदान गरिने छ ।

सम्मेलनमा विलक्षण प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, स्थापित समाजसेवी अनुराधा कोइराला, मधेसका मूर्धन्य साहित्यकार राजेन्द्र विमल, गजलकार तिलक पेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा अमेरिका पनि सहभागी हुनेछन् ।

सम्मेलन आयोजनाका लागि मूल आयोजक समितिका साथै डेढ दर्जन बढी उपसमितिहरू गठन भएका छन् । सम्मेलनमा सञ्चालन गरिने अन्तरसंवाद सत्रहरूको टुङ्गो लागिएको छ ।

यस्तै कार्यक्रम मूल आयोजक समितिका संयोजक वरिष्ठ लोक गायक यज्ञराज उपाध्यायले धनगढीलाई बौद्धिक बहसको नगरिका रूपमा स्थापित गर्न यो कार्यक्रमको आयोजना गरिने बताए । यसले यहाँको भाषा, साहित्य, कला र संस्कृतिलाई विश्वव्यापी गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको उनले बताए ।

यस्तै साहित्यकार रामलाल जोशीले सम्मेलनमा कला, संस्कृति, राजनीतिक परिवेसलगायत थुप्रै विषयमा प्यानल डिस्कसन हुने बताए । उनले साहित्य सम्मेलन सुदूरपश्चिमका लागि एक ब्राण्ड बनिरहेको बताए ।

सम्मेलन आयोजनाका लागि करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । साहित्य समाजले यसअघि धनगढीमा २०७६ सालमा विश्व नेपाली साहित्य सम्मेलन र २०७८ सालमा नेपाली साहित्य सम्मेलन आयोजना गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप