शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आसिफलाई मधेश प्रदेश सरकारको सम्मान : दुई लाख दिने घोषणा

शुक्रबार, १० चैत २०७९, १३ : ३०
शुक्रबार, १० चैत २०७९

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशका अन्तराष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको छ । बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लबले यसैसाता आसिफलाई ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएको थियो । प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश र देशको शिर उच्च पारेको भन्दै आसिफलाई सो रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।

वीरगञ्ज निवासी आसिफले २०२२ फेब्रुअरी १४ मा आयरल्याण्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा आयरिस खेलाडी एन्डी म्याकब्रायनलाई रन आउट गर्ने अवसर पाउँदा पनि खेल भावना देखाउँदै रनआउट नगरेपछि आइसीसी(अन्तराष्ट्रिय क्रिकेट काउन्सिल) ले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ समेत प्रदान गरेको थियो ।

सो म्याचमा एन्डी म्याकब्रायन नेपाली बलर कमलसिंह ऐरीसँग जुधेर लडेपछि आसिफको हातमा बल आएको थियो । रनआउट गर्ने सहज मौका हुँदा पनि उनले रनआउट गरेका थिएनन् । त्यसैले आइसीसीले आसिफको खेल भावनाको उच्च सम्मान गर्दै वर्षको ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ प्रदान गरेको थियो ।

सोही सन्दर्भमा अस्ट्रेलियाको फक्स स्पोर्टस्लेसमेत ‘ब्रिलिएन्ट स्पोर्ट स्म्याानसिप फ्रम नेपाल’ भनेर आसिफको प्रशंसा गरेको थियो ।

हालै सम्पन्न आइसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युएईविरुद्ध आसिफले उत्कृष्ट प्रदर्शन गर्न नसके पनि अघिल्ला खेलहरुमा उल्लेखनीय प्रदर्शन गरेका थिए । उदाहरणीय खेल भावनाको परिचय दिँदै विश्वभरिका क्रिकेटप्रेमीहरुको मन जितेर प्रदेश र देशको प्रतिष्ठा बढाएको भन्दै प्रदेश सरकारले सम्मानस्वरुप आसिफलाई सो रकम प्रदान गर्न लागेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरिले जानकारी दिए ।

यसअघि प्रदेश सरकारले गुलशन झा र आरिफ शेखलाई पनि जनही दुई÷दुई लाख प्रदान गर्ने घोषणा गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप