शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
महानगर

काठमाडौँ महानगरले ६ वर्षमा जरिवानाबाटै असुल्यो ६ करोड २२ लाख रुपैयाँ

मापदण्ड विपरीतका ९ हजार बोर्ड हटाइयो
शनिबार, ११ चैत २०७९, १६ : ०८
शनिबार, ११ चैत २०७९

काठमाडौँ ।  गत असारमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले महाराजगन्जमा मकै बेच्दै हिँडेकी एक महिलाको ठेलालाई लछारपछार गरेर नियन्त्रणमा लिएको तस्बिर र भिडियोले सामाजिक सञ्जाल निकै तताएको थियो । 

सर्वसाधारणलाई हिँड्न सहज बनाउन र अव्यवस्थित फुटपाथलाई व्यवस्थित गर्न महानगरपालिकाले कारबाही गर्नुका साथै समान जफत गर्दै आएको छ । महानगरपालिकाको मेयरमा बलेन शाह निर्वाचित भएसँगै उनले यो अभियानलाई झन् आक्रामक बनाएका छन् । अहिले महानगरभित्र बेलुका ७ बजेभन्दा अघि फुटपाथ वा सडकमा व्यापार व्यवसायी गर्न मनाही छ । 

महानगरले आर्थिक वर्ष २०७४/७५ सालदेखि फुटपाथ व्यापारीलगायतलाई कारबाही र जरिवाना गर्दै आएको छ । महानगरपालिकाले सडकपेटी अतिक्रमण नियन्त्रण, मोटरसाइकल पार्किङ व्यवस्थापन, छाडा पशु व्यवस्थापन, निर्माण नियन्त्रण, दृष्यप्रदुषण नियन्त्रण र फोहोर मैला गर्नेलाई कारबाही गरेर जरिवाना गर्दै आएको छ । 

महानगरको अनुसार पाँच वर्ष ७ महिनामा ६१ हजार ५ सय ९७ जनालाई कारबाही गर्दै ६ करोड २२ लाख ५४ हजार चार सय ५० रुपैयाँ जरिवाना गरेको महानगरले जनाएको छ । 

आर्थिक वर्ष २०७४/७५ मा १२ हजार २७ जनालाई कारबाही गर्दै एक करोड २१ लाख १५ हजार जरिवाना गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा १३ हजार पाँच सय ८७ जनालाई कारबाही गर्दै एक करोड ३९ लाख २१ हजार चार सय ५० रुपैयाँ जरिवाना गरेको छ । 

त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा ११ हजार सात सय ८९ जनलाई कारबाही गर्दै एक करोड २१ लाख ५३ हजार  तीन सय रुपैयाँ जरिवाना गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा ८ हजार ५८ जनालाई कारबाही गर्दै ८० लाख ११ हजार एक सय रुपैयाँ जरिवाना गरेको छ । 

गत आर्थिक वर्षमा भने १५ हजार ६ सय २५ जनालाई कारबाही गर्दै एक करोड ५७ लाख  एक हजार नौ सय रुपैयाँ जरिवाना गरेका छन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा पाँच सय ११ जनालाई कारबाही गर्दै दुई लाख ७५ हजार ७ सय रुपैयाँ जरिवाना उठाइएको छ ।

जफत गरेको सामान लिलाम गर्ने गरेको काठमाडौँ महानगरपालिका प्रवक्ता नवीन मानन्धरले बताए । २०७५ वैशाख १२ गतेको काठमाडौँ महानगरपालिका नगर कार्यपालिका बैठकको निर्णयअनुसार महानगरपालिका क्षेत्रमा सडकहरू पैदलयात्री मैत्री बनाइने नीति अनुसार सडक फुटपाथ व्यापारको सामान जफत गरी लिलाम गर्दै आएको उनले बताए । जफत गरेको सामान कुनै हालतमा फिर्ता नहुने र कुहिने सामान छ भने फिर्ता हुने गरेको उनले बताए । महानगरले सडक पेटीमा राखिएको समान र पसलको सटरभन्दा बाहिर राखिएको सामानलाई मात्र जफत गर्ने गरेको उनले बताए । ‘पहिला यो कार्य सुस्ताएको थियो,’ उनले भने, ‘अहिले हामी यसलाई तीव्रताका साथ निरन्तरता दिँदै आएका छौँ ।’

अहिले महानगरले पैदल यात्रुलाई हिँड्न असहज भएको भन्दै फुटपाथका व्यापारीलाई कारबाही र निषेध गर्ने कार्यलाई तीव्रता दिएको छ । महानगरपालिकाले बढी भिडभाड भएको ठाउँमा ठेला, डोको, क्रेट र नाङ्लोमा व्यापार गर्न रोक लगाइएको छ । 

अहिले सर्वसाधारणलाई हिँड्न केही सहज भएको छ । तर, फुटपाथ व्यापारीलाई भने महानगरपालिकाले व्यवस्थापन गर्ने कुनै विकल्प खोज्न र योजना बनाउन सकेको छैन । 

मापदण्ड विपरीतका ९ हजार परिचय पाटी/बोर्ड हटाइयो 

काठमाडौँ महानगरपालिकाले ९ हजार अनधिकृत परिचय पाटी हटाएको छ । मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकार भन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाइएको महानगरले जनाएको छ । 

गत असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो । मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्ड भित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो। तर, व्यवसायीहरूले अटेर गरेर राखिएको भित्ते लेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइएको महानगरले जनाएको छ । 

महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ हो भने १५ वर्ग फुटसम्मको शुल्क १ हजार ५ सय रुपैयाँ रहेको छ ।  १५ वर्ग फुटदेखि ३० वर्ग फुटसम्मका परिचय पाटीको प्रति वर्गफुट १ हजार रुपैयाँ थप शुल्क तिर्नुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डुक्पा छिरिङ मोक्तान
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप