जनगणनाको नतिजा : मास्टर डिग्री गर्ने २.२ प्रतिशत मात्र, एसएलसी मात्र उत्तीर्ण कति ?
काठमाडौँ । सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालमा कूल साक्षरता प्रतिशत ७६ दशमलव २ रहेको छ । राष्ट्रिय जनगणनामा ५ वर्ष वा सो भन्दा माथिल्लो उमेरका व्यक्तिहरूको शैक्षिक अवस्था सम्बन्धी विवरण सङ्कलन गरिएकोमा जनगणनाको नतिजाले देशका ५ वर्ष वा सो भन्दा माथिल्लो उमेरका कुल २ करोड ६६ लाख ७५ हजार ९७५ जनसङ्ख्यामा २ करोड ३ लाख ४१ हजार ६२३ जना पढ्न र लेख्न दुवै जान्ने देखाएको छ । यस अनुसार देशको समग्र साक्षरता दर ७६.२ प्रतिशत रहेको तथ्याङ्क विभागको आँकडाले देखाएको छ ।
जसमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत रहेको छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ । अघिल्लो २०६८ को जनगणनामा कुल साक्षरता दर ६५.९ प्रतिशत, पुरुषको साक्षरता दर ७५.१ प्रतिशत र महिलाको साक्षरता दर ५७.४ प्रतिशत रहेकोमा साक्षरता दर बढेको छ ।
सार्वजनिक आँकडा अनुसार साक्षरता दर पहाडी क्षेत्रमा धेरै रहेको छ भने सबैभन्दा कम हिमाली क्षेत्रमा रहेको छ । हिमालमा ७२.८ प्रतिशत, पहाडमा ८०.९ प्रतिशत र तराईमा ७३.१ प्रतिशत साक्षरता दर रहेको छ ।
स्थानीय तहगत हिसाबले गाउँपालिकामा बसोबास गर्ने जनसङ्ख्यामा ७८.५ प्रतिशत र नगरपालिकामा बसोबास गर्ने जनसङ्ख्यामा ७८.५ प्रतिशत साक्षर रहेका छन् ।
प्रदेशगत आधारमा बागमती प्रदेशमा सबै भन्दा धेरै साक्षरता दर रहेको छ । बागमती प्रदेशमा पाँच वर्ष वा सो भन्दा माथिल्लो उमेरका जनसङ्ख्याको ८२.१ प्रतिशत साक्षर रहेका छन् । पुरुषको साक्षरता दर गण्डकी प्रदेशमा उच्च रहेको छ । मधेस प्रदेशमा सबै भन्दा कम साक्षरता दर (६३.५%) रहेको छ । पुरुष र महिलाको साक्षरता दर समेत मधेस प्रदेशमा अन्य प्रदेशको तुलनामा सबैभन्दा कम रहेको छ ।
सबै जिल्लाहरूमा ५५ प्रतिशत भन्दा धेरै साक्षरता दर देखिएको छ । काठमाडौँ जिल्लामा सबैभन्दा बढी ८९.२३ प्रतिशत र रौतहट जिल्लामा सबैभन्दा कम साक्षरता दर ५७.७५ प्रतिशत रहेको छ । पुरुष र महिलाको साक्षरता दर पनि अन्य जिल्लाको तुलनामा काठमाडौँ जिल्लामा क्रमशः ९४.१९ प्रतिशत र ८४.१६ प्रतिशत रहेको छ । रौतहट जिल्लामा भने महिला र पुरुष दुवैको साक्षरता दर अन्य सबै जिल्लाहरूको भन्दा कम रहेको छ ।
कुल साक्षर जनसङ्ख्याको सबैभन्दा बढी २८.७ प्रतिशत व्यक्तिहरूले प्राथमिक तह कक्षा १ देखि ५ सम्म मात्र उत्तीर्ण गरेका छन् । निम्न माध्यमिक तह कक्षा ६ देखि ८ सम्म मात्र उत्तीर्ण गरेका व्यक्तिहरू १९.९ प्रतिशत रहेको आँकडाले देखाएको छ । एस.एल.सी. वा सो सरह मात्र उत्तीर्ण गर्ने व्यक्तिहरू ९.५ प्रतिशत, यसैगरी एस.एल.सी. भन्दा माथिल्लो तह उत्तीर्ण गर्नेहरू १९.५ प्रतिशत रहेका छन् । यस्तै १.८ प्रतिशत व्यक्तिहरूले अनौपचारिक शिक्षा अध्ययन गरेको देखिएको छ ।
जनगणनाको नतिजा अनुसार देशका ५ वर्ष वा सो भन्दा बढी उमेरका साक्षर पुरुष र महिलाहरूले सबैभन्दा बढी सङ्ख्याले प्राथमिक तह मात्र उत्तीर्ण गरेको आँकडा छ । जसमा पुरुष २८.८ प्रतिशत र महिला २८.६ प्रतिशत रहेका छन् । निम्न माध्यमिक तह मात्र उत्तीर्ण गरेका दोस्रो ठुलो हिस्सा १९.९ प्रतिशत रहेका छन् । कक्षा ९ र १० उत्तीर्ण १५.४ प्रतिशत रहेका छन् भने एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण गर्नेहरू ९.५ प्रतिशत रहेका छन् ।
यस्तै प्रमाणपत्र तह वा टेन प्लस टु उत्तीर्ण १२.७ प्रतिशत, स्नातक वा सो सरह ४.६ प्रतिशत, स्नातकोत्तर वा सो सरह वा सो भन्दा माथि २.२ प्रतिशत रहेका छन् । तह नखुलेकोमा १.८ प्रतिशत रहेका छन् । अनौपचारिक शिक्षामा भने महिलाहरूको प्रतिशत पुरुषको भन्दा धेरै रहेको तथ्याङ्क विभागले जनाएको छ ।
यस्तै स्कुले शिक्षाभन्दा माथिको शिक्षामा अध्ययन गरेको विषयको आँकडा हेर्दा धेरै व्यक्तिहरू अर्थात् ३५.१ प्रतिशतले व्यवस्थापन क्षेत्रको अध्ययन गरेको देखिएको छ । शिक्षाशास्त्र अध्ययन गरेका व्यक्तिहरू २९.९ प्रतिशत सहित दोस्रो स्थानमा रहेका छन् भने मानविकी तथा सामाजिक शास्त्र अध्ययन गरेका व्यक्तिहरू ११.५ प्रतिशत छन् । विज्ञान७.१ प्रतिशत, स्वास्थ्य ४.४ प्रतिशत, चिकित्साशास्त्र ३.० प्रतिशत, इन्जिनियरिङ १.२ प्रतिशत, कम्प्युटर ०.८ प्रतिशत, सूचना प्रविधि ०.७ प्रतिशत, कानुन ०.३ प्रतिशत, कृषि, वन र पशुविज्ञान अध्ययन गर्ने ०.२ प्रतिशत रहेका छन् ।
लैङ्गिक आधारमा हेर्दा सबैभन्दा धेरै पुरुषहरू ३६.९ ले व्यवस्थापन क्षेत्रमा अध्ययन गरेको देखिएको छ भने धेरै महिलाहरू ३६.१ प्रतिशतले शिक्षाशास्त्र अध्ययन गरेका छन् । मानविकी तथा सामाजिकशास्त्र ११.६ प्रतिशत अध्ययन गर्ने महिला र पुरुषहरू बराबर देखिएका छन् ।