बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओली र प्रचण्डको बोली अचानक फेरिनुको संकेत के ?

शुक्रबार, १८ फागुन २०७४, १६ : १०
शुक्रबार, १८ फागुन २०७४

काठमाडौं– ‘होली मनाए’पछि प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बोली फेरिएको हो ।

होली अगाडिसम्म बामगठबन्धन, पार्टी एकता र सरकारको विस्तारमै केन्द्रित यी दुई नेताका अभिव्यक्ति विहिवारबाट अचानक फेरिएका छन् ।

यद्यपी उनीहरु अहिले जे बोलिरहेका छन्, यो चुनाव अगाडिकै नारा हो । र, उनीहरुले बामगठबन्धनको संयुक्त घोषणापत्रमा समेटेको ‘एजेन्डा’ पनि ।  

ओली र प्रचण्डले विहिवारबाट भ्रष्टाचार विरुद्धका कठोर अभिव्यक्ति दिन थालेका छन् । यस्तो अभिव्यक्तिका पछाडि के रणनीति होला ? राजनीतिक दलका नेता–कार्यकर्ता र भ्रष्टाचार विरुद्ध काम गरिरहेका व्यक्तिहरुले चासोपूर्वक हेरेका छन् ।

प्रधानमन्त्री ओली र प्रचण्डले भ्रष्टाचार विरुद्ध कठोर हुने अभिव्यक्ति जस्तो मंच दिएका छन्, यो पनि आफैमा अर्थपूर्ण छ ।

पहिला प्रधानमन्त्री केपी ओली र पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले दिएको भ्रष्टाचार विरुद्धका अभिव्यक्ति हेरौँ ।

शुक्रबार प्रधानमन्त्री ओलीले भने–

‘म प्रधानमन्त्री छ । घरमै बसेर योगा गरेँ भने म कसरी भ्रष्ट हुन्छु ? जव म नेटवर्क बनाउँछु । एजेण्ट बनाउँछु । ठकेदारसँग हात मिलाउछु । र उसले भनेको मान्छु । म उसको नजरमा गिर्छु । भ्रष्ट बन्दै जान्छु । अवको नेतृत्वलाई कुनै लिनुदिनु छैन, ‘नो करप्सन’ । म ‘च्यालेन्ज’ गर्छु, कसैले मेरो नेतृत्वको सरकार भ्रष्टचारी हो भनेर औला ठड्याउन पाउने छैन । टेवल पुछ्न जाँदा हात धुलोमैलो लिएर गयो भने टेवल सफा हँुदैन । त्यसैले सफा गर्न सफा नै भएर जानुपर्छ । मेरो नेतृत्वको सरकारले भ्रष्टचार गरे सार्वजनिक रुपमा भन्नुस् । मुलुकलाई भ्रष्टचार मुक्त बनाउने  नै मेरो प्रतिवद्धता हो ।’

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् । जवकि यस्ता कार्यक्रममा नेताहरुले विषयगत कुरा गर्ने गर्दछन् । यहाँ सरकारको स्वास्थ्य सम्बन्धी नीतिमाथि मात्रै प्रधानमन्त्रीले धाराणा पनि राख्न सक्थे । यसकारण उनले यहाँ सचेत र योजनाबद्ध अभिव्यक्ति दिएका हुन् ।

त्यसको ठीक अगाडि प्रचण्डले काठमाडौं बाहिरबाट भ्रष्टाचार विरुद्धको अभिव्यक्ति दिए । काठमाडौंबाहिर यति धेरै महत्वपुर्ण मुद्दा जसरी प्रचण्डले उचाले, यसको पनि केही संकेत हुन सक्छ । नवलपरासीको बर्दघाटमा शहीद तथा वेपत्ता परिवार सम्मान कार्यक्रम, जुन माओवादीको आन्तरिक जस्तो कार्यक्रम हो, त्यहाँ पुगेर प्रचण्डले आक्रमक अभिव्यक्ति दिएका छन् ।

प्रचण्डले भनेका थिए–

‘वाम गठबन्धनको सरकारको मुख्य ध्यान विकास र सुशासनमा केन्द्रीत छ । जनताको चाहना विकास भएपनि विकासका लागि सुशासनको अनिवार्यता आवश्यक छ । अहिले जनताले स्थायित्व र विकास खोजेका छन । तर, यसका लागि सुशासन नभई हुँदैन ।

न्यायालदेखि कर्मचारी र सुरक्षा संयन्त्रसम्मको बेथिति अन्तय नगरी सम्भव हुँदैन ।

कम्युनिष्टहरुको झण्डै दुई तिहाई आएको बेला बनेको सरकारका अगाडि विकासबाहेक कुनै प्राथमिकता छैन । त्यसका लागि भ्रष्टाचारीलाई जेल हाल्नुपर्ने अवस्था आए पनि त्यसबाट सरकार पछि हट्दैन । अहिले न्यायालदेखि कर्मचारीतन्त्र र सुरक्षा सन्यन्त्रमा पनि बेथिती छ भन्ने सुनिन्छ । दुबै पार्टीको नेतृत्वमा तहमा हामीले भ्रष्ट र बेथिति गर्ने कसैलाई नछोडने अठोट गरेका छौँ । न्यायालयमा बेइमानी गर्ने र जाली फटाहाका पक्षमा न्याय दिनेलाई महाअभियोग लगाउने समय आएको छ ।

भ्रष्टाचार गर्ने कर्मचारीतन्त्रलाई जेल हाल्ने बेला आएको छ । त्यसो नगरे विकास र सुशासन सम्भव छैन । भ्रष्टहरुलाई तह लगाउन नसके जनताले हामीलाई नै सजाय दिने कुरा हामीलाई थाहा छ ।

केपी ओलीजी र मलाइ देशको जनताको सेवाबाहेक अरु केही लिनुदिनु छैन । एकजना १४ वर्ष जेल बसेका र अर्को वर्षौ बनबास बसेका व्यक्ति नेतृत्वमा छौँ । हाम्रो स्वार्थ देशलाई चाँडो भन्दा चाँडो विकास गराउने मात्रै छ ।

गौतम बुद्धले २६ सय वर्ष अघि ज्ञान दिए । अब हामी नयाँ मोडेलका समाजवाद संसारलाई दिन सक्छौँ । त्यसका लागि तीब्र विकासको चाहना मात्रै हाम्रो स्वार्थ हो ।’

प्रधानमन्त्री ओली र उनका सत्तासहयात्री प्रचण्डको एकै पटक यस्तो अभिव्यक्ति आउनुले केही न केही संकेत गर्दछ ।

अझ यी नेताको अभिव्यक्ति यस्तो बेला आएको छ, जतिबेला उनीहरु दुई तिहाई बहुमतको सरकार निर्माणका लागि संघीय समाजवादी फोरमसँग वार्ता गरिरहेका छन् ।

राजनीतिक नेतृत्व नै भ्रष्ट भएका कारण मुलकमा भ्रष्टचार मौलाएको आम मानिसको आशंका र विभिन्न संस्थाहरुको सर्वेक्षणहरुले देखाइरहेका बेला प्रधानमन्त्री र पुर्व प्रधानमन्त्रीले एकैपटक भ्रष्टचार र भ्रष्टचारीमाथि कारवाही गर्ने अभिव्यक्ति दिएका छन् ।

उनीहरुको यो अभिव्यक्तिले मुलुकमा साच्चै भ्रष्टाचार कम होला भन्ने प्रश्न उठि नै हाल्छ ।

हामीले यो प्रश्न भ्रष्टाचार विरोधी क्षेत्रमा समेत काम गर्ने जनहित संरक्षण मञ्चका कार्यकारी अध्यक्ष तथा बरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मालाई राखेका थियौँ ।

शर्मा भन्छन्–

–प्रधानमन्त्री र पुर्वप्रधानमन्त्रीबाट आएको भ्रष्टचारविरोधी अभिव्यक्ति र प्रतिवद्धता मुलुकका लागि राम्रो संकेत हो ।

–उहाँहरुले भनेको कुरा व्यवहारमा लागु गर्न सक्नुभयो भने पक्कै पनि जनताले उहाँहरुलाई राजनेता मान्नेछन् । राष्ट्र र जनताले खोजेको पनि भ्रष्टाचारमुक्त समाज नै हो ।

–मुलुकमा भ्रष्टाचार अन्त्य भयो भने मुलुकमै आर्थिक विकास भएर सम्बृद्ध नेपाल बनाउने उदेश्य पनि पुरा हुन्छ । भ्रष्टाचार नियन्त्रण गर्ने कुरा नेताहरुले भन्दै आएको सुशासन र सम्बृद्धिसँग पनि जोडिएकाले उहाँहरुले आफ्नो भनाइलाई ब्यवहारमा उतानुृहुन्छ भनेर आशा गर्न सकिन्छ ।

–भ्रष्टचार अन्तय भएमा नेपालको छवि विश्वमा समेत राम्रो हुनेछ । त्यसपछि बल्ल सगरमाथा र बुद्धको देश भनेर हामी नेपाली जनताले गर्वको अनुभुति गर्न सक्छौ ।

–एक नेता मृत्युसँग संघर्ष गरिरहेको र अर्को नेताले हालैमात्र आफ्नो परिवारको सवैभन्दा नजिकको सदस्य (छोरा) गुमाएकाले मृत्यु के हो भन्ने बुझेकाले देश र जनताप्रति देखाएको यो सदासयतालाई सकारात्मक रुपमा लिनुपर्छ ।

यही प्रश्न हामीले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल अध्यक्ष श्रीहरि अर्यालसँग पनि राख्यौँ ।

अध्यक्ष अर्याल भन्छन्

–नेताहरुको बोली र व्यवहारमा एकरुपता भए भ्रष्टाचार र भ्रष्टाचारी प्रवृतिको अन्त्य हुन सक्छ ।

–यो भन्नेमात्रै हैन गर्ने वेला पनि हो यो । जनताप्रति जवाफदेही हुने हो भने अब यो सरकारले यो विषयमा भाग्न मिल्दैन ।

–राजनीतिमा अस्थिरता र अराजकता र भ्रष्टचार बढ्यो ।

–अव स्थिर सरकार गठन हुन लागेको छ । भ्रष्टचार हुनै नदिने राष्ट्रिय सतर्कता केन्द्र र भ्रष्टचार भएपछि गर्ने निकाय अख्तियार छ । तर, यी निकायले काम नगरेकाले पनि भ्रष्टचार बढेको हो ।

लोकतन्त्रको मुटु प्रधानमन्त्री कार्यलय भएकाले प्रधानमन्त्री कार्यलय र उनको सचिवालय सघन र सक्षम बनाउदै लैजानुपर्छ । मुल सफा नभएसम्म धाराको पानी सफा हँुदैन ।

–नेता र राजनीतिज्ञको आचरण परिवर्तन नभएसम्म परिवर्तनको सम्भावना न्यून हुन्छ र भ्रष्टाचार नियन्त्रण गर्छु भन्नुपनि बेकारको कुरा हुन जान्छ ।

भ्रष्टचारमा कहाँ छ नेपाल ?

नेपालमा भ्रष्टचार मौलाउनुमा धेरैजसो तथ्यहरुलाई हेर्दा पनि राजनीति नै मुल कारण मानिन्छ । भ्रष्टचारसम्बन्धी तथ्यांक संकलन गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले हालै सार्वजनिक गरेको तथ्यांकमा नेपाल भ्रष्टाचार हुने देशहरुको सूचिमा १ सय २२औं स्थानमा परेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धि विश्वव्यापी सूचकांकमा नेपाल भ्रष्टाचार हुने देशहरुको १ सय २२औं स्थान परेको हो ।

१ सय ८० वटा देशमध्ये नेपाल ३१ अंक प्राप्त गरी १ सय २२औं स्थानमा परेको हो । नेपालमा सबैभन्दा धेरै भ्रष्टाचार राजनीतिक क्षेत्रमा हुने गरेको सूचकांकमा उल्लेख  छ ।

विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको सूचिमा न्यूजिल्याण्ड रहेको छ भने सोमालियामा सबैभन्दा बढि भ्रष्टाचार हुने गरेको छ ।

दक्षिण एशीयाली राष्ट्रहरु मध्ये भारत ८१औं स्थानमा परेको छ । त्यसैगरी भुटान २६औं, श्रीलंका ९१ औं, मालदिभ्स १ सय १२औं, पाकिस्तान १ सय १७औं, बंगलादेश १ सय ४३आंै स्थानमा परेको पनि सूचकांकमा उल्लेख गरिएको छ ।

राजनीति दलका नेता के ठान्छन् ?

ठाकुर गैरे, केन्द्रीय सदस्य, नेकपा एमाले

अध्यक्षद्धयबाट आएको भ्रष्टाचार विरोधी प्रतिवद्धता सकारात्मक छन् । मौलाउदै गएको भ्रष्टाचारविरुद्धमा वर्तमान सरकार उभिन सकेन भने बाम सरकार बन्नुको औचित्य पुष्टि हुन सक्दैन । त्यसका लागि यो सरकारले एनसेल विक्रिको कर असुुलीबाट काम थाल्नुपर्छ । त्यसपछि चुडामणि शर्मा र आयल निगम प्रकरणको निश्पक्ष छानबिन र दोषिलाई कडा कारवाही गर्न सक्यो भने सरकार र सरकारका स्टेकहोल्डरले गरेको प्रतिवद्धतामा जनताले विश्वास राख्छन् ।

त्यसका लागि अध्यक्षद्धयले ‘देश र जनताबाहेक अव हाम्रो कोही छैन । सवै देश र जनतामात्र हुन्’ भन्नुपर्छ र उनीहरुको हितविपरित केही गर्दैनौ भनेर ब्यवहारपनि त्यस्तै देखाउनुपर्छ । त्यहि किसिमका नीतिनियम र दण्ड जरिवाना भए मात्रै बोली र व्यवहारमा तारताम्य मिल्छ ।

विश्वप्रकाश शर्मा, काँग्रेस प्रवक्ता

भ्रष्टचार नियन्त्रण गर्ने सन्दर्भमा सरकारका प्रधानमन्त्री र पुर्व प्रधानमन्त्रीले गरेको प्रतिवद्धताप्रति काँग्रेसको समर्थन छ । तर, भ्रष्टचार प्रकरणमा गाँसिएका विषयमा बनाउनुपर्ने कानुन, बनाइएका कानुनको प्रभावकारी कार्यन्वयनप्रति पहल कदमी कस्तो हुन्छ त्यसमा भर पर्छ ।

अर्को कुरा भाषणमा कसले के भने भन्ने त्यति अर्थ नराखेपनि दुवै प्रधानमन्त्रीले एकैपटक एकै बोली आउदा ‘ए के गर्न लागे’ भन्ने सर्वसाधारणलाई लाग्नु स्वभाविक हो । तर, गरेर देखाउँछन् या भन्छन् मात्रै त्यसले पनि अर्थ राख्छ ।

२०५९ सालमा भारतमा अन्ना हजारेले भ्रष्टचारविरोधी आन्दोलन गर्दै गर्दा नेपालमा भ्रष्टचार विरोधी कानुन बनेको थियो । त्यसवेलाका गृहमन्त्री नेपालमा नभएपछि कावा गृहमन्त्री चिरन्जीवी वाग्ले थिए । उनले त्यो कानुन संसदमा पढेर सुनाए । तर, त्यहि काननु पढेर सुनाउने वाग्ले जेल जान बाध्य भए । यस्ता केही उदाहरण हेर्नुपर्छ, गराई र भनाईमा कति मेल खान्छ ।

नयाँ शक्तिका नेता डम्वर खतिवडाले फेसवुकमा लेखेका छन्, ‘कालो धन पुक्का गर्दिन प्रतिष्ठित ब्यापारी हाक्काहाक्की प्रधानमन्त्रीकहाँ डेलिगेशन जाने देशमा हामीले सुशासनका कुरा गर्नु परेको छ, प्रभु ।’

बामगठबन्धनको घोषणापत्रमा के छ ?

–भ्रष्टाचार र अनियमित कार्यलाई कडाइका साथ नियन्त्रण गरिनेछ । भ्रष्टाचारविरुद्ध जनचेतना र सक्रियता अभियान सञ्चालन गरिनेछ । पारदर्शिता र जवाफदेही प्रणालीलाई सदृढ तुल्याइनेछ ।

–इतिहास साक्षी छ, भ्रष्टचारको अन्त्य र सुशासन कायम गर्ने काम कम्युनिष्ट तथा बामपन्थीहरुको नेतृत्वमा मात्र सम्भव छ । राजनीतिक स्थायित्व, दीगो शान्ति र राष्ट्रिय सुरक्षा कायम गर्नकै लागि हामीले सवै कम्युनिष्ट पार्टी र लोकतन्त्रबादीहरुलाई एकताबद्ध गर्ने ऐतिहासिक कामको थालनी गरेका छौँ । हाम्रो यस सहकार्यबाट मात्रै राजनीतिक स्थायित्व सम्भव छ । 

–बहुमत प्राप्त गरेको समयमा स्थिर सरकार दिन नसक्ने र प्रतिगमनलाई बढवा दिने काँग्रेसले निजीकरणका नाममा राष्ट्रिय उद्योगधन्दा र सार्वजनिक संसथानहरु समाप्त गरेको छ । नवउदारवादको पृष्ठपोषण गर्दै राष्ट्रिय अर्थतन्त्रलार्य कमजोर तुल्याएको छ । भ्रष्टचारलाई संरक्षण र संस्थागत गर्ने काम गरेको छ ।

ओली–प्रचण्डको ‘दवाव’ रणनीति

हामीकहाँ राजनीतिक नेतृत्वप्रति राज्यका विभिन्न संयन्त्र उत्तरदायी नबन्ने समस्या छ । ओली र प्रचण्डले एकै साथ भ्रष्टचारीमाथि कारवाही गर्ने अभिव्यक्ति दिएर शुरु देखि नै ती निकायमाथि दवाव बनाउन खोजेका हुन सक्छन् ।

यसबाहेक सरकारले आगामी दिनमा लिने नीतिवारे नेताहरुले संकेत गरेका हुन सक्छन् ।

तर, आफै ‘अकुत कमाई गरिरहेको’ आरोप खेपिरहेको राजनीतिक नेतृत्वले कति जोखिम मोल्न सक्छ ? यो प्रश्न चाहिँ पक्कै पनि पेचिलो बन्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप