बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सात वर्षीय बालिकाको शव बोरामा भेटियो

सोमबार, १३ चैत २०७९, ०९ : ४३
सोमबार, १३ चैत २०७९

भारतको कोलकातास्थित तिलजला क्षेत्रमा सात वर्षीय बालिकाको शव बोरामा फेला परेको छ । शव फेला परेपछि उक्त क्षेत्रमा तनावको स्थिति छ ।

ती बालिका आइतबार बिहानदेखि बेपत्ता भएकी थिइन् ।

प्रारम्भिक अनुसन्धानका आधारमा बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको अनुमान छ । बालिकाको टाउकोमा पेचकसजस्ता कुनै तिखो चिजले चोट लागेको निशान छ । 

प्रहरीले यस मामिलामा आलोक कुमार नामका एक व्यक्तिलाई पक्राउ गरेको छ । यी व्यक्ति बिहारको समस्तीपुरका बासिन्दा हुन् ।

तिलजला प्रहरी चौकीका एक प्रहरी अधिकृतले नाम न छाप्ने सर्तमा भने, ‘आरोपीले हत्या गरेको स्वीकार गरेका छन् ।’

घटनामा प्रहरीले कारबाही नगरेको भन्दै स्थानीयले तिलजला प्रहरी चौकीलाई रातभर घेराबन्दी गरी ढुंगामुढा गरेका छन् । केहीले प्रहरी चौकीको गेट तोडेर भित्र पस्ने प्रयाससमेत गरेका थिए । पछि प्रहरीले लाठी चार्ज गरी भीडलाई तितरबितर पारेको थियो ।

बालिकाका बुबाले भने, ‘बिहान सात बजे छोरीलाई फोहोर फाल्न भनेको थिएँ । त्यसपछि उनी एक भवनभित्र छिरेकी पनि थिइन् । त्यति बेलादेखि उनको कतै पत्ता लागेन ।’

kolkataबालिकाको खोजी

बालिका बेपत्ता भएपछि मानिसहरूले उनको खोजी गर्न थाले । बिहान नौ बजे प्रहरी चौकीमा हराएको उजुरी लेख्दा प्रहरीले निकै उदासीनता देखाएको स्थानीयको आरोप छ ।

उक्त भवनमा रहेको फ्ल्याटको ढोका पहिले बन्द भएको मानिसहरूले बताएका छन् । तर साँझ ढोका खुलेको देखेर मानिसहरू भित्र पसे । त्यहाँ राति ९ बजे बोरामा राखिएको शव भेटिएको हो ।

फ्ल्याटमा बस्ने ३२ वर्षीय आलोक कुमार पक्राउ परेका छन् । स्थानीयले उनलाई आफूहरूलाई बुझाउन प्रहरीसँग माग गरेका थिए । तर प्रहरीले उनलाई भीडबाट बचाएर प्रहरी चौकीमा ल्याएको छ । घटनाको अनुसन्धान थालिएको छ र शव पोस्टमार्टमका लागि पठाइएको छ ।

प्रहरीले पहिले नै सक्रियता देखाएको भए बालिकालाई बचाउन सकिन्थ्यो कि भन्ने स्थानीयको गुनासो छ । गए राति प्रहरी चौकी अगाडि भएको झडपपछि उक्त क्षेत्रमा तनाव छ । प्रहरीको गस्ती बढाइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप