शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ जनाको मृत्यु

सोमबार, १३ चैत २०७९, १० : ५७
सोमबार, १३ चैत २०७९

तनहुँ । तनहुँमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ । चालु आव २०७९/८० को साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका दुर्घटनामा १५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  मुत्यु हुनेमा दश पुरुष, चार महिला र एक बालक रहेको कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक राजीव विष्टले जानकारी दिए । सोही अवधिमा भएका दुर्घटनामा २८ जना घाइते भएका छन् । त्यसमध्ये १९ पुरुष, पाँच महिला र चार बालबालिका छन् । यो अवधिमा जिल्लामा ३६ सवारी दुर्घटना भएको छ । 

गत आव २०७८/७९ मा तनहुँमा ४९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । उक्त अवधिमा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिका गरी ४९ जनाको मृत्यु भएको थियो । कार्यालयले सात महिनाकै अवधिमा सवारी साधनलाई कारबाही गरेर रु दुई करोड नौ लाख ३७ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । प्रहरीले २६ हजार सात सय सवारी साधनलाई कारबाही गरेर उक्त राजस्व सङ्कलन गरेको हो । 

कारबाहीमा पर्नेमध्ये दुई पाङ्ग्रे सवारी साधनको सङ्ख्या बढेको छ । नौ हजार पाँच सय ४४ मोटरसाइकल तथा स्कुटर, पाँच हजार एक सय ४५ ट्रक, टिपर, पाँच हजार नौ सय २९ कार, जिप, एक हजार दुई सय १९ ट्याक्टर र चार हजार छ सय ५८ यात्रुवाहक बस र दुई सय पाँच अन्य सवारी साधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । 

आर्थिक वर्ष ०७७/७८ मा जिल्लामा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । उक्त अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले ज्यान गुमाएका थिए । आर्थिक वर्ष ०७६/७७ मा ४४ र आव ०७५/७६ मा ६० जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । 

जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटना हुने गरेको छ । दुई पाङ्ग्रे सवारी साधन अत्यधिक भएकाले मोटरसाइकल र स्कुटर बढी दुर्घटनामा पर्ने गरेको विष्ट बताउँछन् । उनले भने, “तीव्र गतिका कारण दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । युवाले जथाभावी सवारी हाँक्ने गरेकाले यो सङ्ख्या अत्यधिक छ ।” सडकको भौगोलिक वनावट र खाल्डाखुल्डी पनि सडक दुर्घटनाको प्रमुख कारण रहेको प्रहरीको भनाइ छ । दुर्घटना कम गराउन प्रहरीले विद्यालय, क्याम्पसमा पुगेर पनि अभियान सञ्चालन गरिरहको छ । 

जिल्लामा बढीजसो दुर्घटना पृथ्वी राजमार्गमा हुने गरेको छ । पृथ्वी राजमार्गअन्तर्गत कोत्रे,गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थान हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप