बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गाउँपालिकामै कृषि मिटर वितरण भएपछि किसानहरू हर्षित

सोमबार, १३ चैत २०७९, १७ : ४०
सोमबार, १३ चैत २०७९

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा कृषि मिटर वितरण भएपछि किसानहरू हर्षित भएका छन् । विद्युत् प्राधिकरण कार्यालय नगइकन गाउँपालिकाले कृषि मिटर वितरण गरेपछि कृषकहरू खुसी भएका छन् ।

 विद्युत् चुहावट अन्त्य गर्न विद्युत् महसुल गाउँपालिकाले नै तिरिदिने भएपछि मिटर लिनेको सङ्ख्या पनि बढेको छ । विद्युत् मिटरका लागि किसानले मलंगवासम्म धाउँदा समय, पैसा खर्च र हैरानी व्यहोर्नुपर्ने अवस्था थियो । अब गाउँपालिकाबाटै उक्त सेवा किसानले पाएपछि किसानहरू हर्षित भएका हुन् ।

गाउँपालिकाले नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय मलंगवा वितरण केन्द्रको समन्वयमा आज देखि किसानहरूलाई कृषि मिटर वितरण थालेको छ । चन्द्रनगर गाउँपालिकाले पहिलो पटक विद्युत् चुहावटमुक्त गर्न अभियान थालेकाले विद्युत् प्राधिकरणको कर्मचारीहरू गाउँपालिकामा नै आएर आवश्यक प्रक्रिया पुरा गरेर मिटर वितरण कार्य सुरु गरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलंगवाका प्रमुख उमेश यादवले जानकारी दिए ।

कृषि मिटर जडान गर्न मिटर आवेदन फारम भर्ने र पेस गर्ने, फारम रुजु सिस्टमेट गर्ने, स्वीकृत गर्ने, मिटर खर्च भौचर भर्ने, मिटर दस्तुर बुझ्ने , मिटरको लगत कायम गर्ने, मिटर जडान गरी बत्ती प्रकाश गर्ने लगायत सबै चरणको काम गाउँपालिकामा भइसकेको हुँदा अब प्राविधिकले किसानको खेत खेतमै पुगेर कृषि मिटर जडान गर्ने प्रमुख यादवले बताए ।

वडा नं. ३ बस्ने स्थानीय हरिनारायण महतोले गाउँपालिकाबाट सेवा पाएपछि दुई दिनमै मिटर लिन सफल भएको बताए । चालू आर्थिक वर्ष ०७९/८० मा कृषि विद्युतीकरण र किसानको बिल भुक्तानीका लागि गाउँपालिकाले एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ  । गएको पुस २९ गते सम्पन्न १२औँ गाउँ सभा बैठकबाट किसानले खेत सिँचाइ गर्दा उठेको महसुल गाउँपालिकाले तिरिदिने निर्णय गरेको थियो ।

सोही अनुरूप विद्युत् चुहावट अन्त्य गर्न चन्द्रनगर गाउँपालिकाले नेपालमै पहिलो पटक कृषि मिटर गाउँपालिका बाटै वितरण गरिरहेको गाउँपालिका अध्यक्ष महतोले बताए । ३८ हजार जनसङ्ख्या रहेको यस पालिकामा ९९ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध छन् ।  कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले यो अवधारण ल्याएको गाउँपालिका अध्यक्ष महतोले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप