बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारमा रहेका नेपालीलाई निःशुल्क ‘टेलिमेडिसिन’ सेवा दिइने

मङ्गलबार, १४ चैत २०७९, २१ : १५
मङ्गलबार, १४ चैत २०७९

काठमाडौँ । वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा दिन सुरु गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकहरूबाट जानकारी पाउने भएका छन् । टेलिमेडिसिन सेवा बुधवार (चैत १५ गते) बिहान १० बजेदेखि सुरु हुनेछ ।

यही विषयमा विदेशमा रहेका नेपालीहरू कस्तो कस्तो रोगको विषयमा परामर्श लिन पाउँछन् ? निःशुल्क परामर्श मात्रै हो वा औषधि पनि निःशुल्क दिने सुविधा छ वा छैन लगायतको विषयमा न्युज एजेन्सी नेपालले वैदेशिक रोजगार बोर्ड सचिवालयका उप–सचिव तथा सूचना अधिकृत राजन पौडेलसँग संक्षिप्त कुराकानी गरेको छ । 

प्रश्न: वैदेशिक रोजगारमा रहेका नेपालीलाई निःशुल्क ‘टेलिमेडिसिन’ सेवा कहिले देखि लागू हुन्छ ? 

उत्तर–वैदेशिक रोजगारीमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुका लागि लक्षित गरेर वैदेशिक रोजगार बोर्डको सचिवालयले टेलिमेडिसिन सेवा सुरु गर्न लागि रहेको छ । नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानुभएको छ । उहाँहरूलाई परेको कुनै पनि स्वास्थ्य समस्याको बारेमा प्रवर्द्धनात्मक सेवा दिने उद्देश्यले यो सेवा सुरु गरेका छौँ । जसमा ९८५१३४५७०१ र ९८५१३४५७०२ दुई वटा नम्बरको भाइबर, हृवाट्सएप र इमो वा सामाजिक सञ्जालबाट फोन गर्न सक्नुहुन्छ । फोन गरेपछि उहाँहरूलाई मेडिकल अधिकृतसँग भिडियोमा परामर्श गराउँछौँ । मेडिकल अधिकृतसँग गरेको परामर्शले उहाँलाई भएन भने उहाँलाई ठुलो स्वास्थ्य सेवा आवश्यक भयो भने हरेक दिन हरेक हप्ताको बुधवार र शुक्रवार दुई दिन स्वास्थ्यका विशेषज्ञहरूसँगको सेवा पनि दिन्छौँ । वैदेशिक रोजगारीमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको स्वास्थ्यलाई प्रवर्द्धन गर्नको लागि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गर्न लागेको हो । अनलाइन प्रणालीका यो सेवाको सुरुवात हुन्छ । विदेशमा रहनुभएका बिरामीले डाक्टरसँग परामर्श गरेपछि उहाँहरूलाई आवश्यक पर्ने प्रेसक्रिप्सन सामाजिक सञ्जालमार्फत नै उपलब्ध गराउँछौँ । डाक्टरले भनेको औषधि कार्यरत रहेको देशमा रहन्छ भने पनि नेपालमा भएका कुनै आफन्तबाट मगाउन सक्नुहुनेछ । यसरी उपचार गर्ने पद्धतिको रूपमा विकास गर्न खोजिएको छ । 

प्रश्न: कस्ता किसिमका बिरामीले परामर्श गर्न सक्नुहुन्छ, सबै प्रकारका बिरामीले परामर्श लिन सक्ने हो ?

उत्तर–सबै प्रकारका बिरामीहरूले विशेषज्ञहरूसँग परामर्श गर्न सक्नुहुन्छ । तर जसलाई तत्काल आकस्मिक उपचार आवश्यक छ, उसलाई उपयुक्त हुँदैन । उहाँहरू तत्काल भएको स्थानको अस्पतालमा जानुपर्छ । पछिल्लो समय वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई नसर्ने रोगहरूको प्रकोप धेरै देखिएको छ । मुटुसम्बन्धी,मिर्गौला सम्बन्धी, बल्डप्रेसर सम्बन्धी र मानसिक किसिमका समस्याहरू तीव्र गतिमा बढिरहेको छ । यसरी नसर्ने रोगबाट मृत्यु हुनेहरुको सङ्ख्या पनि बढिरहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नसर्ने रोगबाट कसरी जोगाउने बढी प्राथमिकता दिन खोजिएको हो । सर्ने रोगहरूको हकमा तत्काल उपचार गर्नुपर्ने अवस्थामा टेलिमेडिसिन’ सेवा धेरै प्रभावकारी रहन सक्दैन । उहाँहरूले पनि नसर्ने रोगमा प्राथमिकता दिनुभयो भने राम्रो हुन्छ । 

प्रश्न: वैदेशिक रोजगारीका लागि नेपालीहरूको गएको देशमा उपचार पद्धति फरक रहेको भन्ने पाइन्छ, त्यस्तो अवस्थामा नेपालबाट औषधि नै पठाउनु पर्दा कति सजिलो हुन्छ टेलिमेडिसिन’ सेवामार्फत ?

उत्तर–यसका दुई वटा फेजहरू सुरु गर्न खोजिरहेका छौँ । पहिलो वर्ष बोर्डले अनलाइनमार्फत मात्रै काम गर्न खोजिरहेका छौँ । श्रम मन्त्रालयले टेलिमेडिसिन’ सेवाका लागि छुट्टै कार्यविधि बनाएको छ । कार्यविधिले नेपाली वैदेशिक रोजगारीमा गएको मुलुकमा नै गएर सेवा दिनसक्छौं भन्ने छ । तर पनि यो वर्ष अनलाइनमार्फत सेवा दिइरहन्छौँ । यो सेवा प्रभावकारी भयो भने अर्को वर्षदेखि गन्तव्य मुलुकमा नै गएर सेवा दिने सोचेका छौँ ।  अर्को कार्यविधिले गन्तव्य मुलुकका डाक्टरहरू हायर गरेर पनि सेवा दिन सक्ने व्यवस्था गरेको छ । नेपालीहरूको घनत्व धेरै भएको क्षेत्रमा गन्तव्य मुलुकका डाक्टरहरू हायर गरेर सिधा सेवा दिन सक्ने व्यवस्था गरिएको छ । तर यो अर्को वर्षमा मात्रै सुरुवात हुनेछ । अहिलेको लागि सामान्यतया परामर्श सेवा हो । यो उपचारात्मक विधि भन्दा पनि प्रवर्द्धनात्मक विधि हो । विदेशमा भएका नेपालीलाई नसर्ने रोग नलागोस् । लागे पनि कम्तीमा बच्न सक्ने गरी यो काम सुरु गरेका हौँ । 

प्रश्न: विदेशबाट डाक्टरसँग परामर्श गर्दा खानु भनिएको औषधि विदेशमा पठाउन बोर्डले पढाउँछ, विदेशमा औषधी पठाउन कति सजिलो छ ?

उत्तर–औषधि पठाउनको लागि बोर्डले सहयोग गर्दैन । औषधि पठाउनको लागि बिरामीको परिवारले नजिकमा भएको आफन्तबाट पठाउने व्यवस्था मिलाउनु पर्छ । अहिले विदेशमा बस्ने श्रमिकहरूले लगेको औषधि समेत खानुभएको छैन । डाक्टरसँगको परामर्श दिँदा खानुहुन्छ । अहिले मानसिक रूपले धेरै मानिसहरू कमजोर हुनुहुन्छ । त्यसमा डाक्टरको सल्लाह अनुसार मनोपरामर्श सेवा दिनसक्छौं र बिरामीको मानसिक स्वास्थ्य स्वास्थ्य हुनसक्छ । 

प्रश्न: बोर्डले कुन अस्पतालसँग समन्वय गरेर यो कार्य सुरु गरेको हो, लागत पनि लाग्छ खर्च व्यवस्थापनको पक्ष के छ ?

उत्तर–बोर्डले वीर अस्पतालसँग सम्झौता गरेर कार्य सुरु गर्न लागेको हो । वीर अस्पतालका दुई जना कर्मचारीलाई बोर्डले तलब सुविधा दिन्छ । एक जना मेडिकल अधिकृत र हेल्थ असिस्टेन्टलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउँछौँ । विशेषयज्ञहरुको हकमा एक पटकको भिजिटमा प्रति भिजिट एक हजार रुपैयाँ उपलब्ध गराउने छ । चालु आर्थिक वर्षको बजेटमा १५ लाख बजेट छुट्याएको छ । सेवा प्रभावकारी भयो भने अर्को वर्ष बजेट थप गरेर सेवालाई निरन्तरता दिन्छौँ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप