दुई दशकपछि घैलाघारी तालको खोजी गरिँदै

चितवन । विगत दुई दशकअघि राप्ती नदीमा आएको बाढीका कारण पुरिएको घौलाघारी तालको खोजी सुरु गरिएको छ । बाढीका कारण पुरिएर गेग्रेनमा परिणत बनेको तालको भरतपुर महानगरपालिका–२३ ले खोजी र संरक्षणकार्य सुरु गरेको हो । विसं २०५९ मा आएको बाढीका कारण पश्चिम चितवनको पर्यटकीय क्षेत्रका रूपमा रहेको यो ताल पुरिएको थियो । ताल पुरिएसँगै स्थानीय र सरोकारवालाको यसतर्फ ध्यान जानसकेको थिएन । अहिले तालको पुनःनिर्माणका लागि वडा कार्यालयले गुरुयोजना निर्माणको काम सुरु गरेको वडाध्यक्ष दीपक दबाडीले बताए । परापूर्वकालदेखि धार्मिक आस्थाका रूपमा रहेको ताल बाढीले पुरेसँगै संरक्षणको पर्खाइमा रहेको थियो ।
सो ताल पुनःनिर्माणका लागि चालु आर्थिक वर्षमा रु ५५ लाख बजेट विनियोजन गरिएको उनले बताए । तीन बिघा क्षेत्रफलमा फैलिएको सो तालको निर्माणका लागि गुरुयोजनासँगै पुनःसंरचनाको समेत काम सुरु गरिएको उनले बताए । विस्तृत अध्ययन प्रतिवेदन चैत महिनाभित्र आउने गरी काम अघि बढाइएको बताउँदै दबाडीले अहिले तालको क्षेत्रफलअनुसार नक्साङ्कनको काम सुरु गरिएको बताए ।
बाढीले पुरेसँगै तालको खोजी नभएकाले यसलाई व्यवस्थित गर्न कठिन हुने भए पनि वडाले यसको संरक्षणलाई आफ्नो गौरवको आयोजनका रूपमा राखेर काम अघि बढाएको छ । घैला आकारमा रहेको सो तालको बीचमा मन्दिर रहेको छ । तालमा स्नान गरेर मन्दिरमा पूजा गर्दा चाहेको कुरा पूरा हुने विश्वास रहेको स्थानीय बुद्धिराम विश्वकर्माले बताए । यस तालको संरक्षणसँगै स्थानीयको जीविकोपार्जनका लागि सहयोगी बन्ने विश्वास उनले व्यक्त गरे । धार्मिक पर्यटक भित्र्याउन यस तालले सहयोग पुग्ने उनको विश्वास छ ।
वडाले यस तालको संरक्षणसहित स्थानीयको अपनत्व झल्कने खालका संरचना निर्माण गर्ने योजनामा रहेको वडाध्यक्ष दबाडीले जानकारी दिए । ताल क्षेत्रमा थारू र बोटे समुदायको बाहुल्यता रहेको छ । ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै लैजाने योजना रहेको उनले बताए । तालको खोजीसँगै सो क्षेत्रमा तालको बीचमा मन्दिर निर्माण, पार्क, पिकनिकस्थल, माछा मार्नेस्थल, विश्रामस्थलजस्ता संरचना निर्माण गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
टोपबहादुर निलम्बन र मणिलाई ‘बिदा’ दिँदा एमालेमा भीम रावल गायब !
-
भारत भ्रमणबारे राष्ट्रिय सभामा के भने प्रधानमन्त्री प्रचण्डले ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसमा केशव दुलालका कानुन व्यवसायीले के भने ?
-
प्रधानमन्त्रीलाई १५ राष्ट्रियसभा सदस्यको प्रश्न : माहोल बिग्रने त्यो अचम्मको पोको के हो ?
-
सुकुम्बासीलाई जग्गाधानी बनाउन सरकार प्रयासरत छ : मन्त्री चौधरी