बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमती प्रदेश : जम्कट्टेललाई भागबन्डा मिलाउन सकस

मन्त्रालयको सङ्ख्याभन्दा दलहरुको दाबी बढी
बुधबार, १५ चैत २०७९, २० : १७
बुधबार, १५ चैत २०७९

मकवानपुर । बागमती प्रदेशको सत्ता भागबन्डामा सकस देखिएको छ । सत्तारुढ दलहरूबीच प्रदेशको ११ मन्त्रालयमा भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

यसमध्ये कांग्रेसले ६, एकीकृत समाजवादीले ३ र हाम्रो नेपाली पार्टीले १ मन्त्रालयमा दाबी गरेका छन् । २५ पुसमा नेकपा एमाले र राप्रपासहितको गठबन्धनबाट सरकार गठन हुँदा माओवादी केन्द्रले ४ वटा मन्त्रालय लिएको थियो । अहिले माओवादी केन्द्र उक्त ४ मन्त्रालय नछाड्ने अडानमा रहेको छ ।

यता मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथ ग्रहण लगत्तै प्रदेशमा ११ वटा मन्त्रालय कायम गर्ने र राज्यमन्त्री नराख्ने घोषणा गरेका थिए । यसअघि प्रदेशमा १४ मन्त्रालय रहेका थिए । उनको सो अडान अहिले पनि कायमै छ । 

मन्त्रालय सङ्ख्याभन्दा बढीमा दलहरूको दाबी परेपछि सरकारले पूर्णता नपाउँदा मुख्यमन्त्री जम्कट्टेलको काँधमा ७ वटा मन्त्रालयको जिम्मेवारी रहेको छ । 

राष्ट्रपति निर्वाचनका क्रममा केन्द्रमा बनेको सत्ता समीकरण फेरिएपछि नेकपा एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका थिए । गत फागुन १३ गते प्रदेश सरकारबाट राप्रपाले सरकारको समर्थन फिर्ता लिँदै आफ्ना ३ मन्त्रीलाई राजीनामा गराएको थियो भने एमालेले गत चैत १० गते मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई समर्थन दिन नसक्ने भन्दै सरकार छाडेको थियो । एमालेले सोही दिन आफ्ना ४ मन्त्रीलाई राजीनामा समेत गराएको थियो । 

भागबन्डा मिलाउन कार्यदल गठन

भागबन्डाको विषय मिलाउन समस्या देखिएपछि संघीय सरकारको पूर्णता पछि मात्र बागमती प्रदेशको सत्ता भागबन्डाको अन्तिम निर्णय लिने तयारी गरिएको छ । यसबीच पनि मंगलबार मन्त्रालय भागबन्डाको विषय मिलाउन कार्यदल गठन गरेका छन् । 

प्रदेशको सबैभन्दा ठुलो दल कांग्रेस र माओवादी केन्द्रको काठमाडौँमा बसको बैठकले मन्त्रालयको भागबन्डा मिलाउन कार्यदल बनाउने निर्णय गरेको थियो । 

बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा र मुख्यमन्त्री जम्कट्टेले भागबन्डा मिलाउन कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले प्रदेशको भागबन्डा मिलाउने गरी अधिकार प्रदान गरिएको छ । कार्यदलको नेतृत्व कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले गरेका छन् भने ७ सदस्यीय कार्यदलमा कांग्रेसबाट ३ माओवादी केन्द्रबाट २ जना, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबाट १/१ जना सदस्य रहेका छन् ।

उक्त समितिमा चित्रकारसहित कांग्रेसबाट संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्ले र तीर्थ लामा रहेका छन् भने माओवादी केन्द्रबाट सरल सहयात्री र मुख्य सचेतक रत्नप्रसाद ढकाल रहेका छन् । त्यस्तै समितिमा एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रराज बज्राचार्य रहेका छन् ।

उक्त समितिको बैठक बिहीबार काठमाडौँमा बिहान ८ बजे बस्ने संयोजक चित्रकारले बताए । समितिको बैठकले सरकारमा सत्ता साझेदार ४ दलहरूलाई हैसियत अनुसार मन्त्रालय भागबन्डा गरिने उनले बताए । सम्भव रहेसम्म बिहीबार नै भागबन्डाको निर्णय गरिने र समितिका सदस्यहरूले आ–आफ्नो दलको नेतालाई जानकारी गराउने उनले बताए । उक्त समितिको निर्णय अनुसार केन्द्रमा समन्वय गरेर सरकार विस्तार र मन्त्रीहरूको शपथको कार्यक्रम तय गरिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप