शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन धनलाई एक स्ट्रोकको अग्रता

बुधबार, १५ चैत २०७९, २० : ४६
बुधबार, १५ चैत २०७९

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत छैटौँ प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन धन बहादुर थापा शीर्षस्थानमा उक्लिएका छन्। आज ४-अन्डर ६४ को उत्कृष्ट नतिजा सहित समग्रमा ३-अडर १ सय ३३ मा शीर्षस्थानमा उक्लिएका हुन्।

 उनले भुवन कुमार रोक्का र रवि खड्कालाई १ स्ट्रोकले पछि पारे। भुवन र रवि समग्रमा २अन्डर १ सय ३४ को स्कोरमा दोस्रो स्थानमा छन्। भुवन १-अन्डर ६७ को स्कोरमा दोस्रो स्थानमा उक्लँदा पहिलो दिनका लिडर रवि ३-ओभर ७१ को खराब प्रदर्शनमा दोस्रो स्थानमा तल झरेका हुन्। 

एमेच्योरद्वय सद्भाव आचार्य र सुवास तामाङ तथा प्रोफेसनल गल्फर दीपक मगर र दिनेश प्रजापतिले समग्रमा १-अन्डर १ सय ३५ सहित संयुक्तरुपमा चौथो स्थान बाँडे। राष्ट्रिय टिमका सद्भावले २-अन्डर ६६ र नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङले इभन-पार ६८ मा दोस्रो दिनको खेल सकाए। यसैगरी दीपकले १-ओभर ६९ र दिनेशले ३-ओभर ७१ को कार्ड तयार पारे। 

पहिलो दिन तेस्रो स्थानमा रहेका भुवन नगरकोटीले आज २-ओभर ७० को स्कोरमा खेल सकाउँदा समग्रमा इभन-पार १ सय ३६ सहित आठौँ स्थानमा तल झरे। ४-ओभर १ सय ४० को स्कोरमा युवराज भुजेल र शिवराम पौडेल संयुक्तरुपमा नवौँ स्थानमा रहेका छन्। दुवैले आज ३-ओभर ७१ मा खेल सकाए। 

सूर्य प्रसाद शर्मा र रामे मगर समग्रमा ५-ओभर १ सय ४१ सहित संयुक्त रुपमा ११औँ स्थानमा रहेका छन्। ३६ होलको समाप्तिमा १५-ओभर १ सय ५१ सम्म स्कोर गर्ने सञ्जय लामा, टंकबहादुर कार्की, रमेश अधिकारी, रामकृष्ण श्रेष्ठ, कमल तामाङ, जयराम श्रेष्ठ, प्रदीपकुमार लामा, प्रभातकुमार राजवाहक, राजेन्द्र श्रेष्ठ प्रधान, सञ्जोक मोक्तान, वसन्तराज गुरुङ र कृष्णमान राजवाहकले कट बनाएका छन्।

 यस्तै एमेच्योर खेलाडी टासी छिरिङ, सुरेश तामाङ र निश्चयजङ्ग रायमाझीले पनि कट बनाएका छन्। 

धनको पहिलो नौ होलको खेल नाटकीय बन्यो। पहिलो होलमा इगलको सफलता प्राप्त गरे। दोस्रो होलमा बोगी प्रहार गर्दा पाँचौं होलमा डबल बोगीको सामना गरे। यसपछि सातौँ र नवौँ होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। यसपछि उनले ५-पारको दशौं होलमा दिनको दोस्रो इगल प्रहार गरे भने १७औँ होलमा एक सट बचाएर ब्याक नाइन ३-अन्डर ३१ मा पुरा गरे। 

भुवन कुमार रोक्काले फ्रन्ट २-अन्डर ३२ मा पुरा गर्ने क्रममा पहिलो होलमा एक सट बचाए। तर तेस्रो होलमा डबल बोगी खेपे। लगत्तै चौथो होलमा इगल र पाँचौँ होलमा बर्डी प्रहार गरे। यसपछि १०औँ होलमा बर्डी गरेपनि १७औँ होलको डबल बोगीले ब्याक नाइन १-ओभर ३५ मा सकाए। 

पहिलो दिनका लिडर रविले आज एकरूपताको प्रदर्शन गर्न सकेनन्। पहिलो, दोस्रो र चौथो होलमा बर्डी प्रहार गरे। तेस्रो र नवौँ होलमा एक-एक सट खेर फाले। ब्याक नाइनको सुरूवात इगलबाट गरे। तर यसपछि लय गुमाउँदा ११औँ, १२औँ र १८औँ होलमा बोगी मात्र खेपेनन् ५-पारको १३औँ होलमा ट्रीपल बोगीको सामना गरे। ब्याक नाइन ४-ओभर ३८ मा सकाए। यही प्रदर्शनमा उनले शीर्षस्थान जोगाउन सकेनन्। 

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित र सूर्य नेपाल प्रालिको प्रायोजनमा जारी प्रतियोगितामा ३० प्रोफेसनल र  ७ एमेच्योर गरी कुल ३७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। कुल ५ लाख ४५ हजार नगद पुरस्कार राशिको प्रतियोगितामा विजेताले उपाधिसँगै १ लाख प्राप्त गर्नेछन्। दोस्रो हुनेले ६५ हजार र तेस्रो हुनेले ४६ हजार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट २१ मा पर्ने व्यावसायिक खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप