बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
जनप्रतिनिधि

काठमाडौँ आएका उपप्रमुखहरू भन्छन् : न्यायिक समितिमा पति–पत्नी र जग्गासम्बन्धी उजुरी धेरै (भिडियो)

वैदेशिक रोजगारीका कारण पारिवारिक विखण्डन बढ्दो
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । देशभरका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरू काठमाडौँमा भेला भएका छन् । काठमाडौँ महानगरपालिकाले पहिलो पटक गरेको न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलन कार्यक्रमका लागि देशभर रहेका ७५३ स्थानीय तहबाट न्यायिक समिति संयोजक समेत रहेका नगरपालिकाका उपप्रमुख तथा गाउँपालिका उपाध्यक्षहरू र न्यायिक समिति सदस्य काठमाडौँ आएका छन् । महानगरपालिकाले बुधबार र बिहीबार दुई दिने सम्मेलनमा उनीहरू न्यायिक समितिलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफलमा केन्द्रित रहेका छन् ।  

रातोपाटीले विभिन्न स्थानीय तहमा रहेका उपप्रमुख तथा उपाध्यक्षसँग भेटेर कुरा गर्दा अधिकांशले न्यायिक समितिमा पति पत्नीको झगडा र जग्गाको साँध सिमानाका बारेका विवाद सबैभन्दा धेरै आउने गरेको बताए । केही स्थानीय तहमा भने जग्गाको साँध सिमाना मिचेको बारेमा उजुरी आउने गरेको छ । पति पत्नीको विवादमा पति वैदेशिक रोजगारीमा रहँदा पत्नीले अर्को व्यक्तिसँग सम्बन्ध बढाएको तथा पैसा हिनामिना गरेका कारण हुने महिला हिंसाका उजुरीहरू पनि आउने गरेको उनीहरूले सुनाएका छन् । 

kalpana Upreti

दोलखाको बैतेश्वर गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक कल्पना उप्रेतीले महिला हिंसाको बारेमा धेरै उजुरी आउने गरेको बताइन् । जग्गाका साँध सिमानाका विषय, काम गरेर ज्याला नदिएका घटनाका विषयहरू, विद्यालयमा शिक्षकले बालबालिका कुटपिट गरेका जस्ता उजुरीहरू न्यायिक समितिमा आइरहेको  बताइन् । 

उनले भनिन्–‘श्रीमान् श्रीमतीको झगडामा शङ्का उपशङ्काका कारण भएका झगडा, विदेशमा गएर श्रीमानले पैसा कमाएको हुन्छ श्रीमतीले यहाँ हिनामिना गरेको छ । म महिला भएर पनि भन्नैपर्छ, महिलाहरू अलि बढी उच्छृङ्खल भएको हो कि ? चेतनाको कमी भएको हो कि ? मेरो श्रीमानले कुन अवस्थामा काम गरेको छ, कति दुःख गर्नुभएको छ भन्ने कुरा उहाँहरूले अलि नबुझ्नु भएको हो कि जस्तो लाग्छ । टिकटकहरूमा अलि छाडा प्रवृत्ति आएको भएर पो हो कि जस्तो पनि लाग्छ ।’

श्रीमान् श्रीमतीको न्यायिक समितिमा उजुरी आए उनीहरूको घरमा गएर सम्झाई बुझाई गरेर मेलमिलापको प्रयास गर्ने गरेको उनले बताइन् । 

न्यायिक समितिमा बलात्कारका घटनाका पनि उजुरी आउने गरेको र त्यस्ता विषय भने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर आफूले नहेर्ने गरेको उनले बताइन् ।    

rajan prasad ghimire

ललितपुरको कोन्ञ्जोसोम गाउँपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक  राजनप्रसाद घिमिरे पनि धेरैजसो महिला हिंसा र पति पत्नीका झगडाका उजुरीहरू आउने बताउँछन् । उनले भने–‘हाम्रो क्षेत्राधिकार बाहिरको उजुरी आयो भने हामी त्यस्तो उजुरी लिँदैनौँ, क्षेत्राधिकार भित्रको उजुरी आयो भने लिन्छौँ । हाम्रो क्षेत्राधिकार भित्र पर्ने उजुरीमा सामान्य खालका घरझगडाका उजुरीहरू पनि आउँछन् । घर घरायसी श्रीमान् श्रीमतीबीचको बेमेलका, साँध सिमानाहरूका विवादहरू हामीले मेलमिलाप गरेर पठाउने गरेका छौँ । दुवैको जित हुने गरी मिलाउने किसिमले काम गर्छौ ।’

आर्थिक विषयलाई लिएर पति पत्नीबीचको विवाद धेरै आउने गरेको घिमिरेको अनुभव छ । पैसाका कारण विवाद सुरु भएर त्यसले विभिन्न खालका झगडाको रूप लिएर जाने देखिएको उनले बताए । यस्तै कानुनले बाल विवाहलाई कानुनले वर्जित गरे पनि सूचना प्रविधिका साधन, सामाजिक सञ्जालको सहज पहुँचका कारण एक अर्कासँग सम्बन्ध बनाउने जस्ता कारण एक आपसमा वैमनस्य सिर्जना हुने खालका समस्या लिएर न्यायिक समितिमा आउने गरेको उनले सुनाए । 

वैदेशिक रोजगारीमा गएकाहरूका परिवारमा समस्या पनि न्यायिक समितिमा आउने गरेको उनले बताए । 

Uma Pradhan

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान न्यायिक समितिमा धेरैजसो जग्गा विवाद सम्बन्धी उजुरी आउने गरेको बताइन् । 

प्रधानले भनिन्–‘मेरोमा अहिलेसम्म महिला हिंसासँग सम्बन्धित उजुरी त आएको छैन तर एक दुई जना व्यक्तिले चाहिँ उजुरी दर्ता नगरी छुट्टै सल्लाह लिएका थिए । यो विषय लिएर न्यायिक समितिमा आउँदा राम्रो कि के गर्दा ठिक हुन्छ भनेर सल्लाह मागेका थिए । उहाँहरूको केशको जटिलता बुझ्दा खेरी हामीले त्यो कुरा गर्न पनि नमिल्ने सम्बन्ध विच्छेदसँग सम्बन्धित रहेको थियो । उहाँहरू चाहेर पनि सँगै बस्न नसक्ने परिस्थिति रहेको थियो । त्यो केशलाई मैले जिल्ला अदालत नै जानुस् भनेर सुझाव दिएको थिएँ ।’

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक मानकुमारी पाख्रिन नेपाली आफ्नो गाउँपालिकामा सबैभन्दा धेरै घरजग्गा विवाद आउने गरेको बताउँछिन् । यस्तै घरझगडा, लैङ्गिक हिंसाका घटना र वैदेशिक रोजगारीमा गएका व्यक्तिका श्रीमान् श्रीमतीका द्वन्द्वहरुपनि न्यायिक समितिसम्म छलफलका लागि आउने गरेको उनले बताइन् । 

mankumari pakhrin

उनले भनिन्–‘वैदेशिक रोजगारीमा गएकाहरूको पति पत्नीमा एकले अर्कोलाई विश्वास नगर्दा उत्पन्न हुने वादविवादका घटनाहरू आउँछन् । विदेशबाट श्रीमानले श्रीमतीलाई पठाएको पैसामा पनि खर्चको हिसाब किताब नमिल्दाका कुराहरू आउँछन् । कहिलेकहीँ त्यो विवाद चरम उत्कर्षमा पुगेर लगभग डिभोर्सकै अवस्थामा पुगिसकेको अवस्थामा पनि केशहरू आइपुग्छ । न्यायिक समितिलाई छोडपत्र गराउने अधिकार त दिएको छैन । हामीले उहाँहरूलाई अधिकतम समय दिएर, अधिकतम काउन्सिलिङ गरेर मेलमिलाप गराउन नै जोड गर्ने गर्छौँ ।’ 

यस किसिमका समस्याहरू धेरै नै आउने गरेको उनले सुनाइन् । 

bimala khadluk

यस्तै लेकबेसी नगरपालिका सुर्खेतकी उपप्रमुख विमला खल्डलुक न्यायिक समितिमा सबैभन्दा धेरै श्रीमान् श्रीमतीबीचको घर झगडा, जग्गाको साँध मिचिएको, पानीको मुहानको प्रयोगको विवाद आउने गरेको उनले बताइन् । 

पति पत्नीको झगडाका उजुरीबारे उनले भनिन्–‘सानैमा बालविवाह हुने, बालबच्चा भएपछि श्रीमानले श्रीमतीले भनेको कुरा नसुन्ने, श्रीमतीले श्रीमानलाई नबुझ्ने जस्ता उजुरी आउँछन् । यस्तै श्रीमान् कमाउन विदेश जाने श्रीमती घरमा बसेर खर्चको व्यवस्थापन नगर्दा पछि विवाद उत्पन्न भएको उजुरीहरू पनि आउने गरेको छ ।’

Maheshowori rai

उदयपुरको त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राईको पनि अनुभव यस्तै छ । उनले नेतृत्व गरिरहेको न्यायिक समितिमा धेरैजसो जग्गा सम्बन्धी विवादहरूका उजुरी आउने गरेको छ । धेरैजसो ऐलानी जग्गामा बसोबास गर्नेहरूको समस्या आउने गरेको उनले बताइन् । यस्तै लेनदेनको उजुरी आउने गरेको र घरेलु हिंसाको उजुरी भने थोरै आउने गरेको उनको भनाई छ । 

उनले भनिन्–‘वैदेशिक रोजगारीसँग सम्बन्धित घर झगडाका उजुरीहरू पनि केही मात्रामा आउने गरेको छ । श्रीमानले विदेशबाट पैसा पठाइदिने तर श्रीमतीहरूले पैसा अरूलाई दिने, मिटरब्याजमा दिने र पैसा उठाइदिनुपर्‍यो भन्ने उजुरी आउने गरेको छ । यस्तै सहकारीबारेको पनि उजुरी धेरै आउने गरेको छ । लिएको पैसा समयमा फिर्ता नगरेको भन्ने जस्ता उजुरी आउने गरेको छ ।’

Ramwoti Mandal

धनुषाको धनौजी गाउँपालिका उपप्रमुख रामवती मण्डल आफ्नो गाउँपालिकाको न्यायिक समितिमा झैझगडा, श्रीमान् श्रीमतीको झैझगडा, जग्गा जमिनको साँध मिचेको उजुरी आउने गरेको बताइन् । 

आपसी मनमुटावका कारण श्रीमान् श्रीमतीबीच हुने झगडाको उजुरी पनि आउने गरेको उनले बताइन् । 

उपाध्यक्ष मण्डलले भनिन्–‘हाम्रो वडा नम्बर २ मा श्रीमान् श्रीमतीको झगडामा कस्तो थियो भने श्रीमान् विदेश जानुभएको थियो तर श्रीमतीको अर्को व्यक्तिसँग सम्बन्ध बढाएको रहेछ त्यस्तो कुरामा झगडा परेको थियो ।’

न्यायिक समितिमा काम गर्न चुनौती रहेको भन्दै उनले आएका उजुरीहरू मेलमिलापबाट टुङ्गो लगाउने गरेको बताइन् । 

उपप्रमुखहरूको पहिलो सम्मेलन बिहीबार सकिने कार्यक्रम रहेको छ । सम्मेलनको बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया