शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय मिडियाले भन्यो, ‘नेपाल सीमामा कडाइ पछि अमृतपाल उत्तराखण्डबाट पञ्जाब फर्किए’

बिहीबार, १६ चैत २०७९, १२ : ५२
बिहीबार, १६ चैत २०७९

‘वारिस पञ्जाब दे’ का प्रमुख तथा खालिस्तान प्रचारक अमृतपाल सिंहको खोजी १३ औँ दिन पनि जारी छ । अमृतपाललाई खोजका लागि होशियारपुरमा खोजी अभियान चलाइँदैछ । अमृतपाल उत्तराखण्डबाट फर्किएपछि जालन्धरमा कपुरथला सीमा नजिकै एक डेरामा लुकेका थिए भन्ने खुलासा भएको छ ।

यस्तै, बुधवार अमृतपालले एक भिडियो जारी गरेका थिए । जसको अनुसन्धान गर्दा यो २८ मार्च अर्थात् मंगलबार रेकर्ड गरिएको पत्ता लाग्यो । यो नेपालसँग जोडिएको उत्तर प्रदेशको इलाकामा छायाङ्कन गरिएको बताइएको छ ।

यस्तै यो भिडियोलाई भारत बाहिरबाट प्रसारण गरिएको थियो । प्रहरीले तीन वटा आइपी एड्रेस पत्ता लगाएको छ जसमा क्यानडा, युके र दुबई समावेश छन् । यी देशबाटै भिडियोलाई इन्टरनेटमा हालिएको थियो ।

यस्तै, यो मुद्दामा पहिलो पटक केन्द्रीय गृहमन्त्री अमित शाहले कुराकानी गरेका छन् । शाहले एक निजी च्यानलसँगको कुराकानीमा कानुन व्यवस्थाको मामिलामा आफू पञ्जाबसँग चट्टान झैँ उभिएको बताएका छन् । उनले भने, ‘ म हरेक तीन महिनामा पञ्जाबका मुख्यमन्त्री भगवन्त मानलाई भेट्छु ।’

‘कुनै पनि राज्यमा नियम तथा कानुन हुन्छ त्यसैले पार्टीभन्दा माथि उठेर केन्द्रले उसलाई समर्थन गर्छ । पञ्जाब सरकारले यो मामिलामा जे जति कदम उठाइरहेको छ, केन्द्र उसको साथ छ ।’ अमृतपाल सबै तयारी पश्चात् पनि भाग्न सफल भएकोबारे शाहले भने, ‘यस्तो कुरा सार्वजनिक रूपमा भन्न सकिँदैन ।’

अमृतपाललाई पक्राउ गर्न नसकेको गल्तीमा अमित शाहले भने, ‘यति छिटो यसको आङ्कलन गर्नु हुँदैन । थुप्रै पक्राउ परेका छन् । एनएसए पनि लागी परेका छन् । ’

अमृतपाल छिटो पक्राउ पर्ने विषयमा शाहले भने, ‘प्रहरी र एजेन्सीले काम गरिरहेका छन् । यसलाई सार्वजनिक गर्नुको साटो यो सँग जुध्नु पर्छ ।’

अमृतपालले भने – कसैले मेरो रौँ हल्लाउन सकेन

भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार नेपाल सीमामा कडाइ गरेपछि अमृतपाल उत्तराखण्डबाट पञ्जाब फर्किएका हुन् । प्रहरीले व्यापक खोजी गरिरहेको खालिस्तान अभियानकर्ता अमृतपालले बुधवार एउटा भिडियो सार्वजनिक गरेका छन् । जसमा उनले आफू गिरफ्तारीसँग नडराउने बताए ।

उनले भने, ‘१८ मार्चमा, म वाहेगुरुको कृपाले बाँचे । कसैले मेरो रौँ हल्लाउन पनि सकेन । ’

अमृतपालको आत्मसमर्पणको अड्कलबाजी

चौतर्फी दबाबपछि अब अमृतपालको आत्मसमर्पणको बारेमा अड्कलबाजी भइरहेको छ । बुधवार पनि उनले अमृतसरको गोल्डेन टेम्पलस्थित श्री अकाल तख्त साहिबमा पुगेर आत्मसमर्पण गर्न सक्ने चर्चा थियो । यो थाहा पाउनासाथ प्रहरीले त्यहाँ कडा सुरक्षा व्यवस्था गरेको थियो । यसपछि उनले तख्त श्री दमदमा साहिब, तलवंडी साबो, भटिण्डामा आत्मसमर्पण गर्न सक्ने जानकारी आयो ।

प्रहरी स्रोतका अनुसार अमृतपालले आत्मसमर्पणका लागि ३ सर्त राखेका छन् जसमा उनीमाथि कुटपिट नगर्न, पञ्जाबको जेलमा राख्न र आत्मसमर्पणलाई गिरफ्तारी नभन्न बताइएको छ । 

प्रहरीले मङ्गलवारदेखि खोजी गरिरहेको छ

यसअघि मंगलबार राति प्रहरीले शङ्कास्पद इनोभा (PB10CK0527) को सूचना पाएको थियो । यो फगवाडाबाट होशियारपुर जाँदै थियो । त्यसमा अमृतपाल र पपलप्रीत सवार रहेको पाइएको थियो । त्यसपछि पञ्जाब प्रहरीको काउन्टर इन्टेलिजेन्स टोलीले उनलाई ३७ किलोमिटरसम्म पछ्यायो ।

त्यसपछि उनीहरू इनोभालाई गुरुद्वारा नजिकै छोडेर भागेका थिए । जसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसपछि जालन्धर, होशियारपुर र कपुरथलाका ७०० प्रहरी जवानले रातभर होशियारपुर र फगवाडामा खोजी अभियान चलाए । तर, अनुसन्धानमा उक्त इनोभाको नम्बर नक्कली पाइयो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप