कांग्रेस छाडेपछि स्वर्णिमले भने : देउवा-आरजु गिरोहको अपमानले यो स्थिति ल्यायो
काठमाडौँ । कांग्रेस परित्याग गरेका अर्थविद् स्वर्णीम वाग्लेले देउवा–आरजु (शेरबहादुर देउवा र आरजु राणा)गिरोहको निरन्तरको हेपाइ र अपमानले यो स्थिति ल्याएको बताएका छन् ।
पार्टी छाडेको सन्देश दिन कांग्रेस नेताहरुलाई एक पत्र लेख्दै उनले आफू पार्टीमा रहन नसक्ने अवस्था आएको उल्लेख गरेका छन् ।
‘प्रिय दाइ, हजुरहरूको अपार सद्भावका बाबजुद म काँग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो,’ उनले भनेका छन् ।
उनले यो निर्णय लिनुअघि नेताहरुसँग भेटघाट र छलफल नगरेको स्पष्ट गरेका छन् । ‘हजुरहरूसँग भेटेको भए निश्चय पनि काँग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ’, उनले भनेका छन् ।
उनले गगन थापासहितका केही नेताहरु पार्टीको निर्णायक हैसियतमा रहेको दिन जोडिन सक्ने आशा भने कायमै रहेको बताएका छन् । ‘त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु’, वाग्लेको भनाइ छ ।