तनहुँ-१ मा एमालेबाट सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस

पोखरा । तनहुँ–१ मा वैशाखमा १० गते हुने उपनिर्वाचन लड्न एमालेबाट पूर्वआईजीपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस गरिएको छ । यसअघि स्थायी कमिटी सदस्य किरण गुरुङ उठ्ने चर्चा भएपनि उनको नाम सिफारिस भएन ।
गुरुङले बिहीबार आफ्नो क्षेत्र छाडेर चुनाव नलड्ने बताएका थिए । उनी यसअघि तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचन लडेर पराजित भएका हुन् ।
पूर्व आईजीपी खनालसहित रामबहादुर गुरुङ, मोहन विक, परितोस पौडेल, सोझा गुरुङ, किरण धितालको नाम सिफारिस गरिएको छ । बिहीबार बसेको क्षेत्रीय कमिटीको बैठकले जिल्लामा आकांक्षीको नाम सिफारिस गरेको एकराज रानाले बताए ।
‘अब जिल्ला, प्रदेश हुँदै यी नाम संघमा सिफारिस हुन्छन्,’ रानाले भने । मंसिरको निर्वाचनमा काठमाडौँ–६ मा हारेपछि पूर्व आईजीपी खनाल उपनिर्वाचन लड्न चाहन्छन् । केन्द्रले खनाललाई टिकट दिन सक्ने प्रबल सम्भावना रहेको एमाले प्रदेशका एक नेताले बताए ।