बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

व्यवसायी श्रेष्ठले फेरि उपाध्यक्षमा उम्मेदवारी दिने, साना तथा मझौला व्यवसायीको पक्षमा उभिने उद्घोष

बिहीबार, १६ चैत २०७९, १९ : २२
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । व्यवसायी दिनेश श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा पुनः जिल्ला नगर तर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न पनि आफू सोही पदमा दोहोरिन चाहेको श्रेष्ठले बताए । 

‘महासंघको सबैभन्दा महत्त्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ नै हो । यही ठाउँबाट सशक्त अभियान सञ्चालन गर्नका लागि फेरि पनि जिल्ला नगरतर्फबाट मैले उपाध्यक्षमा दाबेदारी दिएको छु’ श्रेष्ठले भने । 

यो क्षेत्रको नेतृव गर्नु भनेको समग्र निजी क्षेत्रको नेतृत्व गरे सरह रहेको बताउँदै श्रेष्ठले आफूले पुनः सोही पद रोजेको बताए । 

हाल महासंघको जिल्ला नगरतर्फको उपाध्यक्ष रहेका श्रेष्ठले फेरी यथावत् स्थानमै उम्मेदवारी किन भन्ने सबैको जिज्ञासा आफ्नो लागि संवेदनशील विषय बनेको पनि बताएका छन् । 

‘देशको अर्थतन्त्र र निजी क्षेत्र नाजुक हुँदै गएको वर्तमान अवस्थामा समकालीन चेम्बर अभियन्ताहरू  जुटेर जानुपर्नेमा जोड दिए पनि त्यसले सार्थकता पाएन । नयाँ नेतृत्व चयनका लागि  सहमतिको प्रयास गर्दैगर्दा सहमति हुन नसक्नु दुखः लाग्दो विषय हो’ श्रेष्ठले भने, ‘सहकार्य र सहमतिको बाटो लिने निर्णय गरिसक्दा पनि पूर्ण रूपमा सहमति नजुटेको अवस्थामा मेरो लागि पदभन्दा पनि  वर्तमान अवस्थामा नाजुक बन्दै गएको निजी क्षेत्रको उत्थानका निम्ति पहल पैरवी गर्न एउटा सशक्त फोरम महत्त्वपूर्ण छ । तसर्थ उक्त सशक्त फोरम भनेको महासंघको जिल्ला नगर उद्योग वाणिज्य संघ समूहको नेतृत्व पङ्क्ति हो भन्ने विश्वासका साथ यथास्थानमा नै आफूलाई उभ्याउने  प्रयास गरेको छु ।’  

सबै जना नेतृत्वका लागि एकै पटक निर्वाचनमा जाँदा आगामी कार्यकालमा सबल नेतृत्वको अभाव हुन सक्ने कुरालाई पनि आफूले ध्यानमा राखेर साथीहरूसँगको सल्लाहमा जिल्ला नगर उपाध्यक्षमा पुनः उम्मेदवारी दिएको उनले बताए । 

देशका सम्पूर्ण निजी क्षेत्रको धरोहरका रूपमा रहेको महासंघलाई नयाँ दिशातर्फ अघि लैजान आफूले उम्मेदवारी दिएको समेत उनले बताए । महासंघको सम्पूर्ण सदस्यहरुलाई मजबुत रूपमा संगठित गरी नयाँ जोस र सक्रियतातर्फ लम्काउन जरुरी रहेको उनले बताए । 

सबै सदस्यहरूले पाउने सेवाहरू सुचारु रूपले प्रदान गर्न, सबै वर्गका सदस्यहरूले महासंघले आफूहरू प्रति सम्मान व्यवहार गरेको महसुस गराउन, कुनै व्यक्ति, वर्गवाद वा समूहको स्वार्थ पूर्तिको माध्यम बन्ने अवस्था आउन नदिन आफूले जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिएको श्रेष्ठले बताए । 

जिल्ला नगर उद्योग वाणिज्य संघहरुको भूमिकालाई सक्रिय बनाउनु पर्नेमा जोड दिएका उनले हरेक जिल्ला तथा नगरका उद्योगी व्यवसायीसँग भएको निरन्तरको भेटघाट तथा छलफलले महासंघमा यथास्थानमा उम्मेदवारी दिएको समेत बताए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप