दुर्गमलाई फेर्दै होमेस्टे
दाङ । मल्लागिरी सामुदायिक होमेस्टे ग्राम ईकाई नं. ५ लेखिएको यो घर दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, छिल्लीकोटका पूर्णबहादुर पुनको हो । पुनको परिवार यही घरमा बस्छन् । यो घरभित्र चार वटा कोठा छन् । जसमा एउटा कोठा होमेस्टेका पाहुनाका लागि छुट्याइएको छ ।
छिल्लीकोटमा पाहुनाका लागि भनेर कोठा छुट्याइएका यस्ता १० वटा घर छन् । ती १० घरको १० वटा कोठाले दुर्गम छिल्लीकोटको अवस्था फेर्ने प्रयास गरिरहेका छन् ।
छिल्लीकोट तुलसीपुर उपमहानगरपालिकाको दुर्गम पहाडी गाउँ हो, जहाँ सडकदेखि खानेपानी, विद्युत, सिँचाई लगायतका पूर्वाधारको अभाव छ ।
तर त्यो पीडा र अभावलाई होमेस्टे ग्रामले फेर्ने प्रयास गरिरहेको छ । छिल्लीकोट दाङको ऐतिहासिक एवं धार्मिक पर्यापर्यटकीय क्षेत्र हो । तर पूर्वाधार अभावका कारण छिल्लीकोटले पर्यटक एवं भक्तजन भित्र्याउन नसके पनि पछिल्लो समय होमेस्टे ग्रामले आन्तरिक पर्यटकहरु भित्र्याउन सुरु गरेको स्थानीयवासी ओमप्रकाश पुनको भनाइ छ ।
होमेस्टे ग्रामले ग्रामको घरमात्रै होइन, गाउँकै मुहार फेर्ने प्रयास गरिरहेको उनले सुनाए । उनले भने, ‘दुर्गम गाउँको मुहार फेर्ने प्रयास होमेस्टेले गरिरहेको छ ।’
होमेस्टे ग्राम गाउँलेहरुले सुरु गरेसँगै गाउँमा आन्तरिक पर्यटकहरुको केही चहलपहल पनि सुरु भएको उनी सुनाउँछन् । जसले स्थानीय कृषिजन्य उत्पादनको बिक्रीवितरणबाट धेरथोर आम्दानीसमेत भित्र्याउन सुरु गरेको उनको भनाइ छ । उनले भने, ‘यहाँको उत्पादनले न बजार पायो, न मूल्य । होमेस्टे सेवा सुरु भएदेखि कुखुराका चल्लादेखि अदुवा बेसारसम्मको बिक्री वितरणका लागि बजार खोज्नु परेको छैन ।’
होमेस्टेमा भित्रिने पाहुनालाई गाउँघरमै उत्पादित कृषिजन्य उत्पादन खुवाउने, छिल्लीकोटको ऐतिहासिक चिनारी सुनाउँदै गाउँलेहरुले यसको लोकप्रियता बढाउने पहल गरेका छन् । उनले भने, ‘अझ यहाँको पूर्वाधार विकास गतिलो भइदिएको भए दुर्गम छिल्लीकोट स्वर्ग बन्न सक्थ्यो कि भन्ने लाग्छ ।’
पाहुनालाई उपहारमा टिमुर
दुर्गम छिल्लीकोटको मुख्य आम्दानीको स्रोत टिमुर हो । अदुवा, बेसार समेत उत्पादन भए पनि छिल्लीकोट भित्रिने पर्यटकहरु टिमुर र सुगन्ध कोकिला उपहार लैजाने गर्दछन् । जसले छिल्लीकोटको प्रचारमात्रै होइन, आम्दानीसमेत भित्र्याएको स्थानीय पूर्ण पुन बताउँछन् ।
उनले भने, ‘सुगन्ध कोकिला र टिमुर हाम्रो चिनारी र बाँच्ने आधार बनेको छ ।’ एक घर एक उत्पादन अन्तर्गत टिमुर र सुगन्ध कोकिला यहाँ उब्जनी हुनछ । धेरथोर भए पनि पाहुनाले उपहार स्वरुप लैजाने गरिरहेकाले यसले ती वस्तुले बजार पाउनका साथै गाउँको परिचय फेरिएको उनी बताउँछन् ।
होमेस्टे ग्रामले दुर्गम गाउँको मुहारमा धेरथोर राहत थपे पनि विकास अभावका कारण छिल्लीकोटले वास्तविक परिवर्तन महसुस गर्न नपाएको पीडा पनि उनले सुनाए । उनले भने, ‘पाहुनालाई जसोतसो सेवा त दिन्छौं । तर हामीलाई खानेपानी, सडक र विद्युतको पीडाले भने कहिल्यै छोड्न सकेन ।’
छिल्लीकोटको पूर्वाधार विकासका लागि थुप्रै आश्वासन र आशा सरकार, मन्त्री र नेताहरुले दिए पनि त्यो अझै पूरा हुन नसकेको गुनासो उनको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ओली सरकारविरुद्ध माओवादीको रणनीतिदेखि सट्टेबाजीमा भारतीय गिरोहसम्म
-
धवनले मनाए ३९ औँ जन्मदिन
-
त्रिवि आमसञ्चार केन्द्रीय विभाग र बोर्डबिच शोधवृत्ति प्रदान गर्ने विषयमा सम्झौता
-
‘विवाहपञ्चमी महोत्सवले नेपाल–भारतबीचको सम्बन्ध प्रगाढ’
-
स्वास्थ्य मन्त्रालयमा गुनासो सुनुवाइ एकाइ गठन
-
हाम्रो टीमले राम्रो गरिरहेको छ, एक अर्कालाई सहयोग गर्दा रिजल्ट राम्रो आएकोे छ : Lalit Rajbanshi ||