शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बारा–२ उपनिर्वाचनमा ९२९ नयाँ मतदाता थपिए, १३७ मतदान केन्द्र रहने

निर्वाचनको तयारीमा जुट्दै जिल्ला निर्वाचन कार्यालय
शुक्रबार, १७ चैत २०७९, १० : ३३
शुक्रबार, १७ चैत २०७९

बारा ।  बैशाख १० गते हुने उपनिर्वाचनको लागि बारा –२ मा ९२९ जना मतदाता थपिएका छन् । यसअघि मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा यहाँ १ लाख ५ हजार ११ मतदाता रहेका थिए । जसमा पुरुष ५८ हजार ७४२ र महिला ४६ हजार २६९ थिए । 

आसन्न बैशाख १० गते हुने उपनिर्वाचनका लागि भने सो निर्वाचन क्षेत्रमा ९२९ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज कुमार चौधरीले जनाएका छन् ।

गएको निर्वाचनलाई नै आधार मानेर निर्वाचन कार्यालय बाराले यस पटक पनि ८२ मतदान स्थल र १३७ मतदान केन्द्र निर्धारण गरेको छ ।

यस्तो छ बारा –२ को निर्वाचन तालिका

बैशाख १० गते हुने उपनिर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय बारा निर्वाचनको तयारीमा जुटेको छ । ‘हामीसँग समय अत्यन्तै थोरै भएकाले अहिले निर्वाचन सामग्री व्यवस्थापन, मनोनयन दर्ताको लागि अनुसूची फारम छपाई गर्ने लगायको काम सुरु भइसकेको छ’ जिल्ला निर्वाचन अधिकृत चौधरीले भने ।

chaudari

भोलि शनिवार बारा–२ को उपनिर्वाचनको लागि  निर्वाचन कार्यालय स्थापना गर्ने, २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता, मनोनयन पत्र दर्ता भएको सूची प्रकाशन, २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, चैत २२ गते उम्मेदवारको नामावली प्रकाशन, २३ गते उम्मेदवारको नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने निर्वाचन तालिका रहेको छ । 

बैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्यक्रम रहेको छ । जिल्ला निर्वाचन अधिकृत चौधरीले निर्वाचनमा खटिने  मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारीको विवरण तयार पर्ने काम भइरहेको बताएका छन् ।

‘उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिसकेपछि चुनाव हुने दिन भन्दा ७२ घण्टा अघिसम्म उहाँहरूले चुनाव प्रचारप्रसार गर्न पाउनुहुन्छ’ चौधरीले भने । निर्वाचन सञ्चालनका लागि केन्द्रबाट हालसम्म बजेट निकासा नभएकाले सरोकारवाला निकायहरूसँग निर्वाचन सम्बन्धी कुनै पनि कार्यक्रमहरू गर्न नसकिएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।

bara2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप