पत्तै भएन
तिमी कति बेला उड्यो, पत्तै भएन
मैले हर कोसिस गरे रोक्न तिमीलाई
तिमी खहरेको भेल थियो
म उन्यूको पातहरूले बाँध बाँधिरहन्थे
खोला छेउको तलाउमा,
सजाउन कोसिस गरिरहन्थे
हो, तिमीलाई हतारो थियो सागर भेट्न
मलाइ हतारो थियो तिम्रो तिर्खा मेट्न
तिमी कतिबेला बगेर गयो, पत्तै भएन ।
रानीबाट छुट्टिएको माहुरी थियो
सलाइको बट्टामा राखी,
कौसीमा सजाउन खोजिरहे
तिम्रा रहरहरू चन्द्रमा थिए
म कचौराको पानीमा देखिने चन्द्रमा थिएँ
तिम्रा पैताला बादलमाथि थिए
मेरा पैताला असारे हिलोमुनि थिए
तिमी भिरबाट खसिरहेको पहिरो थियो
म तल बसेर छातीमा अड्याउन कोसिस गरिरहे
कतिबेला भत्किएर गयो, पत्तै भएन ।
तिमी मनसुन थियो, म चैत्र वैशाखको खडेरी
तर तिमी बङ्गालको खाडीमै बर्सिन खोज्यो
बादल थियो, हावासँग मितेरी गाँस्यो
कतिबेला उडाएर परदेश पुर्याएछ, पत्तै भएन ।
म मनसा, बाचा, कर्मणा, आत्मशुद्धि गरी
व्रत बसिरहन्थेँ तिम्रा लागि
म राम बनी वन वन डुलिरहन्थें
तिमी कुटीमा रावणलाई,
प्रेमपत्र लेख्न थालिछौ, पत्तै भएन ।
समय फेरियो,
खेतबारीले बगाएदेखि गाँस मर्यो
रिन लागेपछि आफन्तको आस मर्यो
बा–आमा वृद्ध भएपछि छिमेकीको साथ मर्यो
समयसँग मेरो लडाइँ चलिरहँदा तिम्रो मन
कतिबेला मर्यो, पत्तै भएन ।
शैल्यशिखर–४ काँडापारी, दार्चुला