कविता
खाडीमा भेटौला
शनिबार, १८ चैत्र २०७९, ०८ : ०५

मलाई बारम्बार झस्काउँछ
खाडीमा भेटौला
जापानको यात्रा सफल रहोस्
कोरियाको यात्रा सफल रहोस्
जस्ता हृदयविदारक कथनहरूले ।
थाकेको तन अनि मन
उदासीन आँखा
ओठमा फिक्का हाँसो
भविष्यको चिन्ता बोकेर
ती गल्लीहरूमा
ती चोकहरूमा
थुप्रै मजस्ता ‘म’हरू भेटिन्छन्
सुनौलो भविष्यको खोजीमा,
कैयौँ चाहनाहरू भत्किन्छन्
कयौँ सपनाहरू भत्किन्छन्
कयौँ आशाहरू अधुरा बन्छन्
कयौँ सम्बन्धनहरू टुटेर जान्छन्
त्यही सुनौलो भविष्यको खोजीमा
म सक्दिन अब जैले राजनीति
किचलो हेरिरहन ।
उराठ लाग्छ पहाड पनि
हाँसिरहेको देख्छु
पतझड पनि सुन्दर लाग्छ
तिम्रो त्यो लालच देखेर ।
लाग्छ सरकार तिमी हुनु
र, नहुनुमा केही फरक छैन ।
त्यसैले त लाग्छ,
अब खाडीमा भेटौँला ।
खाडीमा भेटौँला ।।