पौभाचित्रमार्फत बौद्धदर्शनको गहिराई छाम्दै लोक चित्रकार
लोक चित्रकारको एकल कला प्रदर्शनी ठमेलको मोना (म्युजियम अफ मोर्डन आर्ट) कला संग्रहालयमा प्रदर्शित भइरहेको छ । लोक चित्रकार यस्ता कलाकार हुन्, जो नेपाली परम्परागत कला पौभाचित्र सिर्जना गर्छन् । परम्परागत कला र समसामयिक कलाबीच समन्वयताको वातावरण तयार गर्न उनको सत्प्रयास तथा साधना उल्लेखनीय छ ।
२६ मार्च देखि २६ अप्रिलसम्म चल्ने प्रदर्शनीमा लोक चित्रकारका मास्टरपिस कामहरूदेखि, प्रिन्ट र केही स्केचलाई समेत समावेश गरिएको छ । पौभाचित्रमा विशिष्ट स्थान हासिल गरेका लोक चित्रकारको यो छैटौँ एकल कला प्रदर्शनी हो । यसपालिको प्रदर्शनीका राजन शाक्य क्युरेटर रहेका छन् ।
सन् १९९० मै उनको एकल कला प्रदर्शनी जापानमा भएको थियो । विदेशमा उनको ठूलो मान–सम्मान छ । अझ जापानमा उनका कलालाई मान–सम्मानका साथ प्रदर्शित गरिदिएका थुप्रै घटना छन् ।
सन् १९९९ मा फिनल्यान्डमा, सन् २००० मा जापानको क्योटोमा र सन् २००२ मा अमेरिकामा उनको एकल कला प्रदर्शनी भए । यसअघि नेपालमै उनको एकल कला प्रदर्शनी सन् १९९७ मा भएको थियो । नेपालमा सामूहिक कला प्रदर्शनी हुँदा उनका चित्र देखिए पनि उनको अलग्ग चित्र कमै प्रदर्शित भएका होलान् । उनको कलागत–विद्वता, बौद्धकलामा भएको उनको अथाह ज्ञानलाई राम्रोसँग अभिलेखन गर्न सकिएको छैन ।
वि.सं. २०१७ चैतमा काठमाडौमा जन्मेका लोक चित्रकार कलाकारसँगै परम्परागत कलाका राम्रा लेखक समेत हुन् । उनका कैयौँ आलेखले पौभा कलाका बारेमा धेरै तथ्य उजागर गरेका छन् । परम्परागत कला अनुशासनबद्ध भएर आधुनिकीकरण हुनुपर्छ वा गरिनुुपर्छ भन्ने उनको मूल मान्यता देखिन्छ । नेपाली परम्परागत कलाको मध्यकालीन शैली र प्रवृत्तिमा उनको खास रुचि छ । यसैले उनका चित्रले परम्परागत पौभाचित्रको परम्परालाई नयाँ मोड दिएको छ ।
विशेषगरी १६औँ शताब्दीका नेपाली पौभाचित्रकलाको शैलीमा उनले निकै अध्ययनका साथै अभ्यास गरे । यसै शैलीमा उनले थुप्रै चित्र बनाएका छन् । उनी भन्छन्, ‘आम मान्छेलाई पौभाचित्रकला बुझाउँदा, बुझाउन पर्दा विशेष गुणस्तरमा देखापरेका १५–१६औँ शताब्दीका यस्ता पौभाका शैली, लक्षण, (प्रतिमा लक्षण) आदिको सन्दर्भ उठाउने गरेको हुँु ।’ यसपालि समसामयिक कला भन्न मिल्ने कैयौँ चित्रलाई उनले प्रदर्शनीमा राखेका छन् ।
परम्परागत चित्रकारमध्ये लोक चित्रकारको दूरदृष्टि (भिजन) अलि फरक छ । उनी आफ्नो कलाको मात्र होइन, परम्परागत पौभाचित्र अनि यसभित्र रहेको प्रतिमा–लक्षणका प्रत्येक अवयवको व्याख्या–विश्लेषण गर्छन् । नेपाली परम्परागत चित्रलाई पुनव्र्याख्याका साथ उनले नौलो ढंगबाट सिर्जना गर्ने गरेका छन् । शिल्प–दक्षतासँगै बौद्धधर्मको दर्शन, अनुशासन, कलाको विधिविधान, मूल्य–मान्यता आदि पालना गर्ने सन्दर्भमा समेत उनी अग्र स्थानमा छन् ।
बाह्रखरी सिक्नुअघि नै अक्षराम्भ गर्ने वाक्य ‘ओम् नमो वागीश्वराय’ उच्चारण गर्न लगाउने सामाजिक वातावरणमा उनको जन्म भएको थियो । यसर्थ उनी धर्म, देवीदेवता, चाडपर्व, जात्रा आदिसँग घुलमिल हुँदै हुर्के–बढेका थिए । विशेष गरेर बौद्धधर्मप्रति उनको विशेष आस्था, श्रद्धा रह्यो । यसैमा उनको गहन अध्ययन पनि रह्यो र उनले बौद्ध–चित्र बढी मात्रामा सिर्जना गरे ।
उनैले भनेअनुसार, बच्चा बेलामै सिकाउने गरेको ओम् नमो वागीश्वरायको अर्थ बोधिसत्व मञ्जुश्री अथवा वागेश्वरलाई नमस्कार गरेको भनी उनलाई पछि मात्र थाहा भयो । यही बौद्ध दर्शन, जात्रा, पूजाआजा, देवीका नाच आदिसँग बालककालदेखि घुलमिल रहेकाले पनि परम्परागत चित्रकलामा उनको रुचि बढेको देखिन्छ । यसैले उनका चित्र अलौकिक र अद्वितीय छन् ।
परम्परागत कलाको धरोहर त उनी हुँदै हुन्, उनलाई समसामयिक कला क्षेत्रमा पनि उचित स्थान दिइएको देखिन्छ । उनका चित्रलाई आजको सन्दर्भमा अलग्ग ढंगबाट हेर्न र विश्लेषण गर्न थालिएको छ । बाहिर भएका अन्तर्राष्ट्रिय कला प्रदर्शनी मात्र होइन, नेपालमै भएका अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा उनका कलाले स्थान पाउनुले उनको गरिमा अझ बढाएको ठर्हछ ।
एक अलग्ग धारमा उनका कला विकास हुँदा नेपाली अन्तर्राष्ट्रिय समसामयिक कलाको प्रदर्शनीमा समेत उनको कलालाई अवलोकन गर्न सकिन्छ । अहिले हुने गरेका अधिकांश सामूहिक कला प्रदर्शनीमा समसामयिक, आधुनिक, लोक, परम्परागत कलालाई सँगै प्रदर्शन गरिन्छ । यसले विधागत रुपमा कलाको विभेदलाई हटाएको छ । परम्परागत र आधुनिक कलाको समेत परिचयात्मक प्रस्तुतिका साथ उनका कला देखिन्छन् ।
उहिले देवीदेवताका चित्रहरू पूजाआजा अर्थात् भक्तको भक्तिसँग, जीवनसँग, संस्कृति–संस्कारसँग आबद्ध भएर सिर्जना हुन्थ्यो, यसरी स्वतः प्रदर्शित हुने हँुदा उहिलेका कलाको अलग्ग प्रदर्शनको आवश्यकता भएन । त्यतिबेला यस्ता चित्र कमिसन वर्कको रूपमा बन्थे, (कलाकारको आफ्नो स्वामित्व नहुने सन्दर्भमा) । जसले बनाउन लगाउँथे, उसले आफ्नै ढंगले प्रयोग गर्ने हुँदा पनि त्यसको प्रदर्शन र विश्लेषणको परम्परा बस्न सकेन । अहिले पनि केही सजग परम्परागत कलाकारबाहेक धेरै कलाकार कुनामा बसेर यस्ता कला बनाउँछन् र बेच्छन्, जसको उति चर्चा हुँदैन । यस्ता कलाको प्रदर्शन गर्ने क्रममा उनी अग्रपंक्तिमा रहेकाले उनको विशेष रूपमा चर्चा पनि हुने गर्दछ ।
यसपल्ट प्रदर्शित उनका चित्रलाई समष्टीगत रूपमा हेर्दा, अवलम्बन गरिनुुपर्ने प्रतिमा लक्षण, आसन, आयुध, देवीदेवताका रूप, प्रतीकात्मक विम्ब, वेशभूषा, गरगहना आदिमा उनी संवेदनशील र सचेत देखिन्छन् । आकर्षक ढंगले पस्किएका यस्ता चित्र अवलोकन गर्दा भावक यसै पनि मोहित हुन पुग्छन् ।
उनको कलामा गहन अर्थ हुन्छ । उनले पात्रहरूलाई तौलीतौली छान्छन् । परम्परागत शास्त्रीय विधिविधान, नीति–नियमलाई अक्षरसः अनुकरण गर्दै उनले आफ्ना चित्रमा समसामयिक कलाको लक्षण र विशेषतालाई पनि छ्वास्स कतै घुसाउने गर्छन् । यसैले उनका चित्र पृथक् दृश्यावलोकन हुने गर्छ ।
यसपल्टका उनका चित्रमा नितान्त विपरीत रङ (रातो र नीलो रङहरू)को समायोजन र रङ सन्तुलनको गजबको समायोजन अवलोकन गर्न सकिन्छ । संगतिलाई अलिकता पनि खलबलिन नदिई बनेका उनका चित्र आकर्षक लाग्छन् ।
स–साना चित्रकै सन्दर्भमा पनि ध्यानमग्न बुद्धको पृष्ठभूमिमा रहेको रहस्यपूर्ण हिमाल, हिउँका रेसा आदिले उनका चित्रलाई विशेष बनाएको देखिन्छ ।
एउटा चित्र छ, सर्वांगमा नीलो चिसो शीतल रङको प्रयोग गरिएको छ तर छ्वास्स देखापरेको गुलाबी कमलको फूल आदिले आकर्षक संयोजन दर्शाउँछ । यस्तै, पूर्ण रातो रङले बनेको देवीको चित्रमा हरियो रूख आदिका साथ अग्रभागमा भक्तिभाव दर्शाइरहेको आम भक्तको संयोजन गरिएको छ । १५–१६औँ शताब्दीपछि देखिएका यी नयाँ कलागत शैली हुन् ।
गहिरो गरी उनको चित्रको व्याख्या विश्लेषण गर्न हरेक चित्रको पृष्ठभूमिमा रहेको बौद्धदर्शन, धर्मगाथा, लोकगाथा, हरेक विम्ब र मोटिफको अर्थ–रहस्य आदिलाई विस्तारमा केलाउनुपर्ने हुन्छ । कलाकारले यस विषयमा गरेको परिकल्पना, संयोजन, संरचनाको ढाँचा, प्रस्तुतिको तरिका, परिमार्जित रङ, रेखा आदिलाई विस्तारमा अध्ययन नगरीकन कुनै पनि यस्ता परम्परागत कलालाई आधिकारिक रूपमा व्याख्या–विश्लेषण र न्याय गर्न सकिन्न । यो भनेको एउटा अलग्ग खोजको विषय पनि हो ।
आम परम्परागत पौभाचित्रकारले कोर्ने चित्रमा सामान्यतः पृष्ठभूमिमा बुद्धको जीवनी देखाइन्छ । हरेकजसो देवी–देवताले मागेको प्रतिमा लक्षणको सामान्य वर्णन कलाकारले गरे पनि कलाकारको निजी विशेषता अलग्गाएर हेर्ने अभ्यास हामीकहाँ छैन । यसका लागि एक अलग्ग अनुसन्धानकै खाँचो हुन्छ, जसलाई यो सानो आलेखमा अटाउन सम्भव भएन ।
यो प्रदर्शनीमा चित्रको गोटागिन्तीको हिसाब गर्न मुनासिब देखिँदैन, किनकि यहाँ उनका बगुन्द्रो कलाकृतिलाई प्रदर्शित गरिएको छ । भित्तामा चारैतिर ठुल्ठूला चित्र्र झुन्डाइएका छन्, कक्षको बीच भागमा डोरीले एक अलग्ग खण्ड बनाई प्रदर्शन गर्ने उपक्रममा बग्रेल्ती स–साना चित्रलाई झुन्ड्याइएको छ । हेर्न असजिलो जस्तो लागे पनि यो प्रदर्शनको संरचना रमाइलो देखिन्छ । कक्षमा मधुरो प्रकाश छ । यसले गर्दा राम्रोसँग चित्र अवलोकन गर्न गाह्रो हुन्छ ।
अति विस्तारमा तुलिकाघात सलबलाएका, उत्कृष्ट, लयात्मक खाइलाग्दा लोकका यस्ता चित्र अवलोकन र रसस्वादन गर्न निकै लामो समय खर्चिनुपर्ने हुन्छ । हुल–ठेलमठेल जस्तो हुने हँुदा पनि भावक धेरैबेर बसिरहन यो ठाउँ त्यति अनुकूल छैन । यस्ता प्रतिकूलतालाई व्यवस्थित गर्नु यो संग्रहालयको थप चुनौती पनि हो ।
परम्परागत पौभाचित्र
लोक चित्रकारका चित्रका बारेमा कुरा गरिरहँदा पौभाचित्रको ऐतिहासिक स्वरूप, यसका विशेषतालाई बुझ्न जरुरी हुन्छ । चित्र कोर्दा सुरुका बेलामा अपनाउनुपर्ने अनुशासनबद्धता अहिले आएर धेरै खुकुलो भएको छ । आधारभूत प्रतिमा लक्षण, बौद्धिस्ट वा ब्रह्मानिकल धर्मगाथा, दर्शन, तन्त्र–मन्त्र आदि अहिले पनि अनुशरण भइरहनुको कारण हो– पौभा कलाकारले यसलाई मौलिक कला मान्छन् । यी आधारभूत तत्व अनुशरण नगर्नेलाई पौभाचित्रको वास्तविक रूप मान्दैनन् । यसर्थ स्थुल रूपमा भए पनि अहिलेको पौभाचित्रको लाक्षणिक चरित्रलाई बुझ्न सकियो भने लोक चित्रकारका देवीदेवताका शैली र प्रवृत्तिलाई थोरै भए पनि आत्मसात गर्न सकिन्छ ।
पौभाचित्रको आधारभूमि ग्रन्थचित्रसँग छ । सबैभन्दा पहिला ग्रन्थचित्र (ग्रन्थमा गाता वा भित्री पेजमा बनाइने मिनियचर चित्र) आधिकारिक रूपमा ११औँ शताब्दीमा बनेको पाइएको छ । यसैको विकसित रूपमा अलि पछिबाट पौभाचित्रको विकास भएको हो । ग्रन्थचित्रको शैली बेग्लै छ, पौभाचित्र (पटचित्र पनि)को पनि शैली र प्रवृत्ति समयअनुसार परिवर्तन हुँदै गएको देखिएको छ ।
लोक चित्रकारले १६औँ शताब्दीका यस्ता पौभाचित्रलाई विशेष जोड दिइरहेको सन्दर्भमा, यसैबेलादेखिको प्रसंग उठाउनु विशेष सान्दर्भिक होला । विशेष गरेर १६औँ शताब्दीको नेपाली पौभाचित्रको शैली र प्रवृत्तिका बारेमा कलाविद् मनवज्र वज्राचायले विस्तारमा व्याख्या गरेका छन् । उनका अनुसार १५औँ शताब्दीका चित्रको तुलनामा १६औँ शताब्दीमा अर्कै र १७औँ, १८औँमा अझ अर्कै कलागत शैली देखिएका थिए । उनले १५औँ शताब्दीअघि पौभाचित्रको चर्चा नउठाएर ग्रन्थचित्रको मात्र बेलीविस्तार लगाएका छन् । जबकि डा. पालले अमेरिकाको लस एन्जलसमा रहेको पौभाचित्रलाई १२औँ शताब्दीको बताएका छन् । धेरैजसो कलाविद्ले पौभाचित्रलाई मूलतः १३औँ शताब्दीदेखि प्रचलनमा रहेको बताउँछन् ।
कलाविद् मनवज्र वज्राचार्यका अनुसार, १६औँ शताब्दीको पौभाचित्रले अलग्ग शैलीगत मोड समातेको थियो । आधारभूत धार्मिक विषयवस्तु स्थुल रूपमा कोरिन लाग्नु पौभाचित्रको मुख्य विशेषता थियो । यसबेलाको चित्रमा स्थुल रूपमा चित्रण गर्ने सुरुवात भए पनि रेखाको सूक्ष्मता र सुघ्घरपन भने हराएको देखिँदैन । पौभाचित्रमा तल्लो अग्रभागमा हुने गरेको संस्थापकको सपाट र अर्ध चेहराको विशेषता कायमै देखिन्छ, यद्यपि त्यसबखतका चित्रमा काल्पनिकताभन्दा थोरै वास्तविकतातर्फ उन्मुख भएको देखिन्छ, (कलाको इतिहासमा कल्पनाबाट यथार्थ र नैसर्गिक स्वरूपमा आउने क्रम भनेकै आधुनिक कलाको पृष्ठभूमि हो) । हृष्टपुष्ट रूप समेत यसबखत देखापरेको छ ।
कलाविद् डा. प्रतापदित्य पालले नेपालका पुराना कलालाई विस्तृत रूपमा, गहिरो गरी अभिलेखन गरेका छन् । विस्तारमा यहाँ भन्न आवश्यक नहोला, तर लोक चित्रकारका चित्र १५औँ, १६औँ शताब्दीसँग गाँसिदा भने डा. पालले उठाएका केही कुरा यहाँ उद्धृत गर्न सान्दर्भिक होला । उनका अनुसार, त्यतिबेलाको मूर्तिकलामा खुलेरै कुनै पनि आइकन बनाउन वर्जित थियो । यसकारण सबैजसोको ध्यान चित्रकलातर्फ मोडियो । यसकारण अनेकौँ स्वरूपमा ब्रह्मानिकल र बौद्धिस्ट माइथोलोजीमा अनेक चित्रको निर्माण भएका छन् ।
अर्का कलाविद् संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार, पाल शैलीका कलामा तान्त्रिक पे्ररणाका लक्षण मौजुद थिए । यसअघिको गुप्त कलामा तान्त्रिक शक्ति देखापर्दैन । पाल शैलीमा शृंगारको स्तर ज्यादा देखिन्छ, (नेपालका चित्रकलामा उदय १०औँ, ११औँ शताब्दीताका पाल कला शैलीको एकछत्र प्रभाव परेको सबैजसो कलाविद्ले उल्लेख गरेका छन्) ।
डा. पालका अनुसार, नेपाली पौभाचित्रभन्दा थोरैअगाडि देखापरेका ग्रन्थचित्र नेपाल, विहार र बंगालमा समेत एकैजसो शैलीका छन्, (यतिसम्म मिल्दा छन् कि सामान्य आँखाले अलग्गाउनै सकिँदैन) । तापनि पाल शैलीका चित्र र नेपालका यस्ता ग्रन्थचित्र केही विशेषतागत फरक भने छ । बंगाल र विहारमा विकसित भएको पाल शैलीका ग्रन्थचित्रमा रुढीवादी दृष्टान्त चित्रको ओतप्रोत देखिन्छ भने नेपाली ग्रन्थचित्र अभिव्यञ्जना र पेन्टर्ली (रेखाहरू कम र तुलिकाघात वा रङहरूको प्राधान्य रहेको चित्र) विशेषताले भरपूर देखिन्छ ।
यही ग्रन्थचित्रको विकसित रूपमा पछि पौभाचित्रको विकास भएको हो भन्ने लोक चित्रकारको भनाइ रहन्छ । उनका अनुसार, यस्ता साना पौभाचित्रको संयोजनमा जेन्टल एनिमेसनको भाव पाइन्छ । रङहरूको सन्दर्भमा कोमल र चम्किलो जोर्तिमय विशेषता यथेष्ट मात्रामा पाउन सकिन्छ । विशेषतः रेखाहरूले महत्त्वपूर्ण भाग ओगट्ने पौभाचित्रमा रङहरू बढी प्रयोग हुन्छ । यस्ता विशेषतालाई अलि गहिरिएर खोज्न थप अध्ययन नै गर्नुपर्ने हुन्छ ।
मोना कला संग्रहालय
यहाँ मोना कला संग्रहालयको चर्चा गरौँ । ठमेलस्थित ‘काठमाडौं गेस्ट हाउस’को अन्डरग्राउन्ड कक्षमा मोना कला संग्रहालय छ । जहाँ स्थायी रूपमा नेपाली कला प्रदर्शित भइरहन्छन् । पर्यटकीय क्षेत्र ठमेलमा प्रायः होहल्ला र भीडभाड भइरहन्छ, तर यस संग्रहालय कक्षमा छिरेपछि शान्त, स्वच्छ–वातावरणको अनुभूत हुन्छ ।
यहाँ कलासम्बन्धी सानोतिनो कार्यक्रम गर्न र चिया–नास्ता खान मिल्ने हुँदा कलाकार, कलाप्रेमी यहाँ आउन रुचाउँछन्, रमाउँछन् । गेस्ट हाउसमा आउने पाहुनाले पनि यस संग्रहालयमा प्रदर्शित कला अवलोकन गर्छन् । यसै होटलको परिसरमा कलाकारलाई कला सिर्जना गर्ने स्टुडियो, साना प्रदर्शन कक्ष आदिको पनि अलग्ग व्यवस्था छ । जहाँ कलाकारले पैसा तिरेर यसको उपभोग गर्न सक्छन् । उहिले यो अवधारणा नेपाल प्रज्ञा प्रतिष्ठान, यसैको एउटा अंगको रूपमा रहेको ललित कला निकायले प्रयोग गरेका थिए । यसले धेरै कलाकारलाई राहत पु¥याएको थियो ।
२०३४ सालमा नेपाल ललित कला संस्था नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा गाभिएपछि यसको अलग्ग अस्तित्व हराएर गयो । २०५४ तिर नेपाल प्रज्ञा प्रतिष्ठानकै नयाँ स्वरूप आयो, जहाँ प्रज्ञा परिषदमा दुईजना ललितकलाकर्मी अटाउने व्यवस्था गरियो । त्यसबेला कलाकार उत्तम नेपाली अनि शशिविक्रम शाह प्राज्ञ परिषद्का सदस्य भएका थिए । यसैबेला यो नयाँ अवधारणाले जन्म पाएको थियो । यसबेला ललित कला संस्थाले ओगटेको सीता भवनको आधाभन्दा बढी भाग यसका लागि उपयुक्त ठाउँ बनेको थियो ।
सीता भवनको बुइगलभरि यस्तै रहरलाग्दा स–साना थुप्रै कला स्टुडियो बनाइएका थिए । साह्रै थोरै पैसा तिर्नुपर्ने भएकाले त्यतिबेलाका राम्रा कलाकारको कला स्डुडियो त्यहाँ थियो ।
कलाकारहरू वर्षौं यस्ता ग्यालरी लिएर दिनभरि आएर काम गर्थे । यसबेला अग्रज विशिष्ट कलाकार विजय थापा, कृष्ण मानन्धर, किरण मानन्धर, पुरण खड्कादेखि सक्रिय युवा कलाकार नविन्द्र लिम्बुका समेतका कला सिर्जना गर्ने त्यो उपयुक्त ठाउँ बनेको थियो । सबै कला स्टुडियो घुमियो भने त्यतिबेलाका शुभारम्भका आधुनिक कलादेखि हाल नयाँ आधुनिक कलालाई समेत एकैपल्ट सहजै अवलोकन गर्न सकिन्थ्यो । यहीँ नै कलाको बिक्री पनि राम्रो हुन्थ्यो । कलाकारलाई भेट्न, उनको कला अवलोकन गर्न सबैका लागि सजिलो पनि हुन्थ्यो । अब यस्तो व्यवस्था कतै छैन । यसर्थ, यो मोना कला स्टुडियोको व्यवस्था सकारात्मक रूपमा देखापरेको मान्नुपर्छ । विदेशीहरू बढी आउने हुँदा यहाँ बिक्रीको पनि राम्रो सम्भावना हुन्छ ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)