सर्वोच्चको व्याख्या : यौन व्यवसायमा लाग्नु भनेको जसले पनि करणी गर्न पाउने लाइसेन्स दिएको होइन !
काठमाडौँ । सर्वोच्च अदालतले हालसालै गरेको एक फैसलामा महिला यौन व्यवसायी भएपनि उनले मञ्जुरी नदिए त्यस्तो कार्य जबरजस्ती करणी नै हुने ठहर गरेको छ ।
२०७९ चैत ६ गते सर्वोच्च अदालतबाट भएको फैसलामा महिला यौन व्यवसायी भएपनि उनको पूर्ण मञ्जुरी नभई करणी गरिए त्यस्तो कार्य जबरजस्ती करणी हुने ठहर गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र न्यायाधीश तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासबाट भएको फैसलामा प्रतिवादीले महिला यौन व्यवसायी रहेको र आफूहरूले पैसा तिरेर सहमतिकै यौनसम्बन्ध राखेको दाबी लिएपनि अदालतले त्यसलाई अस्वीकार गरेको छ ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको राय रहेको उक्त फैसलामा न्यायाधीश खतिवडा पनि सहमत रहेका छन् ।
सर्वोच्च अदालतको फैसलामा महिला यौन व्यवसायी वा यौनकर्मी रहेको भएपनि मञ्जुरी दिने कि नदिने भन्ने अधिकार महिलामै निहीत हुने भन्दै मञ्जुरी नदिएको अवस्थामा यौनकर्मी महिलामाथि करणी भएमा त्यसलाई जबरजस्ती करणी मानिने ठहर गरिएको छ ।
सर्वोच्च अदालतको फैसलामा यौनकर्मी महिला भएपनि उनको शरीरमाथि उनकै अधिकार रहने र मञ्जुरी नदिन पनि सकिने व्याख्या गरिएको छ । फैसलाको एक अङ्गमा भनिएको छ, ‘यौन व्यवसायी रहेकै भनेर मान्ने हो भने पनि यौन व्यवसायी भएकै कारणले मात्र करणी गर्न मञ्जुरी नदिने निजको अधिकार समाप्त हुने होइन । यौन व्यवसायमा लाग्नु नै निज उपर जसले पनि करणी गर्न पाउने अनुज्ञापत्र (लाइसेन्स) पाएको भनेर सम्झन मिल्दैन । एउटा मानवको रूपमा अरू सामान्य महिलासरह यौन व्यवसायीलाई पनि करणीको कार्यमा मञ्जुरी नदिने अधिकार रहन्छ ।’
२०७३ असार ७ गते नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ मा भएको जबरजस्ती करणीसम्बन्धी घटनामा नुवाकोट जिल्ला अदालत, उच्च अदालत पाटन र सर्वोच्च अदालतले पनि प्रतिवादीहरूले बलात्कार गरेको ठहर गरेको छ । प्रतिवादीहरूले पीडित भनिएकी महिला पेशेवर यौनकर्मी रहेको र आफूहरूले पैसा तिरेर यौन सम्पर्क राखेको दाबी गरेपनि अदालतले भने यौनकर्मी भएपनि महिलाले मञ्जुरी नदिएको परिस्थितिजन्य प्रमाणहरूको व्याख्या गर्दै योनकर्मी महिला भएपनि मञ्जुरी नलिई गरिएको करणी बलात्कार हुने व्याख्या गरेको हो ।
के थियो घटना ?
नुवाकोट जिल्ला, विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको सेन्जायाङ्बो शेर्पाको घर भाडामा लिई एक महिलाले गोसाईंकुण्ड होटल सञ्चालन गरेकी थिइन् । यसअघि पनि ती महिला लामो समयदेखि नुवाकोट जिल्लाको विभिन्न स्थानमा होटल व्यवसाय गर्दै आइरहेकी थिइन् ।
जाहेरीमा महिलाले आफूलाई पालैपालो दुईजनाले समात्ने र एकजनाले करणी गर्ने गरेको र उक्त दिन आफू ६ पटक बलात्कृत भएको जाहेरी दिएकी थिइन् । आफूहरू आर्मीको जम्दार, सुबेदार र क्याप्टेन भएको र कराइस् भने मारिदिन्छु भनेको पनि जाहेरीमा उल्लेख छ ।
२०७३ साल असार ७ गते साँझ ७ बजेतिर स्थानीय युवक प्रेम थापासँगै विनोद रिमाल र दिनेश घले पनि उक्त खाजाघरमा खाजा खानका लागि पुगे । उनीहरु तीनैजना भएर खाजाघरमा एक फूल र थप एक क्वार्टर रुस्लान भोड्का, ४ वटा बियर र चारवटा पेप्सी, मासु, सुकुटी तथा चुरोट खाए । साँझ ७ बजेदेखि मदिरा पिएका उनीहरूलाई मदिरा धेरै लागेको भनी साँझ ८ः३० बजे त्यही खाजाघरमा सुत्ने कोठा छ भनी सोधेपछि खाजाघरकी सञ्चालिकासमेत रहेकी महिलाले सुत्ने कोठा छ भनेर कोठा देखाइदिएको महिलाको जाहेरीमा उल्लेख छ । कोठा देखाएर फर्कनै लाग्दा तीनैजना युवाहरू मिलेर जबरजस्ती कोठामा हिँड भनेको र जान नमान्दा आफूलाई काँधमा बोकी कोठामा पुराएर तीनजनाले दुई–दुई पटक करणी गरेको महिलाले प्रहरीमा जाहेरी दिइन् ।
जाहेरीमा महिलाले आफूलाई पालैपालो दुईजनाले समात्ने र एकजनाले करणी गर्ने गरेको र उक्त दिन आफू ६ पटक बलात्कृत भएको जाहेरी दिएकी थिइन् । आफूहरू आर्मीको जम्दार, सुबेदार र क्याप्टेन भएको र कराइस् भने मारिदिन्छु भनेको पनि जाहेरीमा उल्लेख छ । आफूलाई तीनजनाले ६ पटक करणी गरेको कारण पीडा सहन नसकेको र गर्भ बस्यो भने के गर्ने भनी सोधेकामा आफूसँग कन्डम भएको कारण केही नहुने भन्दै पुनः कन्डम लगाएर बलात्कार गरिएको जाहेरीमा भनिएको थियो ।
युवाहरूले दुई–दुई पटक करणी गरिसकेपछि आफूलाई पिसाब लागेको भनी कोठाबाट बाहिर निस्किएर भाग्दै गर्दा प्रहरी आइपुगेकाले प्रहरीलाई घटनाबारे मौखिक बताएको र प्रहरी होटलमा छिर्दै गर्दा युवाहरू भागेकामा दिनेश घलेलाई भने प्रहरीले पक्राउ गरेको देखिन्छ ।
घलेलाई सोही रातको अन्दाजी एक बजेको समयमा पक्राउ गरिएको पनि घटनास्थल मुचुल्का लगायतमा उल्लेख छ । महिलाले घटनाको भोलिपल्ट नै प्रहरीमा दिएको जाहेरीमा तीन युवाले आफूमाथि बलात्कार गरी होटलमा खाएको ८ हजार २ सय रुपैयाँ नदिएको र होटलको काउन्टरमा भएको ९ हजार रुपैयाँ पनि चोरेर लगेको जाहेरीमा उल्लेख छ ।
प्रहरीले तयार पारेको घटनास्थल मुचुल्कामा उक्त होटलको बीच तल्लाको कोठामा मानिस सुत्नका लागि ३ वटा खाट सहितको बिस्तरा भएको उल्लेख छ । सोही कोठाको पूर्वतर्फको कुनामा रहेको खाटको तन्ना यत्रतत्र खुम्चिएको, तन्नाको विभिन्न स्थानमा लस्सादार पदार्थ लागेको दाग देखिएको, खाट मुनी ३ वटा कन्डम प्रयोग गरी फालेको र ३ कण्डमको खोल भेटिएको, भुईंमा रातो रंगको चुरा फुटी टुक्राहरू छरिएको अवस्थामा फेला परेको उल्लेख छ ।
तर अदालतमा बयान गर्ने क्रममा भने प्रतिवादीमध्येका विनोदले पीडित भनिएकी महिला पेशेवर यौनकर्मी रहेको र आफूहरूले सहमतिमै पैसा तिरेर यौन सम्पर्क गरेको बयान दिए ।
महिलाको स्वास्थ्य परीक्षण गर्दा बच्चा जन्मिसकेको कारण बलात्कार भएको हो कि होइन भनी भन्न नसकिने उल्लेख गरिएको छ भने प्रतिवादी बनाइएका तीनैजना युवाको शरीर तथा लिङ्ग परीक्षणमा कुनै घाउचोट नभेटिएको उल्लेख छ ।
जाहेरीपछि प्रतिवादीसँग प्रहरीले लिएको बयानमा सबैभन्दा पहिले पक्राउ परेका दिनेश घलेले तीनैजना भएर पालैपालो यौनसम्बन्ध राखेको र बलात्कार गर्दा कसैले हात तथा कसैले गोडा समातेको बयान दिएका छन् । दिनेशको सोही बयानलाई समर्थन हुने गरी हुबहु कपी–पेष्ट गरेर विनोद रिमालको बयान तयार पारिएको छ ।
घटनालगत्तै स्थानीय युवा प्रेम थापा भने भागेर काठमाडौँमा लुकेका थिए । प्रहरीले पछि सोही वर्षको मङ्सिरमा प्रेम थापालाई पनि पक्राउ गरेर अदालतमा पेश गरेपछि पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
तर अदालतमा बयान गर्ने क्रममा भने प्रतिवादीमध्येका विनोदले पीडित भनिएकी महिला पेशेवर यौनकर्मी रहेको र आफूहरूले सहमतिमै पैसा तिरेर यौन सम्पर्क गरेको बयान दिए । बयानको क्रममा उनले आफूहरू तीन युवा र ती महिला पनि सँगै बसी मदिरा सेवन गरेको र महिलाले अलि धेरै मदिरा पिएको कारण नशामा रहेको बताएका छन् । मदिरा धेरै पिएपछि आफूले नै सेक्स गर्न पाइन्छ भनी सोधेकामा महिलाले नै एकपटकको ५ सय तिरेर सेक्स गर्न पाइन्छ भनेपछि आफूहरू पैसा तिरेर यौनसम्बन्ध राख्न तयार भएको बयान दिएका छन् ।
त्यसपछि महिला आफैँले कन्डम ल्याएर दिएपछि सोही कन्डम प्रयोग गरी यौनसम्बन्ध राखिएको र यौनसम्बन्ध राजीखुसीमै भएको उल्लेख गरेका छन् । महिला पहिलेदेखि नै यौन व्यवसाय गर्ने महिला भएकाबारे आफूहरूलाई थाहा भएको र त्यही भएर पैसा तिरेरै यौनसम्बन्ध राखिएको अदालतको बयानमा उल्लेख छ । आफूहरू तीनैजना युवक गाउँकै भएको र महिलालाई पहिलेदेखि नै चिनेको कारण मदिरा लगायतको खाजा खाएको पैसा भोलि दिउँला भनी हिँडेको विनोदले अदालतमा गरेको बयानमा उल्लेख छ ।
त्यसैगरी नुवाकोट जिल्ला अदालतमा बयान गर्ने क्रममा प्रतिवादी दिनेश घलेले पनि सोही प्रकृतिको बयान दिएका छन् । मदिरा पिउने क्रममा अन्य साथीहरूले ती महिला पेशेवर यौनकर्मी भएको र पैसा तिरेपछि सेक्स गर्न दिने गरेको बताएपछि त्यही खाजा घरमा गएर खाजा खाएको बताएका छन् । खाजा खाँदा महिलाले पनि सँगै बसेर मदिरा सेवन गरेको र कुराकानी हुँदा पाँचसय रुपैयाँमा कुराकानी मिलेपछि कोठामा गएर राजीखुसीमै यौनसम्बन्ध राखेको बयान दिए ।
उक्त मुद्दामा नुवाकोट जिल्ला अदालतले फैसला गर्ने क्रममा न्यायाधीश लोकजंग शाहले २०७४ जेठ ३१ गते फैसला सुनाएका छन् । फैसलामा बलात्कार भएको ठहर गर्दै जनही १० वर्ष कैद र पीडितलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भयो ।
प्रतिवादी बनाइएका प्रेम थापाले भने आफूले जबरजस्ती करणी पनि नगरेको र सहमतिमै पनि यौनसम्बन्ध नराखेको इन्कारी बयान दिएका छन् । साथीसँगै आफू पनि खाजा खान गएको र खाजा खाएको स्वीकार गरेपनि करणीमा इन्कारी बयान दिए । तर अदालतले तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठायो ।
उता, अदालतमा बयान गर्ने क्रममा भने पीडित भनिएकी महिलाले होस्टाइल बयान दिइन् । तीनजना युवाले आफ्नो होटलमा खाजा खाने गरेको र खाजा खाएको पैसा नदिएको तथा होटलमा भएको ३० हजार रुपैयाँ पनि लगेको कारण उजुरी दिएको उनले बयान दिइन् । कोठामा भेटिएको प्रयोग भइसकेको कन्डम पनि अघिल्लो दिन नै अन्य व्यक्तिले प्रयोग गरेको कन्डम भएको भन्दै जिल्ला अदालतमा बयान दिइन् ।
उक्त मुद्दामा नुवाकोट जिल्ला अदालतले फैसला गर्ने क्रममा न्यायाधीश लोकजंग शाहले २०७४ जेठ ३१ गते फैसला सुनाएका छन् । फैसलामा बलात्कार भएको ठहर गर्दै जनही १० वर्ष कैद र पीडितलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भयो ।
जिल्ला अदालतले बलात्कार ठहर गरेपछि तीनैजना युवा उच्च अदालतमा पुनरावेदन गर्न पुगे । पुनरावेदन अदालत पाटनले पनि २०७४ फागुन ८ गते फैसला सुनाउँदा नुवाकोट जिल्ला अदालतकै फैसलासदर गर्यो ।
त्यसपछि प्रतिवादी बिनोद रिमालले २०७५ असारको २२ गते सर्वोच्च अदालतमा उच्च अदालत पाटनको फैसलाविरुद्ध पुनरावेदन गरे । त्यसपछि अन्य दुवै प्रतिवादीको तर्फबाट पनि सर्वोच्चमा पुनरावेदन पत्र आयो । त्यसपछि सर्वोच्च अदालतमा रहेको मुद्दामा करिब ५ वर्षपछि फैसला सुनाउँदै सर्वोच्चले समेत नुवाकोट जिल्ला अदालत र उच्च अदालत पाटनकै फैसला सदर गर्यो ।
फैसला सदर गर्ने क्रममा सर्वोच्चले महिला पेशेवर यौनकर्मी भए पनि उनको मञ्जुरीबिना गरिएको करणी बलात्कार हुने ठहर गर्दै त्यसको व्याख्या गरेको छ । त्यो बाहेक यौनसम्बन्ध अत्यन्तै गोप्य विषय भएको भन्दै तीनजना एकै स्थानमा रही पालैपालो करणी गर्ने कुरा सहमतिको सम्बन्ध नभई सामूहिक बलात्कार भएको ठहर गरेको छ ।
सर्वोच्च अदालतले कसुर ठहर गर्ने क्रममा प्रहरीले तयार पारेको घटनास्थल मुचुल्कालाई बढी मान्यता दिएको देखिन्छ । फैसलामा भनिएको छ,
‘प्रस्तुत मुद्दामा प्रतिवादीहरू सैनिक सेवामा कार्यरत ३ जनाले एकसाथ करणी गरेको भन्ने देखिन्छ । घटनास्थल प्रकृति मुचुल्काबाट जबरजस्ती करणी गरियो भनिएको कोठामा कण्डम, कण्डमको खोल र चुराका फुटेका टुक्राहरू यत्रतत्र छरिएको अवस्थामा भेटिएको देखिन्छ । यदि सहमतिले करणी लिनु दिनु गरेको भए चुरा फुटेको र यत्रतत्र छरिएको अवस्थामा भेटिनु पर्ने अवस्था देखिँदैन । साथै वारदातको मध्यरातमा पीडित पिसाब फेर्न जाने निहुँमा कोठाबाट निस्केर जानु परेको र तत्काल प्रहरी कार्यालयमा जान लाग्दा बाटोमा मोबाइल गस्ती प्रहरी भेटी घटनाको बारेमा बताएको तथा प्रतिवादी मध्येका दिनेश घले तत्काल फेला परी पक्राउमा परेको अवस्था पनि देखिएको छ । पीडितको मञ्जुरीमा गरिएको भए यसरी राती नै पिसाब फेर्ने निहुँमा निस्केर प्रहरी कार्यालयमा जानु पर्ने र घटनाका बारेमा बताएर तत्काल प्रतिवादीहरूलाई पक्राउ गराउनु पर्ने कुनै अन्यथा कारण रहेको पनि देखिन आउँदैन ।’
फैसलाको प्रकरण ३६ मा पीडित महिला पेशेवर यौनकर्मी नै भए पनि यौनक्रियाका लागि मञ्जुरी दिने वा नदिने विषय उनको अधिकारको विषय भएको व्याख्या गरिएको छ ।
फैसलाको प्रकरण ३६ मा भनिएको छ,
‘मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं को कानुनी व्यवस्था हेर्दा कुनै पनि महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा जबरजस्ती करणी गरेको ठहर्ने व्यवस्था भएको पाइन्छ । उक्त व्यवस्थाले कुनै महिलालाई यौन व्यवसाय गर्ने वा नगर्ने भनेर छुट्टयाउँदैन । कुनै महिला यौन व्यवसायी हो भनेर प्रचलित कानुनले चिनेको अवस्था पनि देखिँदैन । एकैछिनलाई विवेचना प्रयोजनका लागि यौन व्यवसायी रहेकै भनेर मान्ने हो भने पनि यौन व्यवसायी भएकै कारणले मात्र करणी गर्न मञ्जुरी नदिने निजको अधिकार समाप्त हुने होइन । यौन व्यवसायमा लाग्नु नै निज उपर जसले पनि करणी गर्न पाउने अनुज्ञापत्र (लाइसेन्स) पाएको भनेर सम्झन मिल्दैन । एउटा मानवको रूपमा अरु सामान्य महिलासरह यौन व्यवसायीलाई पनि करणीको कार्यमा मञ्जुरी नदिने अधिकार रहन्छ ।’
सर्वोच्चको फैसलामा भारतीय अदालतले गरेका केही फैसलाहरूलाई उदाहरणका रूपमा लिँदै भारतको सर्वोच्च अदालतमा चलेको NCT of Delhi vs Pankaj Chaudhary को मुद्दामा भारतीय सर्वोच्च अदालते भनेको 'No means no, even if rape survivor is a woman of easy virtue. A woman of easy virtue also could not be raped by a person for that reason.'
त्यसै गरी सर्वोच्चले Narender Kumar vs State (NCT of Delhi) को मुद्दाको पनि उदाहरण प्रस्तुत गर्दै कुनै पनि महिला वेश्या भएकै कारणले मात्र जबरजस्ती करणी नहुने भन्ने मान्यतालाई अस्वीकार गरिएको फैसलालाई उदाहरणका रूपमा लिएको छ ।
त्यसै गरी फैसलाको प्रकरण नम्बर ३७ मा यौनक्रिया गोप्यतापूर्वक गरिने कार्य भएको भन्दै समूहमै करणी भएको र समूहकै भएको करणीलाई मञ्जुरी मान्न नसकिने उल्लेख गरेको छ ।
फैसलाको प्रकरण ३७ मा भनिएको छ,
‘ ...करणीजन्य कार्य सामान्यतया गोप्यतापूर्वक गरिने कार्य मानिन्छ । तीन जनाको सङ्ख्यामा रहेका प्रतिवादीहरूलाई एकअर्काको उपस्थितिमा नै करणी गर्न सहमति दिएको तथा प्रतिवादीहरू तीनैजनाले एकसाथ सहमतिमा करणी गरेको भन्ने भनाइ पनि स्वाभाविक देखिन आउँदैन ।’
यसरी २०७३ असारको ७ गते नुवाकोटको विदुर नगरपालिकामा भएको घटनालाई नुवाकोट जिल्ला अदालत, उच्च अदालत पाटन र सर्वोच्च अदालतले पनि बलात्कार ठहर गरेको छ । बलात्कारको कसुर ठहर गर्नुपर्नाका आधार र कारण प्रस्तुत गर्दै कुनै महिला पेशेवर यौनकर्मी नै भए पनि निजले मञ्जुरी नदिई करणी भएमा बलात्कार मानिने र गोप्यतापूर्वक हुने यौनकार्य समूहमै हुँदा सामूहिक बलात्कार ठहर हुने फैसला सुनाएको हो ।