काम होइन, रिल्याक्स गर्छु भन्दै २९ वर्षका पुरुषले रोजे पाल मुनीको जीवन

२९ वर्षका एक पुरुष पछिल्लो दुई सय दिनदेखि एक पार्किङ लटमा पाल मुनी जीवन बिताइरहेका छन् । यी व्यक्ति चीनको नयाँ तथा चर्चित ‘लाइङ डाउन’ (पल्टिरहने) संस्कृतिका पर्याय बनेका छन् ।
सन् २०१८ को अन्त्यमा ली सु नामका व्यक्तिले सिचुवान प्रान्तमा अवस्थित एक कार्यालयको जागिर छोडे । जागिर छोडेर उनी अपार्टमेन्टमा रिल्याक्स गरेर बस्न थाले । तर २९ वर्षका ती पुरुषले पैसा एकोहोरो खर्च गरिरहने हो भने आफ्नो बचन छिट्टै नै सिद्धिने महसुस गरे । त्यसपछि उनले आफ्नो खर्च कटौती गर्दै आफ्नो दैनिक खर्च १.५ डलरमा सीमित गरे । यसो गर्दा पनि उनले भाडा त तिर्नुपर्दथ्यो, भाडामा उनको धेरै पैसा खर्च भइरहेको थियो । उनले अर्को योजना बुन्न थाले ।
एक दिन उनले आफ्नो सबै सम्पत्ति बेचिदिए र घर बाहिर नै आफ्नो जीवन बाँच्ने निर्णय गरे । त्यसपछि उनी भग्नावशेषले भरिएको एउटा पार्किङ लटमा बस्न थाले । उनी पछिल्लो २०० दिनदेखि त्यही जीवनयापन गरिरहेका छन् । त्यहाँबाट हट्ने उनले सोचेकै छैनन् ।
लीको यस्तो निर्णयले धेरैलाई चकित पारिरहेको छ । सेकेन्ड ह्यान्डको टेन्ट उनीसँग भएको सबैभन्दा महँगो सम्पत्ति हो । उनी चाउचाउ र मोमोजस्ता सस्तो खानेकुरा खान्छन् । कहिलेकाहीँ उनी आफ्नो स्टोभमा खानेकुरा पकाउँछन् जस्तै बिफ हट पट, आलु र प्यान केक । पानीका लागि र फोन चार्ज गर्न उनी निकै टाढा जानुपर्छ । तर यो जीवनलाई आफूले सोचेर नै अपनाएको भन्दै यसमा आफू निकै खुसी भएको लीले बताए ।
‘यो मैले रोजेको हो,’ लीले भने । ‘जब तपाईंले जीवनमा पूरा गर्न नसकेका कामलाई छोड्नुहुन्छ तब बिस्तारै तपाईंलाई शान्ति महसुस हुन्छ र फेरिएको परिस्थितिमा बानी पर्न थाल्छ । यो आरामदायी छ ।’
उनले चिनियाँ पत्रकारसँगको कुराकानीमा आफू अहिले पनि जागिर पाउन योग्य भएको बताउँदै साथीहरूले उनका लागि राम्रो वासस्थानको बन्दोबस्त गरिदिन र सानो व्यापार सुरु गर्नका लागि ऋणसमेत दिन प्रयास गरिरहेको बताए । तर उनलाई यस्ता केही कुरा नचाहिएको उनी बताउँछन् । उनलाई उनको साधारण जीवन मन परिरहेको छ ।
लीको पाल नजिकै एउटा नोट छ जसमा उनको सम्पत्तिको सम्मान गरिदिन आग्रह गरिएको छ । यस्तै उनले आफ्नो बसाइले कसैलाई अप्ठेरो पारिरहेको छ भने त्यसका लागि आफूलाई माफी दिन भनेका छन् । साथै, यस्तो भएको खण्डमा आफू अन्य कतै सर्न सक्ने पनि स्पष्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बँदेललाई कृषि हानिकारक वन्यजन्तुको रूपमा घोषणा गर्ने तयारी, बाँदरबारे निर्देशन चाहिने
-
शिव शिखर सहकारीको अत्तरिया सेवा केन्द्र सिल, कैलालीबाट ३५ सय बढीले दिए उजुरी
-
हेमन्तको ‘निरजाले’ मा आश्मा र सुनिलको अभिनय
-
दसैँमा विदेशबाट नेपाल आउँदै हुनुहुन्छ–के ल्याउन पाइन्छ, के पाइँदैन ?
-
एनएसएल खेल्न नेपाल फर्कने विमल घर्तीमगरकाे संकेत
-
बागमती प्रदेश मन्त्रिपरिषद बैठक : ६ निकायमा कार्यरत कर्मचारीको दरबन्दी तेरिज स्वीकृत