मंगलबार, १६ असोज २०८०
ताजा लोकप्रिय
व्यस्त जीवनशैलीको बाइप्रोडक्ट

अभिभावकको निगरानीमा नरहँदा किशोरलाई पोर्नोग्राफीको लत, बालिकाको नग्न भिडियो मागेर ब्ल्याकमेल

मंगलबार, ०९ जेठ २०८०, १० : ३२
मंगलबार, ०९ जेठ २०८०

काठमाडौँ । ‘मेरो छोरा छोरी त ज्ञानी छ, घरको कोठाबाट बाहिर पनि निस्कँदैन’ भनेर तपाईंहरु मक्ख हुनुहुन्छ ? तर ख्याल गर्नुहोस्, तपाईंले ज्ञानी भनिरहेका छोराछोरी पोर्नोग्राफीको लत वा समस्यामा फसिरहेका पनि हुन सक्छन् । 

पोर्नोग्राफीकै लतमा परेर बालिकाहरूलाई यौन दुर्व्यवहार गर्ने एक १७ वर्षीय किशोरलाई यतिबेला भोटाहिटीस्थित साइबर ब्यूरोको प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । कक्षा ७ मा अध्ययनरत १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेपछि प्रहरीले १७ वर्षीय ती किशोरलाई घट्टेकुलोस्थित एक होस्टलबाट पक्राउ गरेको साइबर ब्यूरोका इन्सपेक्टर राजकुमार खड्गीले बताए । 

पोर्नोग्राफीको लतले कलेज जानै छाडेका थिए किशोर

बारा स्थायी ठेगाना भए पनि श्यामकुमार (परिवर्तित नाम) को परिवार विराटनगरमा बसोबास गर्छन् । उनको बुवा एक स्टिल कम्पनीमा वरिष्ठ प्रशासक पदमा कार्यरत छन् । आमा पनि बुवासँगै विराटनगरमै बस्ने गरेकी छिन् । उनी गृहिणी हुन् । 

छोरा श्यामकुमारको उज्ज्वल भविष्यका लागि भन्दै बुवा र आमाले छोरालाई मित्रपार्कमा रहेको टेक्सास इन्टरनेसनल कलेजमा पढाइरहेका थिए । कोठामा बस्दा आफैँले सबै काम गर्नुपर्ने भएको कारण दुःख नहोस् भनेर छोरालाई घट्टेकुलोमा रहेको एक होस्टलमा राखेर अध्ययनको व्यवस्था पनि गरेका थिए । 

छोरा काठमाडौँ राम्रैसँग पढिरहेको छ होला भनेर बुवा आमा ढुक्क थिए । तर श्यामकुमारको वास्तविक अवस्था भने त्यस्तो थिएन । १७ वर्ष ९ महिना उमेरका उनलाई अश्लील भिडियोहरू हेर्ने लत लागेको थियो । पोर्नोग्राफीको लत बसेका श्यामकुमार कलेज जान पनि छाडिसकेका थिए । उनले कक्षा १२ को परीक्षाको फारमसमेत भरेका थिएनन्, जसका कारण उनले परीक्षासमेत दिन पाएनन् । 

बालिकाहरूलाई अश्लील फोटो र भिडियो पठाउन लगाउँथे

होस्टलमा राखेर उच्च माध्यमिक शिक्षा पढाउन बाराबाट काठमाडौँ पठाइएका श्यामकुमार भने कलेज जान छाडेर बिहान ७ बजेदेखि रातको १२ बजेसम्म पनि मोबाइल र ल्यापटपमै झुण्डिरहेका हुन्थे । होस्टलका कोठाबाट बाहिरसमेत ननिस्कने श्यामकुमारको बानी ब्यहोराका विषयमा होस्टलका वार्डेन लगायत सबै अञ्जान नै थिए । 

तर जेठ १ गते साँझ एकाएक प्रहरीको टोली होस्टलमा पुग्यो । २८ जना केटाहरू बस्ने ब्वाइज होस्टलमा प्रहरी पुग्दा सबै चकित भए । 

उता प्रहरीलाई पनि अपराध गर्ने व्यक्ति को हो भन्ने थाहा थिएन । किनभने श्यामकुमारले पीडितसँग आफ्नो असली नाम भनेका थिएनन् । सामाजिक सञ्जालमा छद्म नामको प्रयोग गर्थे भने आफ्नो तस्बिर पनि प्रयोग गर्ने गरेका थिएनन् । प्रहरी पुगेर होस्टलमा बस्ने सबै व्यक्तिको मोबाइल, ल्यापटप लगायतका उपकरण जफत गरेर अनुसन्धान सुरु गरेपछि मात्र बल्ल श्यामकुमारको पहिचान भएको थियो  । 

श्यामकुमारले भक्तपुरको एक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्ने १२ वर्षीया बालिकालाई नग्न तस्बिर र भिडियो पठाउन बारम्बार दबाब दिइरहेका थिए । बालिकाले पनि पटकपटक श्यामकुमारलाई नग्न तस्बिर र भिडियो पठाइरहेकी थिइन् । श्यामकुमारले पछि भेट्न आउन भन्ने र भेट्न नआए नग्न तस्बिर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने दबाब दिन थालेपछि बालिकाको साथीमार्फत विद्यालय र परिवारसम्म यसको जानकारी पुग्दै साइबर ब्यूरोमा उजुरी गरिएको थियो । सोही उजुरीको आधारमा श्यामकुमारलाई जेठ १ गते पक्राउ गरी साइबर ब्यूरोमा ल्याइएको थियो । 

बालिकालाई यसरी गर्थे ‘फिसिङ’

श्यामकुमारको मानसिक यातनाको शिकार भएकी बालिकाको स्थायी ठेगाना पनि बारा नै हो । यद्यपि श्यामकुमार र ती बालिकाबीच चिनजान थिएन । बालिकाकी आमा शिक्षिका थिइन् र उनी उपत्यका बाहिर नै शिक्षण पेशा गरिरहेकी थिइन् । उनका बुवा डेकोरेसनसम्बन्धी काम गर्थे र बालिका आफ्ना बुवा, दिदी र भाइसँगै भक्तपुरमा बसोबास गरिरहेकी थिइन् । आमा बुवा दुवै जना काममा व्यस्त हुने भएकाले छोराछोरीहरूलाई घरमै मोबाइल, ल्यापटप लगायतका उपकरण दिइएको थियो । तर उनीहरूले ती उपकरणहरूमा के गरिरहेका छन् भनेर त्यसको सामान्य चेकजाँच गर्ने पनि परिवारले गरेको थिएन । बालिकाले फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल आफैँ चलाउँथिन् । 

यता श्यामकुमारले पनि सुरुमा फेसबुकबाटै किशोरी र बालिकाको खोजी गर्थे । ब्यूरोका इन्सपेक्टर राजकुमार खड्गीका अनुसार सुरुमा अङ्ग्रेजी नामको फेसबुक अकाउन्ट खोल्थे, त्यही अकाउन्टबाट किशोरी र बालिकालाई फ्रेण्ड रिक्वेस्ट र म्यासेज पठाउने गर्थे । उताबाट रिप्लाई गरेपछि कुराकानी गर्थे । 

सुरुवातमा त राम्रो कुरा नै गर्थे श्यामकुमार । दोहोरो फोटो नै आदानप्रदान भइसकेपछि श्यामकुमार यौनका कुरा गर्न थाल्थे । सुरुमा आफ्नै गोप्य अङ्गको फोटो तथा भिडियो पठाउँथे र बालिकालाई पनि पठाउन लगाउँथे । कहिलेकाहीँ हस्तमैथुन गरेको भिडियो पनि पठाउन लगाउँथे । 

बालिकाले त्यस्तो फोटो वा भिडियो पठाउन नमाने धम्की दिन सुरु गर्थे । बालिकाको सामान्य फोटोमा नग्न शरीर भएको अरू कसैको फोटो जोडेर फोटो तयार पारिदिन्थे । अनि त्यही फोटो बालिकालाई पठाएर नग्न फोटो र भिडियो नपठाए त्यही फोटो फेसबुकमा हालेर बेइज्जत गरिदिने धम्की दिन्थे । धम्कीपछि बालिकाले बाध्य भएर आफ्नै शरीरको नग्न तस्बिर र भिडियोहरू पठाउन बाध्य हुन्थे । 

श्यामकुमार १२ वर्षीय सीता (नाम परिवर्तन) लाई मात्रै नभएर भक्तपुरको सोही विद्यालयमा अध्ययन गर्ने अन्य तीनजना बालिकाहरूलाई पनि त्यसैगरी फिसिङ गरेका थिए । सीताकै कक्षाका साथीहरूलाई पनि त्यसै गरी नग्न तस्बिर पठाउन धम्की दिएपछि सीताका साथीहरूले पनि श्यामकुमारलाई फेसबुक टिकटिक आदि सबैबाट ब्लक गरिदिएका थिए । सीताका साथीहरूले ब्लक गरेपछि श्यामकुमारले सीतालाई मात्रै निशाना बनाएका थिए । सीता भने श्यामकुमारको धम्कीका कारण उनले जे–जे भन्थे त्यही त्यही गर्न बाध्य थिइन् । 

श्यामकुमारको धम्की र त्रास सुरुमा भर्चुअल मात्रै थियो । तर पछि बिस्तारै प्रत्यक्षरुपमा भेट्न पनि दबाब दिन थाले । अश्लील हर्कत गर्दै भेट्न र फिजिकल हुन पनि बोलाउन थालेपछि सीता तनावमा भइन् । 

श्यामकुमारको यातना अति भएपछि सीताले त्यो कुरा आफ्नो कक्षाका साथीहरूलाई सुनाइन् । त्यही व्यक्तिको कारण आफूहरू पनि पीडित भएको बताएपछि त्यो कुरा सीताकै साथीमार्फत विद्यालयको शिक्षिकासम्म पुग्यो । त्यसपछि शिक्षिकाबाट सीताको आमासम्म खबर पुगेपछि सीताकी आमाले अन्य तीन किशोरीलाई पनि सँगै ल्याएर साइबर ब्यूरोमा उजुरी दिइन् । 

सीताकी आमाले उजुरी दिए पनि पीडक को हो भन्ने थाहा थिएन । त्यसपछि पीडकको टिकटक, फेसबुक र इस्टाग्रामको अनुसन्धानमा जुटेको प्रहरीले फेसबुककै सहयोगमा उक्त आइडी प्रयोग भइरहेको लोकेसन पत्ता लगायो । लोकेसन पछ्याउँदै गएको प्रहरी एक होस्टलमा पुग्यो । तर उक्त फेसबुकको प्रयोगकर्ता को हो भन्ने कसैलाई थाहा थिएन । प्रहरीले सोधपुछ गर्दा सबैले त्यो फेसबुकबारे जानकारी नभएको बताए । 

त्यसपछि साइबर ब्यूरोका प्रहरीले होस्टलमा बस्ने ३२ जना विद्यार्थीकै मोबाइल र ल्यापटप नियन्त्रणमा लिएर अनुसन्धान सुरु ग¥यो । अनुसन्धानका क्रममा श्यामकुमारको मोबाइलमा लग इन भइरहेकै अवस्थामा फेसबुक आइडी र witcher_2023 नामको टिकटक आइडी भेटियो । त्यसपछि उनलाई नियन्त्रणमा लिई साइबर ब्यूरोमा ल्याइयो । ब्यूरोमा केरकार गरेपछि उनले अपराधमा आफ्नो संलग्नता रहेको स्वीकार गरे । 

fb

लामो समय ट्वाइलेटमा बिताउँथिन् सीता

कक्षा ७ मा पढ्ने १२ वर्षीय सीता ट्वाइलेट गएर लामो समय भित्रै बस्ने गर्थिन् । सुरु सुरुमा पेट दुखेको वा अरू केही भएको होला वा कपडा धुँदै होला भन्ने लागे पनि सधैँजसो ढिलो गर्ने गरेका कारण परिवारलाई पनि केही शङ्का लाग्न थालेको थियो । कहिलेकाहीँ सीता तनावमा रहेको देखिएपछि परिवारले सीतालाई कुनै समस्या छ हो भनेर नसोधेका पनि होइनन् । तर सीताले केही होइन भन्दै ढाँट्ने गरेकी थिइन् । जब सीता पढ्ने विद्यालयबाट शिक्षिकाले फोन गरेर जानकारी दिइन्, त्यसपछि मात्रै सीतामाथि भएको अत्याचार र अपराधको जानकारी परिवारले पाएको थियो ।

श्यामकुमारको परिवार छोराबारे अञ्जान

श्यामकुमारको परिवार पनि छोराको पढाई र अपराधबारे पूर्ण अञ्जान थियो । छोराको राम्रो शिक्षा र भविष्यका लागि भन्दै श्यामकुमारका बुवाले दुःख गरेको कमाएको पैसा छोरालाई पठाइरहेका थिए । कलेज, होस्टल र श्यामकुमारका लागि आवश्यक खर्च पनि बिना हिचकिचाहट पठाइरहेका थिए । श्यामकुमारले मोबाइल र ल्यापटपको माग गर्दा पनि उनका बुवाले सजिलै किनिदिएका थिए । प्रहरीले श्यामकुमारलाई नियन्त्रणमा लिँदा पनि उनको साथमा १२ हजार रुपैयाँ रहेको थियो । 

उनलाई पक्राउ गरी साइबर ब्यूरोमा ल्याएपछि प्रहरीले सम्पर्क गरी बोलाउँदा उनका बुवा अचम्ममा परेका थिए । सुरुमा त त्यस्तो ‘होइन होला’ भनेका बुवालाई जब श्यामकुमार आफैँले अपराध गरेको हो भनेपछि भने स्वीकार गर्न बाध्य भए । 

पक्राउ पछि जेठ २ गते ५ दिनको म्याद लिएर अनुसन्धान गरेको प्रहरीले दोस्रोपटक जेठ ८ गते ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ । 

एसएसपी अर्याल भन्छन्, ‘यो व्यस्त जीवनशैलीको बाइप्रोडक्ट हो’

साइबर ब्यूरोका एसएसपी नवीन्द अर्याल बालबालिकाले नै अपराध गर्ने र अपराधको शिकार हुने भनेको अभिभावकको व्यस्त जीवनशैली कारण रहेको बताउँछन् । अभिभावकले आफ्ना छोराछोरी के गरिरहेका छन् भनेर खोजी र निगरानी नगर्दा यस्ता अपराध हुने र आफ्ना सन्तान पीडक वा पीडित हुनसक्ने एसएसपी अर्यालको भनाई छ ।

एसएसपी अर्याल भन्छन्, ‘अभिभावकहरू पैसा कमाउनका लागि मात्रै दौडिरहेका हुन्छन् । आफ्ना छोराछोरी के गरिरहेका छन् भनेर निगरानी पनि गरिरहेका हुँदैनन् । मोबाइल तथा ल्यापटपजस्ता डिभाइस दिएका हुन्छन् । तर ती डिभाइसमा उनीहरूले के गरिरहेका छन् भनी जानकारी नलिँदा त्यसले समस्या निम्त्याउने गरेको छ ।’

एसएसपी अर्यालका अनुसार अभिभावक सँगै नहुने र होस्टलमा बस्ने बालबालिकाहरूमा यस्तो समस्या बढी देखिएको छ ।  उनी भन्छन्, ‘होस्टलमा राखेपछि राम्रोसँग पढिरहेको होला भनेर अभिभावक मक्ख हुन्छन्, तर उनीहरू कुनबेला अपराधमा प्रवेश गरिसकेका हुन्छन् थाहै हुँदैन । अभिभावकले निरन्तर निगरानी नगर्ने हो भने जुन बेला जे पनि हुनसक्छ ।’

ढोका थुनेर बस्ने बालबालिका खतरनाक !

साइबर ब्यूरोका प्रमुखसमेत रहेका एसएपी नवीन्द अर्याल कोठामा ढोका थुनेर बस्ने बालबालिका झनै खतरनाक हुने बताउँछन् । उनी भन्छन्, ‘मेरो छोरा वा छोरी त ज्ञानी छ, कोठामै बसिरहन्छ र बाहिर पनि निस्कँदैन भन्नुभएको छ भने त्यो गलत हो । त्यस्ता बालबालिका झनै खतरनाक हुन सक्छन् । उनीहरूलाई गेम, पोर्नोग्राफी वा अन्य त्यस्तै लत लागेको हुनसक्छ । त्यसकारण अभिभावकले उनीहरूको निरन्तर निगरानी गरिरहनुपर्छ । समस्या छ कि भनेर सोध्नुपर्छ, बुझ्नुपर्छ । नत्र पछि ठूलो दुर्घटना आउन सक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप

छुटाउनुभयो कि ?