सोमबार, ०८ असोज २०८०
ताजा लोकप्रिय

बालनिबन्ध : समस्या र समाधान

मंगलबार, ०९ जेठ २०८०, १२ : ००
मंगलबार, ०९ जेठ २०८०

संसारमा समस्या पनि छ र समाधान पनि छ । समस्या र समाधान भएकैले त्यसको साधन पनि छ । समाधान नहुने, गर्न नसकिने समस्या नै हुँदैन । समाधान भएपछि त्यसको साधन नहुने कुरा त झनै भएन । यसको अर्थ हो समस्याभित्रै समाधान पनि छ र समाधानका साधन पनि छ । समस्या जहाँ पनि छ, हुन्छ । तपाईँभित्र पनि छ, अरूहरूभित्र पनि छ । सारमा यति बुझौँ तपाईँ हामी सबैभित्र छ, सबैसित छ । अनि समाधानको सूत्र र साधन पनि तपाईँ हामीभित्रै छ । 

समस्या एकातिर समाधानका साधन अर्कोतिर भन्ने नै हुँदैन । यो प्राकृतिक न्याय विरुद्धको कुरा हो । यसको अर्थ हो साधन खोज्न कतै जानुपर्दैन, मात्र त्यसलाई खोज्ने र चिन्ने प्रयास गर्नुपर्छ स्वतः देखिन्छ । मानिलिनुस् ऊ तपाईँको बाटो हेरेर बसेको छ, कुरेर बसेको छ तर ढोकामा तपाईँकै अज्ञानताको भोटे ताल्चा झुन्डिएको छ । ताल्चा खोल्नुस् आफैँ हाजिर हुन पुग्छ ।  

साधनको सोझो अर्थ हो औजार वा माध्यम । यस अर्थमा यहाँ साधन भन्नाले समस्या समाधान गर्ने औजार वा माध्यमलाई लिनुपर्ने हुन्छ । जुन साधनबाट, माध्यमबाट समस्या समाधान हुन्छ, गर्न सकिन्छ त्यही नै साधन हो । समाधानको मूल आधार पनि यही हो, मूल पनि यही हो । व्याकरणशास्त्रीहरू यसलाई करण भन्ने गर्छन् । यो भनेको जसद्वारा काम गरिन्छ, काम सम्पन्न हुन्छ त्यही करण हो । यसैलाई बोलीचालीको भाषामा हामी साधन भन्ने गर्छौँ । 

मानिलिनुस् तपाईँ केही लेख्दै हुनुहुन्छ । यतिबेला कलम लेखाइको साधन हो । कुनै काम गर्दै हुनुहुन्छ हात साधन हो । कतै जाँदै हुनुहुन्छ गोडा साधन हो, कुनै भारी बोक्दै हुनुहुन्छ शरीर साधन हो । समस्यामा पनि यही नियम लागू हुन्छ । जसले समस्या समाधान गर्छ यति बेला त्यही समस्या समाधान गर्ने चीज नै साधन बन्न पुगेको हुन्छ ।  

कतिलाई लाग्न सक्छ साधनको कुनै रूप पनि छ कि भन्ने तर त्यस्तो हुँदैन । खासमा साधनको आफ्नै रूप भन्नै नै हुँदैन । यसको यस्तै रूप हुन्छ भन्ने पनि छैन । जतिबेला जस्तो रूपमा प्रकट हुनुपर्छ त्यस्तै रूपमा प्रकट भइदिन्छ । जतिबेला खाना पकाउँदै हुनुहुन्छ त्यतिबेला आगोको रूपमा प्रकट भइदिन्छ । खाना पस्कने बेला डाडु, पन्यौ बनेर आउँछ होला । खाना खानेबेला हात चाहिन्छ होला । होइन तपाईँ आधुनिक हुनुहुन्छ, आधुनिकताको हावाले छोएको छ भने काँटाचम्चा चाहिएला । 

केही हेर्न खोज्दै हुनुहुन्छ भने आँखा चाहियो । सुन्नका लागि कान छाहियो, सुघ्नका लागि नाक चाहियो, छोइएको अनुभव गर्न छाला चाहियो, खाएको चीजको स्वाद लिन जिभ्रो चाहियो । यस्तोमा तिनै अङ्गहरू नै साधन बन्न पुगिरहेका हुन्छन् । खेती किसानीमा कुट्टो, कोतालो, हलो, जुवा, अन्ततः तपाईँको हात, गोडा, शरीर समग्रमा तपाईँ आफैँ पनि साधन हुन पुग्नुहुन्छ । अन्न उमार्नका लागि हावा, पानी, माटोले साधनको भूमिका निर्वाह गरेका हुन्छन् । 

साधनको स्थायीरूप नभए पनि तह भने हुन्छ । तपाईँ यसलाई मोटामोटीरूपमा चार किसिमले हेर्न सक्नुहुन्छ । जसको लागि काम गर्नुपर्ने हो, ऊ आफैँ एउटा तह हो । यस अर्थमा तपाईँ जुन समस्या हल गर्न खोज्दै हुनुहुन्छ त्यो समस्या नै साधनको एउटा रूप हो । किनभने समस्या नै समाधानको साधन बनेर आएको हुन्छ । अर्को रूप भनेको समस्या नै हो, उसैबाट निसृत हुन्छ, उसैले नै बोकेर आएको हुन्छ । साधन आफैँ एउटा तह हो भने समाधान र उपलब्धि बाँकी दुई तह हुन् । यी सबै एकअर्कोमा जोडिएका छन्, परस्पर निर्भर भएर रहेका हुन्छन् । 

मानिलिनुस् तपाईँलाई भोक लाग्यो । यहाँ भोक तपाईँको समस्या हो, भोक समाधान गर्ने चीज साधन हो । भोक समाधान कुन चीजले गर्छ ? अन्न, धन पैसा, रोजगारी यस्तै होइन त ? हो, यी सबै साधन हुन पुगे । भोक समाधान आफैँमा एउटा चरण हो भने खाएर अघाउँदा जुन तृप्ति मिल्छ त्यो अन्तिम चरण हो । आउनुस् यसलाई अन्य उदाहरणबाट थप बुझ्ने प्रयास गरौँ । 

मानौँ केही गर्न खोज्दैहुनुहुन्छ तर पैसा छैन । यहाँ पैसाको अभाव समस्या भयो । पैसा कमाउने तरिका नोकरी, खेतीकिसानी, व्यपार, सरसापटी, ऐँचोपैँचो साधन भए । पैसा कमाइयो, कुनै तरिकाले पैसा जुट्यो, जुटाइयो यो समाधान हो । पैसा जुटेपछि तपाईँले गर्न खोज्नुभएको काम सम्पन्न भयो, यही नै समाधान हो र काम सम्पन्न हुँदा जुन आनन्द मिल्छ त्यही नै उपलब्धि हो ।   

यति तपाईँ विद्यार्थी हुनुहुन्छ । पाठ्यपुस्तक छैन । यो समस्या हो, पुस्तक साधन हो, पुस्तक प्राप्ति समाधान हो, भने पुस्तक प्राप्त भएपछि तपाईँले पाउने पढ्ने अवसर उपलब्धि हो । यी केही उदाहरण हुन् । खोज्दै जानुभयो, हेदैँ जानुभयो, केलाउँदै जानुभयो भने हरेक क्षेत्रमा यही नियमले काम गरेको पाउनु हुन्छ । सारमा यति बुझौँ समस्या, त्यसको समाधान र साधन हामीभित्रै छ । मात्र खोज्न जान्नुपर्छ स्वतः देखापर्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप