ऊर्जा ध्यान के हो?
यो ब्रह्माण्ड दुई तत्त्वको संयोजनबाट बनेको छ। एउटा स्थिर छ भने अर्को चलायमान छ। स्थिर तत्त्व भएकै कारणले चलायमान तत्त्व अस्तित्वमा आउँछ, किनकि स्थिर तत्त्वको निर्देशनमा मात्र चलायमान तत्वले कार्य गर्दछ। स्थिर तत्त्व वा जान्नेवाला अथवा चेतना मात्र एक सत्य हो। चेतना नै क्रियमाण बन्दा ऊर्जा बन्छ।
चुपचाप शरीर र मनका क्रियालाई जस्ताको तस्तै छाडेर बस्दा शान्तिको अनुभूति हुन्छ। जति धेरै शान्ति त्यति धेरै नवीनतम र सिर्जनात्मक विचारहरू प्रकट हुन्छन्। यो हाम्रो जीवनको अनुभव पनि हो। पृथ्वी शान्त र धैर्यवान् छ त्यसैले जीवन छ। आकाश शान्त मौन छ, त्यसैले तारा, नक्षत्र, चन्द्र सूर्य सम्पूर्ण ऊर्जाको केन्द्रहरू यहाँ छन् । त्यसैगरी हामी पनि शान्त र मौन रहन सकेको खण्डमा आकाश जस्तै बन्ने क्षमता राख्छौँ। आफ्नो ऊर्जाको केन्द्रहरूको पहिचान गर्दै आफ्नो परम शान्ति परमानन्दमा स्थित बनाउँदै जीवनमा पूर्णताको बोधतर्फ लैजाने ध्यान विधिलाई ऊर्जा ध्यान विधि भनिन्छ।
जीवन विज्ञानका सम्पूर्ण ध्यान विधिहरू ऊर्जा ध्यान विधिमा आधारित छन्। आफ्नो जीवनको पूर्णता अनुभूति गरिसक्नु भएका श्रद्धेय सद्गुरुदेवहरूद्वारा प्रदान गरिएका विधिहरू भएको हुनाले यी विधिहरूको प्रभावकारिता व्यक्तिले तुरुन्तै महसुस गर्दछ। हाम्रो मन सदा द्वेतमा रहन्छ र भिडबाट सञ्चालित हुन्छ। संसारतिर फर्किएका इन्द्रियहरूका कारण प्रतिस्पर्धा जन्मिन्छ। त्यही प्रतिस्पर्धासँग असीमित इच्छा पनि जन्मिन्छन्। असीमित इच्छा सँग काम, क्रोध, लोभ, मोहपनि सतहमा देखिन्छन्, अहंकारको उदय हुन थाल्छ।
शरीर चल्दा ऊर्जाको क्षय हुन्छ भने मन चल्दा शरीरको दाँजोमा हजारौँ गुणा ऊर्जाको व्यय हुन्छ। त्यसैले त शरीर कमजोर हुँदा दु:खी नबनेको व्यक्ति मन कमजोर हुँदा दु:खी मात्र नभई विक्षिप्त नै बन्छ। थाहा पाई पाई ऊर्जालाई व्यय गरेको खण्डमा भने ऊर्जा वृद्धि हुन्छ किनकि त्यो थाहा पाउने तत्त्व स्थिर छ। जति धेरै स्थिरता आफूभित्र महसुस गरिन्छ, त्यति धेरै उत्कृष्ट ऊर्जा बन्छ, जुन शरीर, मन र भावद्वारा अनुभूति गर्न सकिन्छ। पूर्ण स्वस्थ शरीर, सिर्जनात्मक र उत्थानका विचारहरू, निरन्तर विवेक, प्रज्ञा र प्रेम द्वारा परितोषित हृदय आदि यसका उदाहरण हुन्।
हामी भित्र कुनै किसिमको विचार नआई हामी त्यसलाई व्यक्त गर्दैनौँ। भोकको अनुभव पहिला मनमा उत्पन्न हुन्छ त्यसपछि मात्र हामी खाना खान्छौँ। कुनै स्थानमा जाने विचार योजना मनमा बुनेपछि मात्र हामी त्यो स्थानमा जान्छौं। अर्थात् पहिला मनमा बीजारोपण अनि त्यसपछि मात्र त्यसलाई हामी मूर्तरूप दिन्छौँ। त्यसैले यहाँ कसैले कसैको भाग्य निर्माण गर्ने क्षमता राख्दैन। आज म जे छु, त्यो मेरै कारणले छु । गुणस्तरीय बीज रोपेर मात्र हुँदैन, त्यसलाई पर्याप्त सूर्यको ताप, मल खाद, खुकुलोपन अर्थात् पर्याप्त बायुको प्रवाह आवश्यक हुन्छ। त्यसै गरी हामी भित्र रहेको चेतनालाई विभिन्न किसिमका सद्गुणहरूले सिञ्चन गर्दै लैजानु पर्छ। त्यसपछि मात्र चेतना उच्चतम विन्दुमा उपलब्ध हुन्छ। परम चेतनासँग लयबद्ध बन्छ। हामी भित्रका प्रमुख सात ऊर्जा केन्द्रहरूको माध्यमद्वारा आफ्ना सद्गुणहरूलाई वृद्धि गर्न सक्छौँ।
स्वस्थ हुने, महाखुसी बन्ने, अभयताले भरिँदै आफूभित्रको प्रेमज्ञान, ध्यानलाई उच्चतम अवस्थामा स्थित गराउँदै परम आनन्दमा लीन हुनको निमित्त आवश्यक पर्ने ऊर्जाको अनन्त क्षमता हामी भित्र छ। बीज अनुरूप उत्पादकत्व प्राप्त हुने हुँदा हाम्रा मनका सात खण्डमा हामी त्यही अनुरूप कार्य गर्न सक्छौँ। विगत, वर्तमान र भविष्य सबै हामी भित्र नै छन्। तर प्रवाह वर्तमानमा छ: शान्ति, आनन्द, प्रेम, गर्छु, सक्छु, सबै यही क्षणमा हुन्छ। त्यसैले वर्तमान क्षणमा स्थित रहनु जीवनको समाधान हो। मनमा सुविचार छन् भने कर्म सत्कर्म बन्छ, सत्कर्मबाट ऊर्जाको वृद्धि हुन्छ, अरूको हितको निमित्त व्यय गरिएको ऊर्जाले अतिरिक्त ऊर्जालाई आकर्षित गर्दछ किनकि यो ब्रह्माण्ड दिनमा जोड गर्दछ। त्यसैले त शान्त छ। हामीले श्वास छोड्दा ब्रह्माण्डमा छोड्छौँ, ब्रह्माण्ड विराट छ, त्यसैले शान्ति अनि खालीपनको महसुस गर्छौँ। आफूभित्रको परम रहस्यलाई बोध गरिसक्नुभएका श्रद्धेय सद्गुरुदेवबाट प्रतिपादित ऊर्जा ध्यान विधि ऊर्जाको रहस्यलाई उजागर गर्ने प्रकारले निर्मित छन्। त्यसैले त एक पटक जीवन विज्ञानका विधि प्रयोग गर्ने व्यक्तिले तत्कालै लाभको महसुस गर्दछन्। निरन्तर अभ्यास अनि साधना पश्चात् व्यक्ति पूर्णतातिर उन्मुख भएको अनुभूति गर्न सफल हुन्छ।
मेरो जीवन कस्तो बनाउने त्यसको साँचो मेरो आफ्नै हातमा छ। आजको निरन्तरता भोलि हो। आजलाई खुसी, प्रेम, आनन्दले भर्न सकेको खण्डमा भोलि त्यसको कोपिला पुष्पमा रूपान्तरण हुन्छ। किनकि ईश्वर परम दयालु छ। मैले जे खोजेको छु त्यसलाई नै उसले तथास्तु भन्छ अर्थात् त्यो विचार अनि भावबाट अभिव्यक्त हुन्छ। यदि त्यो भाव र विचारलाई आचरणद्वारा उत्कृष्ट बनाउन सक्यौँ भने जीवन पूर्ण बन्छ।
ऊर्जा ध्यान आफूलाई शून्य बनाउँदै त्यो शून्यतामा रोजाइको बीजारोपण बाट प्रारम्भ हुन्छ। विचार अनुरूपको भावलाई आचरणमा ल्याउँदै त्यसमै स्थित रहने विधि हो। निरन्तर भावमा रहँदा व्यक्ति पूर्णतातिर उन्मुख हुन्छ। कतिपय शोधपत्रहरूको अध्ययन गर्दै गयौँ भने हामी प्रशस्त प्रमाणहरू भेट्छौँ। भाव स्थिर तत्त्वबाट मात्रै सम्भव हुन्छ भने स्थिरताबाट नै शान्ति प्राप्त हुन्छ अनि मात्रै ऊर्जाका केन्द्रहरू सक्रिय हुँदै जान्छन्। फलस्वरूप त्यो असली "म" मा लयबद्ध बन्ने सम्भावना साकार बन्छ।
ऊर्जा ध्यानको प्रयोग गर्दै पूर्ण मानवमा स्थित बन्ने सौभाग्य सबैलाई प्राप्त होस्। अनुग्रहित भाव!!