नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक सकिन कम्तीमा दुई साता लाग्ने
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको बयान र थुनछेकमै कम्तीमा दुई साता लाग्ने भएको छ । चारवटा छुट्टाछुट्टै मुद्दा र ३० जना प्रतिवादी भएको कारण थुनछेक प्रयोजनकै लागि कम्तीमा दुई साता लाग्ने भएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सह न्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहस सकिनै करिब दुई साता लाग्नेछ ।
थुनछेकका क्रममा ५ देखि ७ जना सरकारी वकिल र प्रतिवादीका तर्फबाट करिब ५० जना अधिवक्ताहरूले बहस गर्ने अनुमान गरिएको छ । यो सबै प्रक्रिया पूरा हुन करिब दुई साता लाग्ने सहन्यायाधिवक्ता नेउपानेले रातोपाटीलाई बताए ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुखसमेत रहेका सह न्यायाधिवक्ता नेउपानेका अनुसार शुक्रबार गोला प्रणालीबाट थुनछेक प्रयोजनका लागि पेसी तोकिने छ । त्यसपछि पेसी तोकिएका न्यायाधीशकै सामुन्ने प्रतिवादीहरूको बयान लिइने छ ।
न्यायाधीशका सामुन्ने अदालतका कर्मचारीले बयान लिई उक्त बयानलाई प्रमाणित गर्नुपर्ने र पक्राउ परेका प्रत्येक अभियुक्तको छुट्टाछुट्टै बयान लिइने छ ।
अदालतले आवश्यक देखेमा एकैपटक दुईजना प्रतिवादीको बयान पनि लिन सक्नेछ । तर हाइप्रोफाइल व्यक्तिहरूसमेत जोडिएको कारण सम्भवतः एकपटकमा एकजनाको मात्रै बयान लिइने छ । यसरी हेर्दा शुक्रबार एकजनाको मात्रै बयान लिन सक्ने सम्भावना रहन्छ । शुक्रबार तीन बजेसम्म मात्रै कार्यालय समय रहेको कारण शुक्रबार एकजनाको बयान सकिन सक्ने सम्भावना रहन्छ । दुईजना कर्मचारी वा इजलास अधिकृतले बयान लिएमा एकै दिन दुई जनाको बयान लिन सकिने छ ।
आइतबारबाट खाजा समय अगाडि एक जना र खाजा समयपछाडि एकजना प्रतिवादीको बयान लिन सकियो भने आगामी सातासम्म पक्राउ परेका १६ जना प्रतिवादीको बयान लिन सकिने सम्भावना छ । जेठ १९ गतेसम्म पक्राउ परेका १६ जना प्रतिवादीकै बयान लिन सकियो भने जेठ २१ गतेबाट थुनछेक बहस सुरु हुनेछ ।
सरकारवादी मुद्दा र चारवटा फरक–फरक कसुर लगाइएको तथा ३० जना प्रतिवादी रहेको कारण यो मुद्दामा सरकारी वकिलको तर्फबाट प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै बहस गर्नेछन् ।
यो मुद्दामा बहसका लागि आफूसमेत उपस्थित हुने सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले रातोपाटीलाई बताए । सरकारी वकिलले बढीमा तीन दिनमा प्रतिवादीहरुलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने आधार र कारण तथा प्रमाणहरू पेस गर्नेछन् ।
सरकारी वकिलले बहस सकेपछि प्रतिवादीका तर्फबाट उपस्थित भएका अधिवक्ताहरूले बहस गर्नेछन् । प्रतिवादीलाई थुनामुक्त गरी साधारण तारेख वा धरौटीमा राखी मुद्दाको पुर्पक्ष गर्न माग राख्दै प्रतिवादीका अधिवक्ताहरूको बहस हुनेछ । प्रतिवादीका अधिवक्ताहरूले गरेको बहसपछि जवाफी बहस गर्न आवश्यक देखिएमा सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ ।
दुवै पक्षको बहस सकिएपछि इजलासले प्रतिवादीका सम्बन्धमा अदालतमा पेस गरिएका प्रमाण, उनीहरूको बयान र तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको अवस्थामा उनीहरूलाई थुनामा पठाउन सक्नेछन् ।
अपराधको मात्रा कम देखिएको वा तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्ने लागेमा इजलासले केही प्रतिवादीलाई साधारण तारेखमा पनि राख्न सक्नेछ भने भागेर अन्यत्र जान सक्ने कतै सम्भावना नदेखेको अवस्थामा धरौटी लिएर पनि तारेखमा बस्ने आदेश दिन सक्नेछ ।
सरकारी वकिल कार्यालयले अदालतमा पेस गरेको अभियोगपत्रमा प्रतिवादीहरूको पासपोर्ट रोक्कासम्मको जिकिर लिएको कारण अदालतले धरौटी वा साधारण तारेखमा छोड्न आदेश दिएमा ती प्रतिवादीको हकमा पासपोर्ट रोक्का पनि राख्ने आदेश दिन सक्नेछ ।
बयानमा पत्रकारलाई प्रवेश निषेध
शुक्रबारबाट सुरु हुने प्रतिवादीहरूको बयानका क्रममा पत्रकार वा अन्य सरोकारवालालाई प्रवेश दिइने छैन ।
जिल्ला अदालतको इजलास सानो हुने, प्रतिवादीको सङ्ख्या धेरै हुने र भीडभाड हुने कारणले बयान सकिएपछि हुने थुनछेक बहसमा पनि पत्रकारलाई प्रवेश रोक्ने सम्भावना रहन्छ ।
सुरक्षा वा अन्य कारणबाट इजलासले उक्त मुद्दा बन्द इजलासमा गर्न आवश्यक देखेको अवस्थामा पूरै मुद्दालाई बन्द इजलासबाट सुनुवाइ गर्ने आदेश समेत दिन सक्नेछ । तर सामान्यतः बलात्कार, महिलाको विषय, पारिवारिक मामिला वा व्यक्तिको गोपनीयता भङ्ग हुने वा गोपनीयतासँग सम्बन्धित विषय, सीमा विवाद लगायतका केही मुद्दा बाहेक यस्ता मुद्दा बन्द इजलासमा सुनुवाइ गर्ने गरिएको छैन ।
बन्द इजलासमा सुनुवाइ नहुने मुद्दाको हकमा पत्रकार वा सरोकारवालाले इजलासको अनुमतिबाट प्रवेश पाउन सक्नेछन् ।