बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
विदेश भ्रमण

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी पूरा, दिल्ली दूतावासलाई चटारो

नेपाल एयरलाइन्समार्फत बुधबार साढे १ बजे दिल्ली उड्ने कार्यक्रम तय
मङ्गलबार, १६ जेठ २०८०, २२ : ०१
मङ्गलबार, १६ जेठ २०८०

नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छिमेकी देश भारत भ्रमणको तयारी पूरा भएको छ । प्रधानमन्त्रीको बुधबारदेखि हुने चार दिने भारत भ्रमणको भारतीय र नेपाली पक्ष दुबैबाट गर्नुपर्ने आवश्यक तयारी लगभग पूरा भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ । 

प्रधानमन्त्रीको भारत भ्रमण चुस्त दुरुस्त बनाउन कुनै कसर नराखिएको नेपाली दूतावासको भनाइ छ । दूतावासका अनुसार बुधबार अपराह्न प्रधानमन्त्री प्रचण्ड सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । 

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने प्रचण्ड स्थानीय समयअनुसार २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तय भएको छ । प्रधानमन्त्रीको दिल्ली यात्राका लागि नेपाल एयरलाइन्सको विमान प्रयोग गर्न लागिएको हो । 

प्रधानमन्त्री प्रचण्डको उच्चस्तरीय भेटवार्ता भने बिहीबारदेखि मात्रै सुरु हुने नयाँ दिल्लीस्थित नेपाली राजदूत डा शंकर शर्माले जानकारी दिए । सो दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशसचिव एस जयशंकरलगायतसँग भेटवार्ता हुने तय भएको छ । प्रधानमन्त्रीलाई हैदरावाद हाउसमा विशेष समारोहका बीच प्रधानमन्त्री मोदीले स्वागत गर्ने कार्यक्रम रहेको छ । यस्तै उनले भारतीय बुद्धिजीवी र दलका नेतासँग पनि भेटवार्ता गर्नेछन् । 

त्यसअघि बुधबार भने प्रधानमन्त्री नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । यस्तै दूतावासले प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् । यस्तै त्यहाँ सम्बोधन पनि गर्ने कार्यक्रम रहेको छ ।

ऊर्जा व्यापार प्राथमिकतामा

प्रधानमन्त्रीको यस पटकको भारत भ्रमण ऊर्जा  व्यापारका विषयमा केन्द्रित हुने भएको छ । सँगसँगै सीमा सुरक्षा र अन्तरदेशीय व्यापारका विषय पनि उठाइने छ । 

जसअनुसार तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) गर्ने सरकारले लगानी बोर्डमार्फत निर्णय  गरिसकेको छ ।  सोही निर्णयअनुसार प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा ६६९ मेगावाटको आयोजनाको पीडीए गर्ने सम्झौतालाई कार्यान्वयन गर्नेछन् । 

यस्तै ४८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत आयोजनालाई पनि प्राथमिकतामा राखिएको छ । 

यस्तै प्रशारणलाइन विस्तार, नेपालको विद्युत् बजार बंगलादेशसम्मलगायतका विषयमा पनि छलफल र आवश्यक समझदारी गर्ने तयारी छ । 

यसैगरी भारतदेखि नेपालसम्म पेट्रोलियम पाइपलाइन विस्तार, व्यापार अभिवृद्धि जस्ता विषय पनि प्रचण्डको भारत भ्रमणका क्रममा उठाइने छ । 

जसअनुसार नेपालमा उत्पादित कृषि उत्पादनलाई भारतीय बजारसम्म पहुँच स्थापना गर्ने विषयमा भ्रमणमा प्रमुखताका साथ उठाउने प्रचण्डको तयारी छ । 

मंगलबार प्रचण्डको भारत भ्रमणबारे जानकारी दिन काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री एपपी साउदले  सिमरा, महेन्द्रनगर, नेपालगन्ज, भैरहवा नाकाको स्तरोन्नति गर्न भारतसँग सहयोग माग्ने समेत बताएका थिए । 

रक्सौल—वीरगञ्ज—सिमरा नाका धेरै व्यस्त हुने भएकाले यस मार्गको विकल्पमा अर्को मार्गसहितको नयाँ नाकाका बारेमा भारत सरकारसँग सम्भाव्य स्थानहरूको बारेमा छलफल गर्ने उनको भनाइ थियो । 

नेपाल–भारतका बीचमा धेरै मुद्दा भए पनि सिमानाको विषयलाई लिएर भएका घटनाका बारेमा पनि प्रधानमन्त्रीले समकक्षी मोदीसँग छलफल गर्ने साउदको भनाइ थियो । साथसाथै खुला सिमाना र आतङ्कवाद न्यूनीकरणका विषयमा  पनि प्रधानमन्त्रीस्तरमा विचार विमर्श हुनेछ । 

प्रधानमन्त्रीको भ्रमणमा परराष्ट्रमन्त्री साउदसहित अर्थमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल सहभागी बन्नेछन् ।  

यस्तै नेपाल सरकारकारका सचिवहरू, व्यापारिक क्षेत्र, सञ्चारकर्मीलगायत भ्रमण टोलीमा छन् । 

चटारोका बीच दिल्ली दूतावास चिटिक्क

प्रधानमन्त्रीको भारत भ्रमणले दूतावासका कर्मचारीलाई चटारो छ । भ्रमण टोलीको व्यवस्थापनदेखि अन्य आवश्यक तयारीले रातिसम्म पनि खटिइएको दूतावासका एक अधिकारीले बताए । 

ती अधिकारीका अनुसार कतिपय प्राविधिक विषय अझै मिलाउनुपर्ने भएकाले व्यस्तता बढेको छ ।  प्रधानमन्त्री आउने भएपछि बाह्रखम्बास्थित दूतावासको भित्री भवनहरू झिलिमिली बनाइएको छ । 

प्रधानमन्त्रीको रूपमा चौथो पटक भारत भ्रमणमा आउने प्रचण्ड मध्यप्रदेशस्थित उज्जैनको भ्रमणमा समेत जाने कार्यक्रम छ । प्रचण्डको पछिल्लो भ्रमणले सदियौँदेखिको नेपाल भारतबीचको बहुआयामिक सम्बन्ध थप प्रगाढ बन्ने विश्वास लिइएको छ । 

गत पुस १० मा प्रधानमन्त्री बनेका प्रचण्डले यसअघि नै भारतको भ्रमण गर्ने भनिए पनि गठबन्धनमा खटपट, उपनिर्वाचनलगायतका कारणले पर धकेलिँदै आएको थियो । प्रधानमन्त्री प्रचण्ड आफ्नो ४ दिने भ्रमण सकेर शनिबार फिर्ता हुनेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप