टीकापुर मुद्दामा काखापाखा : रेशमसँग भेट्न चाहेनन् कैदीबन्दीले
धनगढी । मुद्दाको प्रकृति समान भए पनि कसैलाई कैद माफी, कसैलाई जेलको बासमा निरन्तरता भएपछि टीकापुर घटनाको मुद्दा खेपिरहेका बन्दीहरुबीच तिक्तता बढेको छ ।
एउटै मुद्दामा ३ तहको अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरीलाई गणतन्त्र दिवसको अवसरमा कैद मुक्त गरियो । तर सोही मुद्दामा जेल जीवन खेपिरहेका अन्य भने जेलमै छन् । जसले गर्दा एउटै मुद्दामा दोषी ठहर भएका कोही रिहा, कोहीलाई जेल जीवनकै निरन्तरता हुँदा विभेदपूर्ण व्यवहार देखिएको हो ।
टीकापुर घटना मुद्दामा दोषी ठहर भएर टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी अहिले पनि कैलाली कारागारमा छन् । त्यस्तै पोखरास्थित बाल सुधारगृहमा जानकी गाउँपालिका–७ लट्कनियाका श्रवण चौधरी छन् । उनीहरू टीकापुर घटना मुद्दामा ७ वर्ष ९ महिनादेखि जेल जीवन भोग्दै आएका हुन् ।
आममाफीपछि जेलमुक्त भएका रेशम चौधरीले मंगलबार नै कैलाली कारागारमा रहेका ३ जना बन्दीहरुलाई भेट्ने कार्यक्रम तय गरेका थिए । तर न्यायमा पनि पक्षपात गरिएको भन्दै उनीहरू रुष्ट बनेका छन् । उनीहरूले कैलाली कारागारमा आफ्नो परिवारबाहेक कसैलाई नभेट्ने निवेदन समेत दिएका छन् ।
रेशम आफू मात्रै कैद मुक्त भएको तर आफूहरूलाई कैदमुक्त गराउन कुनै पहल नगरेको उनीहरूको गुनासो छ । प्रदीपकी दिदी रमिता चौधरीले रेशमसँगै आफ्नो भाइ पनि कैदमुक्त हुने कुरा सुनेको बताउँछिन् ।
कैलाली कारागार प्रमुख पदमराज तिमिल्सेनाले रातोपाटीसँग भने, ‘उहाँहरूले मकहाँ कसैसँग भेट नगराउनुस् भनेर हस्तलिखित निवेदन पेस गर्नुभएको छ । उहाँहरूको हितको सुरक्षा गर्नु मेरो जिम्मेवारी हो ।’
टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका कैदीबन्दीसँग भेटघाटका लागि रेशम, उनकी पत्नी तथा संघीय सरकारकी मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, थरुहट नेता लक्ष्मण चौधरीलगायतले प्रयत्न गरेका थिए । तर कैदीबन्दीले नचाहेपछि उनीहरूले भेट गर्न पाएनन् ।
रेशम आफू मात्रै कैद मुक्त भएको तर आफूहरूलाई कैदमुक्त गराउन कुनै पहल नगरेको उनीहरूको गुनासो छ । प्रदीपकी दिदी रमिता चौधरीले रेशमसँगै आफ्नो भाइ पनि कैदमुक्त हुने कुरा सुनेको बताउँछिन् । तर एउटै मुद्दामा कोही छुट्ने, कोही नछुट्ने भएपछि साह्रै नराम्रो लागेको उनले बताइन् । रेशम चौधरी आफूहरूको नेता भए पनि व्यक्तिगत स्वार्थमा लागेको उनको आरोप छ ।
संविधान लेखनका क्रममा कैलालीमा दुई परस्पर विरोधी आन्दोलन भयो । साबिकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई नै प्रदेश बनाउनुपर्ने माग राख्दै अखण्ड सुदूरपश्चिम र पश्चिम कञ्चनपुरदेखि नवलपरासीसम्मको थारु बाहुल्य भूगोललाई थरुहट प्रदेश बनाउनुपर्ने माग राख्दै थरुहट आन्दोलन भयो ।
यसैबीच २०७२ भदौ ७ गते एक नाबालकसहित ८ जनाको ज्यान जाने गरी टीकापुर घटना घट्यो । त्यसको भोलिपल्ट कर्फ्युकाबीच थारु समुदायका ८३ घर टहरा, पसल, एफएममा आगजनी भयो ।
सोही घटना मुद्दामा प्रहरीले लक्ष्मण थारु, रेशम चौधरी, लाहुराम चौधरीसहित २७ जनालाई पक्राउ गरी कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको थियो ।
२७ जनामध्ये जिल्ला अदालत कैलालीबाट विश्राम कुश्मी, रामनरेश चौधरी, नुरुल जागा सफाइ पाएका थिए । उच्च अदालत दिपायलबाट विश्राम चौधरीले सफाइ पाए भने सर्वोच्च अदालतबाट सीताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाए ।
त्यस्तै जिल्ला अदालतबाट ३ वर्ष कैद भुक्तान गरी चुन्नीराम चौधरी, रामकुमार कठरिया, लक्ष्मण थारु, लाहुराम चौधरी जेल मुक्त भएका थिए । थारु कल्याणकारिणी सभा कैलालीका सभापति समेत रहेका लाहुराम चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु भइसकेको छ ।
सोही मुद्दामा राजेश चौधरी, बृजमोहन चौधरी, सुन्दर कठरिया, राजकुमार कठरिया, रामप्रसाद चौधरी, प्रेमबहादुर चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरीलाई ५ वर्ष कैद फैसला भयो ।
यस्तै, संगम भन्ने सन्तोष चौधरी, दिलबहादुर चौधरी, जीतबहादुर चौधरीलाई १० वर्ष कैद सजाय भयो । रेशम चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, हरिनारायण चौधरी, श्रवण चौधरी र करन चौधरीलाई जनही २०/२० वर्ष कैद सजाय भएको थियो । हाल रेशम चौधरी आममाफी पाइ जेलमुक्त भए पनि सोही कसुरमा उस्तै सजाय पाएका अन्य भने जेलमै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखा–५ मा तीन निर्वाचन, तीनै पार्टी निर्वाचित
-
बजेट अभावमा कर्णालीका खानेपानी योजना रोकिँदैनन् : मन्त्री यादव
-
शिक्षक दरबन्दी पुनरावलोकन कार्यदलले माग्यो सुझाव
-
रिलायन्स स्पिनिङ मिलले पाएन अन्तरिम आदेश, प्राधिकरणलाई बत्ती काट्ने बाटो खुल्यो
-
टिकट काटेर धरहरा चढ्नेको सङ्ख्या ६ हजार नाघ्यो
-
दोलखाको गौरिशंकर गाउँपालिकामा माओवादीको अग्रता