शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज सुर्तीजन्य पदार्थरहित दिवस

बुधबार, १७ जेठ २०८०, १२ : २२
बुधबार, १७ जेठ २०८०

काठमाडौँ । ‘खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’ भन्ने  नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी  आज सुर्तीजन्य पदार्थरहित दिवस मनाईँदै छ । यसै अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले भिडियो सन्देश जारी गर्दै सुर्तीजन्य सेवन त्यागी स्वस्थ जीवनयापन गर्न सबैमा अनुरोध गरेका छन् । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी दीर्घरोग र मधुमेहजस्ता नसर्ने रोग निम्त्याउने गरेको उनले बताए ।

उनले धुमपान गर्दा आफ्नो स्वास्थ्यमात्र नभई नजिकमा रहेका अन्य व्यक्तिको स्वास्थ्यमा पनि उत्तिकै असर पुग्ने सन्देशमा उल्लेख गरिएको छ । उनले सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमाम सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐन, कानुन पारित भई लागू भइसकेको जानकारी गराए ।

मन्त्री बस्नेतले नेपालले सुर्तीजन्य पदार्थको भागमा ९० प्रतिशत चेतावनीमूलक सन्देश अनिवार्य व्यवस्था गरेको उल्लेख गर्दै सार्वजनिकस्थलमा धुमपान निषेध र सुर्तीजन्य पदार्थको विज्ञापन प्रवर्द्धन पनि निषेध गरिएको बताए । उनले भने, “सुर्तीजन्य पदार्थको नयाँ सेवनकर्ताको दरमा कमी ल्याउन र अम्मलीको लत छुटाउन विभिन्न लक्षित कार्यक्रम सञ्चालन भइरहेको छ । ” 

मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थको सेवनको लत छुटाउने कार्यक्रमलाई पहुँचयोग्य बनाउन, सुर्तीजन्य पदार्थमा कर बढाउन र उक्त सङ्कलित करबाट आर्थिकरूपमा विपन्न्न नागरिकको उपचार खर्च गर्ने कार्य प्रभावकारीरूपमा अगाडि बढाउन आवश्यक रहेको भनाइ राखे । सन्देशमा उनले सुर्तीजन्य पदार्थले मानव स्वास्थ्यसँगै खेतीयोग्य जमिन, वातावरणमा प्रभाव पार्ने भन्दै सुर्तीजन्य पदार्थको खेती उत्पादन र प्रयोगबाट निस्कने फोहरले जल, जमिन र वायुमा दूषित भएको बताए । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनको कारण विश्वभर ८० लाख मानिसको मृत्यु हुने गरेको छ । तीमध्ये ७० लाखभन्दा बढीको मृत्यु प्रत्यक्ष सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने गरेको छ भने धुमपान नगर्ने तर अन्य व्यक्तिले गरेको धुमपानबाट उत्पन्न धुवाँका कारण करिब १२ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । अभिभावकले धुमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यमा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटुरोग, क्यान्सरलगायतका स्वास्थ्य जोखिम बढाउँछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै गरेको सर्वेक्षणमा नेपालमा २८ दशमलव नौ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पाइएको छ । तीमध्ये ४८ दशमलव तीन प्रतिशत पुरुष र ११ दशमलव छ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार को सन् २०२२ को तथ्याङ्कानुसार विश्वमा २२ दशमलव तीन प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन् । सुर्तीजन्य पदार्थको प्रयोग महिलाभन्दा पुरुषमा बढी हुने गरेको छ । महिलाको सात दशमलव आठ प्रतिशत र पुरुषमा ३६ दशमलव सात प्रतिशत रहेको छ । मन्त्रालयले जारी गरेको सूचनामा दिगो विकास लक्ष्य प्राप्त गर्न नेपालको प्रतिबद्धता जनाएअनुरुप सुर्तीजन्य पदार्थ रोकथामको महासन्धि कार्यान्वयनलाई तीव्रता दिन आवश्यक रहेको छ । नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि राष्ट्रिय बहुक्षेत्रीय कार्ययोजना (२०२१–२०२५)  ले नेपालमा सन् २०२५ सम्ममा १५ वर्षमाथिका मानिसमा व्याप्त रहेको सुर्तीजन्य पदार्थको प्रयोगमा ३० प्रतिशत सापेक्षिक कमी ल्याउन आह्वान गरेको छ ।

कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहर केन्द्र, वृद्धाश्रम, अनाथालयको कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न/गराउन नपाइने व्यवस्था कानुनमा रहेको छ । त्यसैगरी सुर्तीजन्य पदार्थ विक्रेताले अठार वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तिजन्य पदार्थ नबेच्ने र बेच्न नलगाउने र चुरोट तथा बिडीको फुटकर खिल्ली बेच्न नपाउने व्यवस्था रहेको छ ।

सुर्तीजन्य पदार्थको रोकथाम तथा नियन्त्रणका लागि तीनै तहमा विद्यालय स्वास्थ्य शिक्षा, सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम, आमसञ्चार कार्यक्रम थप व्यापक गर्दै लौजान आवश्यक रहेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी ऐन, कानुन,नियमावली र निर्देशिका पारित भई लागू भइसकेको अवस्थामा यी प्रावधनको कडाइका साथ लागू गरी सुर्तीजन्य पदार्थबाट हुने असरलाई न्यूनीकरण गर्न अपरिहार्य रहेको मन्त्रालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप