बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

'चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुले नेपालका वामपन्थी दलहरु एक हुन सुझाव दिएका छन् '

प्रधानमन्त्रीले केही समयपछि चीन भ्रमण गर्नुहुन्छ : सापकोटा
बिहीबार, १८ जेठ २०८०, ०७ : ४७
बिहीबार, १८ जेठ २०८०

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्नि सापकोटा आफ्नै पार्टीका २० नेताको टोली नेतृत्व गर्दै अहिले चीन भ्रमणमा आएका छन् । करिब दुई हप्ता लामो यात्रामा चीन आइपुगेको नेपाली टोली सिचुवान प्रान्तको राजधानी छेन्दु, तिब्बतको राजधानी ल्हासा, बेइजिङ हुँदै हुबेई प्रान्तको सियान सहर र अहिले हुबेई प्रान्तको राजधानी उहानमा पुगेको छ ।

तिब्बतमा आइपुग्दा सापकोटा नेतृत्वको टोलीलाई चिनियाँ कम्युनिस्ट पार्टी, तिब्बतका सचिव च्युन चङलेले स्वागत गरेका थिए । तिब्बत यात्राकै क्रममा नेपाली नेताहरुले कैलाश मानसरोबर यात्राको समेत मौका पाए ।

कोभिड महामारीपछि बन्द रहेको कैलाश मानसरोबर यात्रा नेपाली नेताहरु भ्रमणपछि खुलेको सन्देश दिन खोजिएको छ । हाल नेपालीले मात्र कैलाश यात्रा गर्न पाउनेछन् । तेस्रो मुलुकका नागरिकलाई लागि चीनले कैलाश यात्रा खुला गरिसकेको छैन ।

चीन सरकारले तिब्बतमा गरिबी निवारण र त्यस क्षेत्रमा गरिरहेको विकासको नमुना देखाउन सापकोटा नेतृत्वको टोलीलाई दुई नमुना गाउँको भ्रमण समेत गराएको थियो । तिब्बत भ्रमणपछि बेइजिङ पुगेको टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखसँग भेट गरेको छ ।

चीनका विभिन्न साँस्कृतिक क्षेत्र भ्रमण गरिरहेका माओवादी नेता सापकोटासँग रातोपाटीका चीन संवाददाता भरत शर्माले चीन भ्रमणकै सन्दर्भमा संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ, सापकोटासँग गरिएको कुराकानीको सम्पादित अंश–

लामो भ्रमण कार्यक्रम बनाएर चीन आउनुभएको छ, तपाईले नेतृत्व गरेको टोली पनि ठुलै छ । यस पटकको यात्राको मुख्य उद्देश्य के हो ?

भ्रमणको उद्देश्य मुख्यतः नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टी बीचको सम्बन्ध सुधार गर्ने, दुई देश बीचको सम्बन्ध प्रगाढ बनाउने, यसका साथै चीनले गरेको आर्थिक विकास र प्रगतिको बारेमा अनुभव आदानप्रदान गर्ने हो ।

विशेष गरी चीनले गरिबी निवारणमा हासिल गरेको प्रगतिको अनुभव आदानप्रदान नै थियो । हामीले पनि चीनको तिब्बतमा चीन सरकारले गरिबी निवारणमा हासिल गरेको उपलब्धिका बारेमा देख्ने र सिक्ने अवसर पायौं । गरिबी निवारण अभियानबाट जनताको जीवनस्तर माथि उठाउन सकिन्छ भन्ने कुरा पनि हामीले अनुभव गर्न पायौं । 

विज्ञान र प्रविधिको क्षेत्रमा चीनले प्राप्त गरेको सफलताबाट सक्ने कुरा पनि धेरै छन् । मुख्यतः यो भ्रमणबाट हामीले चीनले गरेको आर्थिक, सामाजिक र प्राविधिक विकासका अनुभवहरुलाई लिएर नेपालमा पनि यस खालका विकासका कामहरु सुरु गर्न सक्छौं भन्ने लागेको छ । यो भ्रमणको उद्देश्य नै दुई देशका राजनीतिक पार्टीको सम्बन्ध विस्तार र अनुभव आदान प्रदान गर्ने हो ।

चीन सरकारले तिब्बतमा गरेको विकासको नमुना हेरिसकेपछि तपाईलाई नेपालमा पनि त्यस खालको विकास गर्न सकिन्छ जस्तो लाग्छ ?

हामी तिब्बतको राजधानी ल्हासाको भ्रमणमा गएका थियौं । तिब्बतमा चीनले गरिबी निवारणको क्षेत्रमा हासिल गरेको उपलब्धिबारे जानकारी लियौं । तिब्बतका गाउँ र बस्तीहरुमा भएका विकासका गतिविधिहरुलाई हामीले नजिकबाट हेर्ने अवसर पायौं ।

हामीले चिनियाँ विकासका मोडेलका रुपमा गाउँमा कसरी विकास गर्न सकिने रहेछ भनेर त्यहाँका नागरिकहरुलाई भेट्यौं । गाउँघरमा पुगेर उहाँहरुका अनुभव, भोगाई, पहिले र अहिलेको अवस्थाबारे जान्ने अवसर प्राप्त भयो ।

पहिले गरिब नागरिक अहिले विकास र समृद्धिका कुरा गरिरहेका छन् । सबै नागरिक आर्थिक, सामाजिक हिसाबले सम्पन्न हुँदैछन् । चौरी पालेका छन् । हरेक घर रोजगारी, यातायात र सञ्चारसँग जोडिएको छ । उनीहरु आत्मगौरवका साथ आफ्नो क्षेत्रमा भएको विकासका कुरा देखेर दङ्ग परेका छन् । 

कुनै समय खान पाउँदैन थिए । लगाउने लुगा थिएन । चरम गरिबी थियो । आज तिब्बती नागरिकको जीवनस्तरमा बदलाव आएको छ । त्यो कुरा हामीले प्रत्यक्ष देखेर आयौं । चीनले गरेको विकास र गरिबी निवारणको अभियानले हामीलाई राम्रो शिक्षा दिएको छ । मिराज जस्तो मरुभूमिमा वृक्षारोपण गरेर बस्तीहरु हरियाली बनाउने काम भएको छ ।

माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टी बीचको सम्बन्ध सुधारका लागिमात्र यो भ्रमण हो ?

होइन, हाम्रो पार्टी र चिनियाँ कम्युनिस्ट पार्टी बीचको सम्बन्धलाई अझ गाढा बनाउने भन्ने कुरा त छँदैछ । यो भ्रमण मुलतः विकास निर्माण, अन्य विविध ज्ञान र प्रविधिका कुराहरु, विकास र समृद्धिमा चीनले प्राप्त गरेको अनुभव आदानप्रदानमै हाम्रो भ्रमण केन्द्रित रह्यो ।

नेपालको आफ्नै मौलिकता र विशेषता छ । आफ्नो मौलिकता र विशेषता अनुसार हामीले देशको विकास गर्नुपर्छ । हामीले यस पटकको चीन भ्रमणबाट हासिल गरेका अनुभवलाई नेपालमा पनि गरिबी निवारण, जनताको जीवनस्तर उकास्ने, युवा रोजगारको वातावरण सिर्जना गर्ने कुरामा केन्द्रित गर्न सक्छौं । यो भ्रमणले हामीलाई चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धिका नमुनाहरु अनुकरणका लागि मद्दत गर्छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका नेताहरुले नेपालका वामपन्थी बीच एकता गरेर अगाडि बढ्न सुझाव दिएका छन्, तपाईहरु चीनबाट फर्केपछि त्यो सुझाव अनुसार काम अगाडि बढ्छ ?

चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुले नेपालका वामपन्थी राजनीतिक दलहरु एक हुनुपर्छ भनेर सुझाव दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका कम्युनिस्ट पार्टी बीच एकता हुनुपर्छ भन्ने मान्यता राख्नु स्वाभाविक पनि हो ।

अर्को कुरा, हामी नेपालबाट चीन आउनुभन्दा पहिले नै हामीले नेपालमा समाजवादी मोर्चा बनाउने, कम्युनिस्ट विचार र सिद्धान्तमा नजिकिएकासँग छलफल चलाउने, मुलुकका कम्युनिस्ट पार्टीहरुसँग एकता जरुरी छ भन्ने त पहिले नै महसुस गरेको कुरा हो ।

चिनियाँ पक्षले हाम्रो भ्रमणको दौरान नेपालका कम्युनिस्ट पार्टीहरुबीच एकता गरे राम्रो हुन्छ भनेर सल्लाह मात्र दिएका हुन् । कम्युनिस्ट पार्टीका नेताहरुले भनेका छन्– यो तपाईहरुको आन्तरिक मामिला हो, जे उचित लाग्छ, जे गर्दा नेपाल र नेपाली जनताको उन्नति र प्रगति हुन्छ । त्यही अनुसार अगाडि बढ्नुस् ।नेपालमा अहिले पनि वामपन्थी शक्तिहरुबीच एकता, सहकार्य जरुरी छ । त्यसका लागि छलफल चलिरहेको छ ।

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ भन्ने कुरा पटक पटक दोहो-याउनु भएको छ । तर नेपालले आफ्नो प्रतिबद्धता अनुसार काम गरेन भन्ने चिनियाँ पक्षको गुनासो छ नि ?

गुनासो गरेका छैनन् । विल्कुल गुनासो गरेका छैनन् । खुसी मानेका छन् । बरु हामीलाई हाम्रो एक चीन नीतिप्रतिको निरन्तरताको प्रतिबद्धतालाई चिनियाँ पक्षबाट धन्यवाद भनेका छन् ।

चीनको महत्त्वाकांक्षी परियोजना बीआरआई सम्झौता भएको ६ वर्ष पूरा भयो । नेपालको तर्फबाट कुनै काम भएन भनेर चीनले प्रश्न गर्न थालेको छ नि ?

त्यसका हाम्रो छलफल चलिरहेको छ । हामीले चिनियाँ पक्षलाई सस्तो ऋणमात्र होइन केही ठूला परियोजना दिनुस् भन्दा चिनियाँ पक्ष सकारात्मक देखिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन आउने कार्यक्रम अहिलेका लागि स्थगित भएको हो ?

होइन, प्रधानमन्त्रीको चीन भ्रमण स्थगित भएको होइन । केही समयपछि नै प्रधानमन्त्रीले चीन भ्रमण गर्नुहुन्छ । भारत भ्रमण सकेको केही समयपछि चीन भ्रमण हुन्छ भन्ने मलाई लागेको छ । त्यस्तै खालको कुरा पनि भएको छ ।

नेपालप्रति चिनियाँ नेताको धारणा के रहेछ ?

धारणा आत्मीय छ । सौहार्द्रपूर्ण छ । चीनमा द्रूत विकास भइरहेको छ, नेपालमा पनि विकासमा सहयोग गर्न पाए हुने थियो भन्ने खालको मनसाय चिनियाँ नेतामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप