युवराज दीपेन्द्रले गाँजा र ‘कालो’ मिसाएर खाने अर्दलीको बयान
नारायणहिटी राजदरबारमा २०५८ जेठ १९ गते भएको घटना सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले अर्दली (युवराज दीपेन्द्रको पोसाक लगाइदिने र खोलिदिने काम गर्ने) रामकृष्ण के.सी.सँग लिएको बयान :
समितिः कति वर्ष भयो काम गरेको ?
जवाफः तीन वर्ष भयो ?
समितिः के जिम्मेवारी दिएको थियो ?
जवाफः म पोशाकहरु खोल्दिने, लगाइदिने........
समितिः युवराजधिराजको पोशाक लगाइदिने, खोलिदिने, ए त्यस्तो भएपछि खोपीमा आउन जान पाइरहने, त्यो घटना हुँदा तपाईं कहाँ हुनुहुन्थ्यो ?
जवाफः म किचेनमा थिएँ, माथि सवारी होइबक्स्यो भनेर आमाले भनेपछि माथि आई साहेब ढलिबक्सिरहेछ, हामी आएपछि उठिबक्स्यो, अनि पोशाक खोल्न लाइबक्स्यो । पोशाक खोल्दैथ्यौँ । अनी वाथरुम सवारी भयो । हामी वाहिर बसिरह्यौँ एक छिनपछि वाहिर सवारी भयो, अनि तिमीहरु जाओ भन्नुभयो हामी पछाडी गयौँ । पछाडि गएपछि ज्यूनारको सामान आयो, किचेनको साँचो आमासँग हुन्थ्यो । अनि म साँचो माग्न आमाकहाँ आएँ ।
समितिः तपाईंले आमा भनेर कसलाई भनको ?
जवाफः जमुना अधिकारीलाई हामी आमा भन्छौँ, द्वारे आमा भएको हुँदा । ...... म आफैँ जान्छु भनी आमा जानुभयो । म त्यहाँ उभिइराखेको समयमा साहेव पोशाक लगाएर हतियार भिरेर सवारी भयो । सवारी भएपछि बाहिर सवारी हुन लागेछ......
समितिः तपाईंले हतियार भिरेको देख्नुभयो ? कसरी भिरेको रे ?
जवाफः पछाडीबाट भिर्नु भएको, पछाडिबाट, त्यहाँबाट बाहिर सवारी भयो की भनी इमर्जेन्सी ब्याग चाहिन्छ कि भनी सोध्दा चाहिदैन हुकुम भयो र म ए.डि.सि.लाई खबर गर्न दौडेको मात्र थिएँ पड्कीन सुरु भइहाल्यो । अनि भागेर पछाडि गएँ ।
समितिः अनि त्यो लडेपछि वाथरुम जाँदाखेरी वाकवाक पनि लागेको थियो ?
जवाफः वाकवाक चाहिँ अलिअलि गरिबक्सेको थियो ।
समितिः वान्ता नै भएको थियो ?
जवाफः त्यो त हामीले हेरेनौं ।
समितिः अनि तपाईंले हतियारले लैष भएको देख्नुभयो ? कपडा चेञ्ज गरेर
जवाफः हजुर ।
समितिः तपाईंले देख्दा कतिवटा हतियार थियो ?
जवाफः दुइटा तीनवटा होला, त्यति याद छैन ।
समितिः हतियार छ भनेर कसरी थाहा पाउनुभयो ?
जवाफः हतियार भिरिवक्सेर ।
समितिः त्यसपछि हतियार भिरेपछि तपाईं सँगसँगै जानुभयो ?
जवाफः इमरजेन्सी व्याग सोधेँ मैले, बाहिर सवारी हुँदा सरकारको सामान गाडीमा हाल्ने गरेको र बेलुका खोपीमा लाने गरिन्थ्यो । इमरजेन्सी ब्याग पर्दैन भनेर भन्नुभयो । ए.डि.सी.लाई खबर गर्न म आउनु र त्यहाँ पड्कनु एकैसाथ भयो र म पछाडि आएँ ।
समितिः ए.डि.सी.लाई तपाईंले खवर गर्नु भो ?
जवाफः खवर गर्न पाइन, पड्की हाल्यो ।
समितिः जाँदा जाँदै ?
जवाफः हजूर ।
समितिः त्यो पड्कदा तपाईं कहाँनीर हुनुहुन्थ्यो ?
जवाफः म खोपीतिर माथि नै थिएँ पड्कीए पछाडि भागेँ ।
समितिः ए, तपाईं माथि नै ?
जवाफः हजूर ।
समितिः खोपीदेखि कता हुनुहुन्थ्यो ?
जवाफः म एता वरै थिए ।
समितिः त्यो भर्याङ्गभन्दा माथि ?
जवाफः त्यो टेबुल छ नी हजुर, त्यहीनिर । ढोकामा उभिइराखेको थिएँ ।
समितिः ढलेको अवस्थामा चिन्तामा वा मादक पदार्थ के मा ढलेको जस्तो लाग्यो ?
जवाफः खोइ त्यो त, ढलिबक्सेको रहेछ, जुरुक्क उठिबक्स्या । त्यत्ति उ नै भएन ।
समितिः बेडिङ्गको नजिकैमा कि वलि वरै ढलेको ?
जवाफः वेड नजिकै ढलेको ।
समितिः अरु केही सम्झना छ ?
जवाफः छैन । त्यहाँबाट भागियो ।
समितिः शरिरमा त हतियार भिरेको देख्नुभयो, हातमा केही थियो कि थिएन ?
जवाफः हातमा याद भएन । देखिन ।
समितिः भर्याङ्गबाट कता जानुभयो ?
जवाफः पछाडि उतैबाट फर्कें ।
समितिः पड्केपछि सरकार फर्के नफर्केको केही थाहा पाउनु भयो ?
जवाफ : म भागिहालें थाहा पाइन । पछाडि भागिहालें ।
समितिः अनि कुन वेला आउनुभयो ?
जवाफः म त पछि आइन, पछि आउँदै आइन । पछाडि पछाडि भइहाल्यो । सैनिकहरु आइहाले होलान् भनी आउँदै आइन । पछि धेरै लाष्टमा ए.डि.सी. अफिसमा बोलाएपछि आयौं ।
समितिः ए.डि.सी. अफिसमा बोलाएर सोध्यो ?
जवाफः केही पनि सोधेन ।
समितिः अरु केही सम्झना छ भन्नु पर्ने ?
जवाफः केही पनि छैन ।
रामकृष्ण के.सी. (शाही अर्दली)संग पुन सोधपुछ
समितिः रामकृष्ण के.सी. जी, तपाईलाई हामीले किन बोलाएको भने अलिकति केही कुरा बाँकी भयो । ८ बजेर १९ मिनेट जाँदा तपाईलाई युवराजधिराज सरकारलाई चुरोट लगिदिनका लागि अह्राइएको थियो । त्यो चुरोट त बैठकमा पनि देखिन्छ त, किन चुरोट लान पर्यो ? चुरोट किन लानु पथ्र्यो र चुरोट लिएर कहाँ जानुभयो ?
जवाफः चुरोट अब त्यसमा खास ... माल भएको चुरोट ।
समितिः माल भनेको के ?
जवाफः गाँजा । गाँजा भरेको चुरोट ल्याऊ भन्नुभएको रहेछ । अनि म विलियर्ड हलको त्यो मेन ढोकामा पुगेपछि पारस सरकारलाई टक्र्याएँ । भित्रचाहीं म छिरिन ।
समितिः कुनचाहीं ढोका ? पूर्वपटृीको ढोका ? कतिवटा लगिदिनुभयो ?
जवाफः त्यही ठूलो ढोका । त्यसमा ५/६ वटा जति थियो ।
समितिः कसले गराउने गर्थ्याे ? के के हाल्ने गर्थ्याे त्यसमा ?
जवाफः त्यो हामीहरुले नै बनाउने हो । त्यो गाँजा र सुर्ती मिसाएर बनाउने हो ।
समितिः ५/६ वटा पारस सरकारलाई बुझाइयो ? अनि ... के भनेर ... ?
जवाफः सरकारले हुकुम भएको भनेर ... सावले भनिबक्सियो । अनि त्यहाँ गएको, पारस सरकार सवारी भयो । त्यहाँ टक्र्याएँ । ... पारस सरकार हाँस्दै सवारी भयो । अनि म हातमा लिएर गएको थिएँ । मैले दिएँ । टक्र्याइबक्सियो ।
समितिः त्यो चुरोटमा गाँजा मात्रै भरिएको थियो भन्ने तपाईंलाई एकिन छ ?
जवाफः त्यसमा गाँजा र अर्को कालो के हुन्थ्यो त्यो ल्याउँथें, त्यो मिसाएर भरिदिनु पथ्र्यो ।
समितिः कहाँबाट कसले ल्याउँथ्यो ?
जवाफः त्यहीं नै हुन्थ्यो अब भर ...
समितिः त्यहींं भनेको खोपीमै हुन्थ्यो कि ?
जवाफः त्यहीं नै हुन्थ्यो, खोपीमै हुन्थ्यो ।
समितिः गाँजा तपाईंले चिन्नुहुन्थ्यो ? कालो तपाईंले चिनिदैनथ्यो, कालो कति राख्नुपर्दथ्यो ?
जवाफः त्यो अब हेरेर, त्यस्तै चुरोट हेरेर ।
समितिः एउटा चुरोटको खिलीमा गाँजा कति, त्यो कालो कति राखिन्थ्यो ?
जवाफः त्यो त अब .... बक्सेको थियो पहिलाचाहीं । त्यो सुर्ती र उ सबै एउटामा मिलाएर हालिदिने ।
समितिः त्यो कालोको रंग अहिले देख्यो भने चिनिन्छ ? पूरा कालो थियो कि अलिअलि कलेजी कलेजी थियो ?
जवाफः पूरा उ त थाहा छैन । त्यो त्यहीं पनि सधैं होइन, कहिलेकाहीं त्यस्तै उ भएको बेलामा ।
समितिः त्यो दिन कुन पर्यो ? कालो मिसिएको उ पर्यो कि अर्को परेको थियो ?
जवाफः त्यसमा कालो मिसिएको र अर्को दुवैथरी थियो ।
समितिः लगेर पारस सरकारलाई दिनुभयो । पारस सरकारलाई बुझाउँदा युवराजधिराज सरकारले मागिबक्सेको हुनाले लिएर आएको । वहाँ पुर्याइदिने तपाईंले भनेको हो कि होइन ?
जवाफः मैले त्यो जाहेर गर्न मिल्दैन । म त्यो उसमा गएर बसें । म सरासर जान लागेको थिएँ, पारस सरकार हाँस्दै सवारी भयो । मैले हातमा लिएको थिएँ । मैले टक्र्याएँ । अनि पारस सरकारले लिएर सवारी भयो ।
समितिः अनि के खवर गरेर माथि खोपीमा पुग्नुभएको थियो त ? चुरोट ... पछि युवराजधिराज सरकार माथि ... मा पुगिसकेको, कहाँबाट के खवर आएर ?
जवाफः सरकार सवारी भएको थियो । ... सवारी भएको छ ... जानु भनेर अनि ...
समितिः त्यो कहाँ छ, त्यो खोपीमा ?
जवाफः त्यो खोपीमा हुन्थ्यो । सरकारले ल बनाउ भनेर बक्सिन्थ्यो अनि ...
समितिः त्यसदिन तपाईले कहाँबाट बनाएर ल्याउनु भयो ?
जवाफः सरकारले बक्सेको थियो ।
समितिः त्यही दिन कि बिहान ?
जवाफः त्यो सरकारले बक्सेर पहिले बनाएर राख भन्नुभएको थियो, बनाएर राखेको थिएँ ।
समितिः बनाएर खोपीमा राख्नुभएको थियो ?
जवाफः बनाएर आफ्नै साथमा थियो ।
समितिः त्यो बनाउन दिएको कति बेला हो ?
जवाफः दिउँसो २/३ बजेतिर ।
समितिः होइन, त्यो ... जान भन्दा पहिले कि ?
जवाफः पहिले नै ।
समितिः त्यो दिन कति खिली बनाउनु भनिबक्सेको थियो ?
जवाफः त्यो बक्सेको थियो ५/६ बनाइदिने हुकुम भएको थियो । ५, ६ वटा ...
समितिः कुन चुरोट ?
जवाफः शिखर चुरोट ।
समितिः त्यो खाने कसले खाए भन्ने देख्नु भएन ? त्यो चिज तपाईसंग छैन ?
जवाफः छैन, जति वक्सिन्छ त्यही बनाएर टक्र्याउने हो ।
समितिः जति बक्स्यो ५/६ वटा बनाएर दिइहाल्नुहुन्थ्यो ? त्यो भन्दा अगाडि अगाडि पनि ... कति चोटी भएको थियो ? कहिले एकवर्षदेखि, ६ महिनादेखि चुरोट गाँजा हालेर बनाउनुस् भनेर ... कहिले शुरु गर्नुभएको थियो ?
जवाफः मैले त त्यस्तै हाम्रोचाहीं अल्टरनेट ड्युटी हुन्छ । कहिलेकाँही आफ्नो ड्युटी परेको बेलामा मैले त्यस्तै २/३ पटक बनाएँ होला ।
समितिः .... कति पटक ?
जवाफः महिना भन्दापनि झण्डै एकवर्ष जति भयोहोला । एक वर्षदेखि पहिला बनाएको थिएँ । अहिले तीनपाली जति बनाएँ मैले, आफ्नो ड्युटीमा ।
समितिः कस्तो बेलामा माग्ने गरिबक्सिन्थ्यो ?
जवाफः त्यही पार्टी भएको बेलामा वनाउँ भनिबक्सिन्थ्यो ।
समितिः अस्ति तपाईले हामीलाई जानकारी दिँदाखेरी सरकार खोपीबाट निस्केपछि मैले इमर्जेन्सी व्याग पनि लानपर्छ कि सरकार भनेर भनें भन्नुभयो तपाईंले । त्यो इमर्जेन्सी व्यागमा के के हुन्छ ?
जवाफः त्यसमा अब सरकार बाहिर सवारी हुँदा त्यो वेदरप्रुफ ज्याकेट, ... चिपिस्टिक, ... स्प्रे, अनि त्यो एक्स्ट्रा व्याट्रीहरु त्यस्तै नै हुन्छ । पानी ज्युनार हुन्छ ।
समितिः अनि तपाईं त्यो खोपीमा जाँदाखेरी युवराजधिराज सरकार तल उभिइरहेको देख्नुभयो कि बसिरहेको देख्नुभयो ?
जवाफः ढलेको अवस्थामा ।
समितिः त्यो वेला त्यस्तो किसिमले तपाईंले बनाइसकेको ...
जवाफः केही पनि देखिन ।
समितिः के मा राखेको थियो ?
जवाफः त्यो सरकारको बट्टामा, चुरोटको ...
समितिः तपाईलाई बटृाको रंग याद छ, कलर ?
जवाफः त्यो चाहीं याद भएन । त्यो दिन त मैले त्यही चुरोटको बटृामा नै टक्र्याएको हो । तर सरकारले अर्कै बोकिबक्सेको हो बटृा । अब कालो पोशाक भएको बेलामा कालै बटृा, खैरो भएको बेलामा खैरो बटृा लिइबक्सिन्थ्यो चुरोटको ।
समितिः अब फेरि चाहियो भने बोलाउँला है !
(नारायणहिटी राजदरबारको २०५८ जेठ १९ को घटना सम्बन्धमा गठित उच्चस्तरीय समितिको प्रतिवेदनबाट साभार ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा १० प्रकारका आलुको अध्ययन
-
झापामा तरुण दलले बनायो श्रमिकको घर
-
आन्तरिक पर्यटकको रोजाइ बन्दै राजकाँडा
-
ऊर्जामन्त्री खड्का र विश्व बैंकका प्रतिनिधिबीच भेट
-
१२ बजे, १२ समाचार : 'मन्त्रिपरिषद्को निर्णयमा कुलमानको फरक मत' देखि 'अख्तियारका आयुक्त नै भ्रष्ट !' सम्म
-
कोप–२९ : जलवायुजन्य संकट सामना गर्न 'अपिल'