बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
समाज

साढे ४ वर्षदेखि बेपत्ता छोराको सास या लासको खोजीमा अमर कुशवाहाको परिवार

छोराको खोजीमा ७ धुर घडेरी मासियो
शुक्रबार, १९ जेठ २०८०, १३ : ४८
शुक्रबार, १९ जेठ २०८०

बारा । जीतपुर सिमरा–८, रमौलीका अमर कुशवाहालाई नाति नातिनीले बाबाको विषयमा सोध्दा भक्कानो फुटेर आउँछ । ‘बाबा कहिले आउनुहुन्छ ? कहाँ जानुभएको छ ?’ भनेर नाति नातिनीले सोध्दा कुशवाहाले बाध्य भएर झुटो बोल्ने गरेका छन् ।

२०७५ साल पुस १६ गते सोमबार दिउँसो ४ बजे गाउँकै साथीहरुसँगै होटलमा खाजा खाएर घर फर्किएका प्रदिप कुशवाहा (अमर कुशवाहाका छोरा) घरमा पस्न नपाई फोनमा कुरा गरेर निस्किएका थिए ।

amar kushwaha (1)

विदेश जान खल्तीमा ७५ हजार नगद बोकेर साँझ घरबाट निस्किएका प्रदिपको सोही दिन साँझ ७ बजेपछि मोबाइल बन्द भयो । सोही दिनदेखि आजसम्म प्रदिप कहाँ, के कस्तो अवस्थामा छन् भन्नेबारे परिवार बेखबर छ ।

अमरले भने, ‘साँझ ७ बजे हामीले फोन गर्दा मोबाइल स्विच अफ आयो, रातभर खोज्यौँ । पछि प्रहरीले अनुसन्धान गर्दा छातापिपरा र नितनपुर बीचबाट मोबाइल अफ भएको थाहा भयो । त्यसपछि ऊ कहाँ छ ? जिउँदो कि छैन भन्नेबारे आजसम्म थाहा हुन सकेको छैन ।’

amar kushwaha (2)

बेपत्ता छोराको खोजीमा कुशवाहा काठमाडौं, पोखरा, नारायणगढ, जनकपुर भारतको पटना, दिल्ली लगायत विभिन्न ठाउँमा पुगे । तर केही पत्ता लागेन । ‘अहिले पुलिसकहाँ जाँदा मुद्दा धेरै पुरानो भयो, कहीँ कतै नाम परिवर्तन गरेर जेलमा पो छ कि ! बरु पत्रकारलाई भन्नुस् भन्छन्,’ अमरले भने, ‘छोराको खोजीमा ७ धुर घडेरी पनि बेचेँ । अहिलेसम्म १५/१६ लाख रुपैयाँ भन्दा धेरै खर्च भइसक्यो ।’

छोरा बेपत्ता भएपछि उसको चिन्ताले आफ्नी पत्नी (प्रदिपकी आमा) पनि बिरामी भएको अमरको भनाइ छ । 

‘२६ वर्षीय जवान छोरा बेपत्ता भएपछि बितेको ४ वर्ष हाम्रो घरमा कहिल्यै हाँसीखुसी छैन, कुनै चाडपर्व पनि मनाउन सकेका छैनौं,’ अमरले भने ।

amar kushwaha (3)

२०७५ सालमा बेपत्ता छोरा खोजीका लागि बाराका तत्कालीन प्रहरी उपरीक्षक सानुराम भट्टराईले धेरै चासो देखाएर सहयोग गरे पनि त्यसपछि आउने प्रहरी उपरीक्षहरुले बेवास्ता गरेको अमरको गुनासो छ ।

प्रहरीले प्रदिप कुशवाहा बेपत्ता भएपछि उनीसँगै बसेर खाजा खाएका ४० वर्षीय प्रदिप पासवान, ४२ वर्षीय पच्चु पासवान र ५२ वर्षीय रधही सहनीलाई पक्राउ गरेको थियो । तर पछि कानुनी कारवाहीका लागि पर्याप्त प्रमाण नभएको भन्दै उनीहरुलाई रिहा गरेको थियो ।

amar kushwaha (4)

‘प्रशासनले हाम्रो छोरा जिउँदो छ या मुर्दा छ भन्नेमात्रै पत्ता लगाइदियोस्, त्यो भन्दा धेरै हामीलाई केही चाहिँदैन,’ बेपत्ता प्रदिपकी आमा विद्यादेवी कुशवाहाले भनिन्, ‘४ वर्षदेखि दिनरात सबै ठाउँ पुगेर खोजिसक्यौं, केही पत्ता लाग्न सकेको छैन, पुलिस प्रशासनले पनि जिउँदो, मुर्दा के छ भन्ने थाहा पाउन सकेको छैन ।’

बेपत्ता भएका प्रदिपका ९ वर्षीय र ७ वर्षीय २ छोराछोरी छन् ।

‘छोरा बाचेको वा मरेको प्रमाणित नहुँदा मन बिचलित भइरहेको छ । दिनरात उसैको चिन्ता लागिरहन्छ,’ विद्यादेवीले भनिन्, ‘चाडपर्वमा छरछिमेकमा रमाइलो गरिरहँदा हाम्रो घरमा प्रदिपको यादले रुवाबासी चल्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप