डाक्टर पास भएपछि रामजी रामले भने– ‘अब बिरामीको दुःखमा पास हुनुछ’
काठमाडौँ । चर्चामा रहेका रौतहटका रामजी राम अन्ततः डाक्टर बनेका छन् । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गरेसँगै रामजी डाक्टर बनेका हुन् । उनले आफुले लाइसेन्स परीक्षामा पास भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् ।
‘परीक्षाको बेला आफ्नो खल्ती रित्याएर मलाई अध्यन गर्न सघाउनुहुने सम्पुर्ण दाताहरु, दृश्य अदृश्य रुपमा मलाई सिकाउनुहुने हाम्रा सम्पूर्ण गुरुहरु, बिरामीहरु, सम्पूर्णलाई यो सर्टिफिकेट चढाउँछु’ उनले लेखेका छन् । आजदेखि अधिकारिक रुपले सिकेको चिकित्साशास्त्रको गुणहरुको अभ्यास गर्न पाउने अनुमति पाएकोले बताएका छन् ।
अब आफु बिरामीका दुःखहरूले लिने परीक्षामा पास हुनुपर्ने बताए । पैसाको अभावले उनले परीक्षाको अन्तिम समयसम्म निकै संघर्ष गरेका थिए । परीक्षा दिन गएका बेला शुल्क नतिरेको भन्दै कलेजले पटक पटक परीक्षा हलबाट निकालेको थियो । त्यसपछि उनको शुल्क तिर्नका लागि सहयोग संकलन गरिएको थियो ।
उनले बीरगन्जस्थित नेसनल मेडिकल कलेजबाट एमबीबीएस पास गरेका हुन् ।