शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फेवाताल किनारमा ओलम्पियनको जमघट

शनिबार, २० जेठ २०८०, १६ : ३९
शनिबार, २० जेठ २०८०

पोखरा । नेपालको प्रतिनिधित्व गर्दै सन् १९६४ देखि २०२० सम्म विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सहभागी खेलाडी पोखरा आइपुगेका छन् । 

नेपाल ओलम्पियन्स संघको आयोजना, पोखरा महानगरपालिका खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, कास्कीको समन्वयमा ओलम्पियनको पुनर्मिलन तथा सम्मान कार्यक्रम शनिबार साँझ पोखरामा हुँदैछ । कार्यक्रमअघि शनिबार बिहान हल्लनचोकदेखि बाराही घाटसम्म प्रभातफेरि निकालिएको थियो । बाराही घाटमा आयोजित समारोहमा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरा आइपुगेका करिब ५० जना ओलम्पियनलाई स्वागत गरे ।  

सीमित स्रोत र साधनबीच ६ दशकअघि ओलम्पिकमा नेपालको प्रतिनिधित्व हुनु प्रशंसनीय रहेको मेयर आचार्यले बताए । आफूहरू पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने अभियानमा रहेको र त्यसका लागि खेलकुद पर्यटन महत्त्वपूर्ण अंग भएको बताए । ‘पोखरामा नवौँ राष्ट्रिय खेलकुद भयो । खेल नभएको कुनै हप्ता छैन,’ उनले भने, ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेल पोखरामा भइरहेका छन् । हामीले पनि कुन खेललाई अघि बढाउन के गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौँ,’ मेयर आचार्यले भने । 

प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले ओलम्पियनहरूको अनुभव आफूहरूलाई नीति–नियम बनाउन सहयोगी हुने भएकाले समन्वय गर्ने प्रतिबद्धता जनाए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका खेलाडी प्रदेशका कुन जिल्लामा कति छन् भन्ने तथ्याङ्क सङ्कलन भइरहेको जानकारी दिए । 

करिब ६ दशकको अन्तरालमा नेपालका ९० जना खेलाडी ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये १० जनाको निधन भइसकेको छ भने केही खेलाडी विदेशमा छन् । नेपालमै रहेकाहरू पोखरामा भेला भएका हुन् । शनिबार साँझ ४ बजेपछि लेकसाइडको एउटा होटलमा ओलम्पियनको सम्मान र आइतबार ओलम्पियन्स संघको वार्षिक साधारण सभा हुनेछ । ओलम्पियनलाई शनिबार स्वागत गरेपछि फेवातालमा डुंगा सयर र तालबाराही मन्दिर दर्शन गराइएको खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप