शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओझालाई ‘वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार’

सोमबार, २२ जेठ २०८०, २२ : ०५
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का सहसमाचारदाता भीष्मराज ओझालाई यस वर्षको ‘वातावरण प्रवद्र्धन पत्रकारिता पुरस्कार, २०७९’ सहित सम्मान प्रदान गरिएको छ ।  

विश्व वातावरण दिवसका अवसरमा नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वातावरण  विभागले आज यहाँ आयोजना गरेको मूल समारोहमा पत्रकार ओझालाई वन तथा वातावरण मन्त्री डा वीरेन्द्रप्रसाद महतोले रु ५० हजार राशिको पुरस्कारसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

नेपाली पत्रकारितामा दुई दशकअघिदेखि क्रियाशील रही वातावरण संरक्षणका क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानका लागि सहसमाचारदाता ओझालाई नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वातावरण विभागद्वारा स्थापित उक्त पुरस्कारसहित सम्मान प्रदान गरिएको हो ।

सो अवसरमा राससकर्मी ओझासहित पत्रकारितामा क्रियाशील रही वातावरण संरक्षणको क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानका लागि कान्तिपुरका गोविन्द पोखरेल र रेडियो नेपालका बालिका मादेनलाई पनि पुरस्कृत गरिएको थियो । 
संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यसवर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ । 

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइन्छ । नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप