वामदेव गौतम एमालेमा फर्कन तयार, ओलीको यस्तो प्रतिक्रिया

काठमाडौँ । राष्ट्रिय सभाका सांसद एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतम नेकपा (एमाले) मा प्रवेश गर्न तयार भएका छन् । पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्वन गर्ने एमालेले निर्णय गरेलगत्तै उनले बुधवार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिएका हुन् । तर त्यसका लागि अध्यक्ष केपी ओलीले आफूलाई प्रस्ताव गर्नुपर्ने एमालेका उपाध्यक्ष समेत रहिसकेका गौतमको शर्त छ ।
‘यदि उहाँहरुले मलाई खबर गर्नुभयो । तपाईंलाई अहिले पनि निलम्वन भएको छ । आगामी महाधिवेशनसम्म निलम्बन भइरहन्छ । तपाई आउनुपर्यो भन्नुभयो भने म र मसित रहेका जेजति साथीहरु छन् । त्यो लिएर त्यहाँ एकीकृत हुन हामी जान्छौैं । यहि अवस्थामा जान्छौं । अरु केही पर्दैन अब’ उनले भने, ‘उहाँ (ओली)ले आउनुस् भन्नुपर्छ । किनभने पार्टी उहाँसँग छ । मसँग पार्टी छैन अहिले । नेकपा एमाले मसित छैन । त्यसो भएर पार्टी जोसित छ । उहाँहरुले भन्ने हो । मैले अरु धेरैसँग सोधेँ–उहाँहरु कसैले पनि बोल्नुभएन । निलम्बन भइसकेपछि पनि मैले सोध्न खोजेँ । उहाँहरुले भन्नुभएन ।’
एमाले आफूले निर्माण गरेको पार्टी रहेको भन्दै गौतमले एमालेप्रति माया लाग्ने बताए । उनले आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको बताए । ‘मेरो सदस्यता त्यहीँ छ । मैले निर्माण गरेको पार्टी हो । मैले त्यसलाई माया गर्छु ।’ गौतमले केही दिनभित्र पार्टी सदस्यता नविकरण गर्ने समेत बताए । गौतमले आफू एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि जान नलागेको पनि बताए ।
उनले भने, ‘मेरो सदस्यता त्यहीं छ, उहाँहरुले हटाइदिनुभएको पनि छैन । र, पोहोर सालको नविकरण भएको छ । अहिले श्रीमतीलाई पठाएर पार्टी सदस्यता नविकरण गराउँछु । वामदेव गौतम एमालेमा अध्यक्ष हुन जाने होइन । महासचिव हुन जाने होइन । पार्टीमा योगदान दिन जाने हो ।’ यसैबीच एमाले अध्यक्ष केपी ओलीले पनि गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताएका छन् । बुधवार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उम्मेर हद हटाउने हो भने वामदेव गौतमले एमाले आउने कुरा गर्नुभयो नि भनि प्रश्न गरेका थिए । ‘ओलीले अब थप केही कुरा छ र ?’ भन्ने प्रतिक्रिया दिए । उनले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएकोे बताए ।
ओलीले भने, ‘उहाँले सदस्यता ती छ भन्नुभयो होइन । अनि, कुरा बाँकी छ केही छ थप कुरा ? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनुभयो । एकता अभियान चलाउनुभयो । त्यो अभियान मात्रै हो । पार्टी खोलेको होइन । एमालेमा जान्छु भन्नुभएको छ । त्यो ठिक छ । ठिक छ । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’ ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाई ठिक भएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढकाल नियुक्त
-
धरानमा विमानस्थल निर्माणका लागि अध्ययन सुरु
-
संयुक्त राष्ट्रका महासचिवद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रह
-
अधिकारको सम्मानमात्र लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ: राष्ट्रपति
-
नारायणी नदीमा क्रुजसिप पुनः सञ्चालनमा
-
कवि ढुङ्गानालाई झर्रो शैली सम्मान