मेलम्चीको पानी वितरण शुभारम्भ गरिएको भृकुटीमण्डपकै धारामा झर्दैन पानी

काठमाडौँ । राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिएको भृकुटीमण्डपस्थित धारामै पानी आउँदैन भन्दा धेरैलाई अनौठो लाग्न सक्छ ।
तर यो वास्तविकता हो । विसं २०७७ चैत २० गते शुक्रबार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीमा मेलम्चीको पानी वितरण यही धारामा पानी खोलेर गर्नुभएको थियो । त्यसबेला कार्यक्रम सञ्चालकले अब सधैँ यो धाराबाट पिउने पानी पाइने उद्घोष गरेका थिए । तर अहिले त्यो धारामा पानी आउँदैन ।
यो धारामा राखिएको शिलालेख हेरेर पानी पिउन चाहने मानिस नजिकै जान्छन् । तर धारामा पानी खस्दैन । धाराको केही संरचना त उक्किसकेको छ । भृकुटीमण्डपमा आइरहने विद्यार्थी नरराज कुइँकेलले यही धाराले मेलम्चीको पानीको वितरण अवस्था राजधानीमा के छ भन्ने प्रष्ट हुने बताए । पानी प्यास लागेका बेला धारा देखेर पिउन जाँदा नआएको उनले गुनासो गरे ।
विभिन्न प्रदर्शनी भइरहने भृकुटीमण्डपको यो कुनामा प्रायः जुत्ता र चप्पल मेला लाग्ने गरेको छ । अहिले पनि जुत्ता र चप्पल मेला भइरहेको छ । जुत्ता र चप्पल मेलाका लागि घेरिएको जस्ताले धारालाई पनि ओझेलमा पारेको छ । पानी वितरणको शुभारम्भ गरिएकै धारामा पानी नआएपछि ग्राहकका धारामा पानी जाला र ? भन्ने सन्देश यसबाट प्रवाह भएको भृकुटीमण्डपमा भेटिनुभएका बागबजारका स्थानीयवासी समिना खड्गीले बताइन् ।
एक दिन पानी झरेको देखाउन बनाइएको यो धाराका लागि कति खर्च भयो होला भनी राजधानीवासीले खोजी गर्नुपर्ने उनको माग छ । सार्वजनिक सेवा प्रदायकका यस्तै गतिविधिले राजधानीवासीलाई आक्रोशित बनाउने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'स्थानीय तहलाई हतियार सहितको प्रहरी आवश्यक'
-
सन्नी देओल सडकमा मातिएर हिँडिरहेको भिडियोको वास्ताविकता
-
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने अभियुक्त पक्राउ
-
अमेरिका पठाइदिन्छु भन्दै ६४ लाख रुपैयाँ ठगी
-
वन र पर्यटनले समृद्धिको लक्ष्य पुरा गर्न भूमिका निर्वाह गर्ने मुख्यमन्त्री कार्कीको विश्वास
-
त्रिविमा मौसम परिवर्तनबारे शीतकालीन कक्षा सञ्चालन