बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ युनिभर्सिटीको कुसोम एन्नुअल फेस्टिभल एक महिनासम्म मनाइँदै

बिहीबार, २५ जेठ २०८०, १६ : २४
बिहीबार, २५ जेठ २०८०

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) को वार्षिक कार्यक्रम कुसोम एन्नुअल फेस्टिबल सुरू भएको छ । ललितपुरको बालकुमारीमा सुरु भएको उक्त फेस्टिभलको ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरे ।

एक महिनासम्म चल्ने उक्त कार्यक्रम असार ९ गते सकिनेछ । उक्त फेस्टिभलमा ‘वी केयर, वी कोलावोरेट, र वी सेलिब्रेट’ गरी तीनवटा विधामा १६ वटा कार्यक्रम आयोजना हुने फेस्टिभल संयोजक इच्छुक पौड्यालले बताए ।

उद्घाटन समारोहमा मेयर महर्जनसहित विश्वविद्यालयका डीन प्राडा देवी बिडारी, डीन, केएएफ संयोजक, वडा प्रमुख, कुसोम विद्यार्थी कल्याणकारी परिषदका अध्यक्ष लगायतको सहभागितामा बगैचामा बृक्षारोपण गरिएको थियो ।  बृक्षारोपण पछि ‘फ्ल्यास मोव’ सहितको नृत्य प्रदर्शन गरिएको थियो । कार्यक्रमको ‘वि केयर’ विधा अन्तर्गत विभिन्न क्षेत्रमा सरसफाई, महिला स्वास्थ सम्बन्धि जानकारी तथा दिगो सेनिटेरी प्याड मेकिङ वर्कशप लगायतका कार्यक्रम गरिएको छ । 

यसैगरी, आगामी शनिबार मिस नेपाल २०२३ श्रीच्छा प्रधान, सामाजिक अभियन्ता केपी खनाल, कवि मोहित जोशी, बाँसुरी वादक सज्जन शाक्यलगायतको सहभागितामा ‘स्वच्छ हावा हाम्रो साझा जिम्मेवारी’ भन्ने नाराका साथ माइतीघरदेखि वसन्तपुरसम्म वाकाथन आयोजना गरिने भएको छ । सो अवसरमा 'शिल्पी' थिएटरका कलाकारहरुद्वारा वसन्तपुरमा वातावरणीय प्रदूषणको समस्या उजागर गर्ने नाटक प्रस्तुत गरिने छ ।

फेस्टिबलका क्रममा साङ्गितिक कार्यक्रम, कर्पोरेट फुटसल प्रतियोगिता, अन्तर–कलेज स्तरीय हाजिरीजवाफ प्रतियोगिता लगायतका कार्यक्रम पनि गरिने छन् । 

त्यस्तै, कुसोम परिसरमा निःशुल्क स्वास्थ शिविर, बिजनेस मेलासहित ‘कुसोम कनक्लेभ’, क्लब प्ल्याटिनममा ‘कुसोम फिएस्टा’ लगायतका कार्यक्रमसमेत आयोजना गरिने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप