मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको मनोनयन सार्वजनिक

शुक्रबार, ०८ असार २०८०, १७ : ०८
शुक्रबार, ०८ असार २०८०

काठमाडौं । ‘एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड—२०७९’ को वर्ष खेलाडी विधाको मनोनयन शुक्रबार सार्वजनिक गरिएको छ । असार १५ गते धनगढीमा आयोजना हुने अवार्डको वर्ष खेलाडीतर्फको पुरुष र महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलन गर्दै ‘वर्ष खेलाडी पुरुष’ र ‘वर्ष खेलाडी महिला’ विधाको मनोनयन सार्वजनिक गरेको हो । वर्षको उत्कृष्ट खेलाडी पुरुषतर्फ एथलेटिक्सका शिवराज पार्की, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कबड्डीका प्रकाश गिरी मनोनयनमा परेका छन् ।

पार्कीले नवौं राष्ट्रिय खेलकुदको एक सय मिटर दौडमा २३ वर्ष पुरानो कीर्तिमान भंग गर्दै तीनवटा स्वर्ण र एउटा रजत पदक जितेका थिए । नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फ उत्कृष्ट खेलाडी बनेका उनले एक सय मिटर, दुई सय मिटर र रिलेमा स्वर्ण पदक जितेका थिए ।

दीपेन्द्रले नेपाली क्रिकेट टोलीलाई विश्वकप क्वालिफारमा पु¥याउन उत्कृष्ट प्रदर्शन गरेका थिए । २०७९ सालमा टीट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी बनेका दीपेन्द्र एक दिवसीय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी पनि हुन् ।

यसैगरी कबड्डीका गिरीले जुनियर कबड्डी च्याम्पियनसिपमा नेपालले ऐतिहासिक कांस्य पदक जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । सुदूरपश्चिमका तीनजना खेलाडीमध्ये नेपाललाई सेमिफाइनलसम्म पु¥याउन उनले सानदार प्रदर्शन गरेका थिए ।

वर्ष खेलाडी महिला विधामा क्रिकेटकी विन्दु रावल, एथलेटिक्सकी राजपुरा पछाई र फुटबलकी वर्षा ओली मनोनयनमा परेका छन् । रावलको कप्तानीले सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो । नेपालमा भएको क्रसकन्ट्री म्याराथनमा राजपुराले रजत पदक जितेकी थिइन् । वर्षाले भने नेपाललाई पहिलो पटक साफ यू—१५ महिला च्याम्पियनसिपको विजेता बनाउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।  

यसअघि चार विधाको मनोनय सार्वजनिक भइसकेको छ । वर्ष प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, कुस्तीका राजेन्द्र चन्द र भारोत्तोलनका जीवन गौतम मनोनयनमा परेका छन् । वर्ष युवा खेलाडीमा भारोत्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कडायत र क्रिकेटकै हेमन्त धामी मनोनयनमा परेका छन् ।

सुदूरपश्चिम आइकन पुरुष विधामा फेन्सिङका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा परेका छन् । सुदूरपश्चिम आइकन महिला विधामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा परेका छन् ।

हालसम्म ६ विधाको मनोनयन सार्वजनिक गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बाँकी दुई विधाका विजेतालाई अवार्ड कार्यक्रमै सम्मान गर्ने जनाएको छ । लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डमा मनोनयन नहुने भएकोले कार्यक्रमकै दिन विजेताको घोषणा गरिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप