शुक्रबार, २८ मङ्सिर २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाको भयानक त्रासदी, त्यहाँका जनताको शब्दमा

शुक्रबार, १५ असार २०८०, १४ : १४
शुक्रबार, १५ असार २०८०

पछिल्ला केही महिनादेखि बीबीसीले तीन उत्तर कोरियाली नागरिकसँग गोप्य रूपमा  कुराकानी गरिरहेको छ । यी तीन नागरिकले उत्तर कोरियामा भइरहेको विनाशको पहिलो पटक पर्दाफास गरेका छन् ।

उत्तर कोरियाले साढे तीन वर्षअघि बाहिरी विश्वका लागि आफ्नो सिमाना बन्द गरेको थियो । त्यसयता त्यहाँका जनता भोकमरी र सरकारको कठोर कारबाहीको सामना गरिरहेका छन् । उनीहरूलाई यो दमनबाट उम्कने बाटो छैन ।

यी उत्तर कोरियाली नागरिकको सुरक्षाका लागि, हामीले उनीहरूको नाम परिवर्तन गरेका छौँ । म्युङ सुक आफ्नो फोनमा व्यस्त छिन् । उनी आफ्ना थप सामान बेच्ने कोसिसमा छिन् । म्युङ एक चलाख व्यापारी महिला हुन् । 

उनी आफ्नो देशमा साना तिना औषधी लुकीलुकी बेच्छिन् । यी औषधी चीनबाट तस्करी गरेर उत्तर कोरिया पुर्‍याइन्छ । म्युङ सुक औषधी बेचेर मुस्किलले गुजारा गरिरहेकी छिन् ।

उनी एक पटक पक्राउ परिसकेकी छिन् । अब उनी दोस्रो पटक पक्राउ पर्ने जोखिम उठाउन सक्दिनन् । यदि म्युङ सुक फेरि औषधी बेचिरहेको अवस्थामा समातिन् भने, उनले जेल जानबाट बच्नको लागि घुस तिर्नुपर्नेछ र उनीसँग त्यति पैसा छैन ।

तर, उनलाई सधैँ डर लागिरहन्छ । ढोकामा जुनसुकै बेला ढकढक हुन सक्छ ।

north korea1त्यसका लागि पुलिस नै हुनुपर्छ भन्ने छैन । म्युङ आफ्ना छिमेकीसँग पनि डराउँछिन् । उनी अब कसैलाई पनि विश्वास गर्न सक्दिनन् । पहिले यस्तो स्थिति थिएन । यसअघि म्युङ सुकको औषधीको  कारोबार राम्रोसँग चलिरहेको थियो ।

तर, कोभिड–१९ को महामारी आएपछि उत्तर कोरियाले यसबाट बच्न २७ जनवरी २०२० मा बाँकी विश्वका लागि आफ्नो ढोका बन्द गर्‍यो ।

बाहिरबाट मानिसको आवतजावत मात्र होइन खाद्यान्न लगायत अन्य सामान ल्याउन पनि प्रतिबन्ध लगाइयो ।

यसअघि पनि उत्तर कोरियाका नागरिकलाई आफ्नो देश छोड्ने अनुमति थिएन ।

तर, अहिले उनीहरू गाउँ, इलाका र सहरमा नै थुनिएका छन् । राहतकर्मी र कूटनीतिज्ञहरूले पनि आफ्नो सामान बोकेर उत्तर कोरिया छाडे ।

अब सीमानाका रक्षकलाई सीमा नजिकै कोही आइरहेको देखे मात्रै पनि गोली हान्न आदेश दिइएको छ ।

north korea2विश्वको सबैभन्दा एक्लो देश उत्तर कोरिया अहिले सूचनाको हिसाबले ब्ल्याकहोल बनेको छ ।

किम जोङ उनको शासनमा उत्तर कोरियाका जनताले बाहिरी संसारसँग कुनै पनि प्रकारको सम्पर्क राख्न सक्दैनन् ।

डेली एनके नामक संस्थाले उत्तर कोरियामा आफ्ना स्रोतहरूको नेटवर्क चलाउँछ ।

उनको सहयोगमा बीबीसीले उत्तर कोरियाका तीन जना सर्वसाधारण नागरिकसँग कुरा गरेको थियो ।

देशको सिमाना बन्द हुँदा उनीहरुको जनजीवन कतिसम्मको कष्टकर बनेको छ भनेर  उनीहरू विश्वलाई बताउन आतुर छन् ।

आफ्नो देशको सरकारले मिडियासँग कुरा गरिरहेको थाहा पाएमा मार्न सक्छ भन्ने बारे पनि उनीहरूलाई राम्रोसँग ज्ञान छ ।

उनीहरूको सुरक्षाका लागि, हामी तपाईंलाई उनीहरूले दिएको जानकारीको सानो अंश मात्र बताउन सक्छौँ । तैपनि, यी तीन व्यक्तिको अनुभवबाट हामी यो अनुमान गर्न सक्छौँ कि यस समयमा उत्तर कोरियाका आम जनताले भयानक विपत्तिको सामना गरिरहेका छन् ।

north korea3म्योङ सुक भन्छिन्, ‘यहाँ खानाको अवस्था यति खराब कहिल्यै थिएन ।’

उत्तर कोरियाका अधिकांश महिलाहरू जस्तै म्योङ सुक पनि उनको परिवारको सबैभन्दा कमाउने सदस्य हुन् ।

वास्तवमा, उत्तर कोरियामा पुरुषहरूले सरकारी काम अनिवार्य गर्नु पर्छ । तर, ज्याला थोरै पाउँछन्, जसका कारण गुजारा हुन सक्दैन । त्यसैले पनि श्रीमतीले घर चलाउन नयाँ–नयाँ उपाय खोज्छन् ।

नाका बन्द हुनुअघि म्योङ सुकले चीनबाट औषधी तस्करी गर्थिन्, जसको माग बढी हुने गर्दथ्यो ।

यसमा एन्टिबायोटिक पनि समावेश हुन्थे । त्यसपछि उनी स्थानीय बजारमा यी औषधि बेच्ने गर्थिन् । सिमाना बन्द हुँदा म्योङ सुकले एक पटक हताश भएर आफैँ औषध तस्करी गर्ने प्रयास गरेकी थिइन् ।

तर, उनी समातिइन् र अहिले उनको निरन्तर निगरानी भइरहेको छ ।

त्यसैले उनी अहिले उत्तर कोरियामा बनेको औषधि बेच्न खोज्छिन् । तर, आजकाल उनको आफ्नै देशको औषधि पाउन पनि मुस्किल छ । परिणाम म्योङ सुकको आम्दानी आधा भएको छ ।

आजकाल उनी श्रीमान् र छोराछोरीलाई मकै उसिनेर खुवाउँछिन्  । उनको परिवारले भात खान नपाएको धेरै दिन भइसकेको छ । 

म्योङका भोकाएका छिमेकीहरूले खाना माग्न प्रायः ढोका ढकढकाउँछन् । तर, उनी प्रायः रित्तै हात फर्काउन बाध्य छिन् । उनी भन्छिन्, ‘हामी मृत्युको कगारमा उभिएर बाँचिरहेका छौँ ।’

north korea4चान हो

सीमा नजिकैको अर्को सहरमा बस्ने चान हो बिहानैदेखि रिसाएका छन् ।

चान हो, एक निर्माण क्षेत्रका कामदार हुन् । उनको स्वभाव धेरै जिद्दी छ । आफ्नो आक्रोश पोख्दै उनी भन्छन्, ‘म मानिसहरूलाई बताउन चाहन्छु कि यो देशमा जन्मिएकोमा मलाई असाध्यै अफसोस छ ।’ 

चान हो आफ्नी पत्नीलाई पसल खोल्न मद्दत गर्न बिहान सबेरै उठ्छन् ।

उनी आफ्नी श्रीमतीका सामानहरू पूर्ण जिम्मेवारीका साथ पसलमा लैजान्छन् र त्यसपछि स्टलमा सजाउँछन् ।

त्यसपछि उनी आफ्नो काममा लाग्छन् । चान होलाई राम्रोसँग थाहा छ कि उनी आफ्नी श्रीमतीको यो पसलका कारण नै अहिलेसम्म जीवित छन् ।

चान आफैंले दिनमा ४,००० वन (४ डलर) कमाउँछन् । तर, यति पैसाले एक किलो चामल पनि किन्न सकिँदैन ।

उनको परिवारले सरकारी राशन नपाएको धेरै भइसक्यो । राशन पाइने कुरा उनले बिर्सिसकेका छन् । 

चानका अनुसार उत्तर कोरियालीले खाना किन्ने बजारहरू अहिले लगभग खाली छन् ।

चामल, मकै र मसलाको मूल्य आकासिएको छ । वास्तवमा, उत्तर कोरियाले आफ्ना नागरिकहरूलाई खुवाउन पर्याप्त अन्न उत्पादन गर्दैन ।

यो अन्य देशबाट आयातमा निर्भर छ । तर, देशको सिमाना सिल गरेर सरकारले जनताको अत्यावश्यक खाद्यान्न आपूर्ति बन्द गरेको छ ।

यसबाहेक खेतीपातीका लागि आवश्यक मल र मेसिनरी पनि बाहिरबाट आउन छाडेको छ ।

सुरुमा, चान होलाई कोभिडले मरिने हो कि भन्ने डर थियो । तर, समय बित्दै जाँदा भोकै मर्ने डरले सताउन थालेको छ ।

विशेष गरी त्यति बेला देखि जब उनले आफ्नै वरिपरि भोकमरीका कारण मानिसहरू मरिरहेको देखे । 

उनको गाउँमा भोकले सबैभन्दा पहिला एक आमा र उनका तीन सन्तानको मृत्यु भएको थियो । 

आमा बिरामी थिइन् । काम गर्न सक्ने अवस्थामा थिइनन् । सम्भव भएसम्म बच्चाहरूले भिख मागेर काम चलाए । तर त्यो पनि हुन नसकेपछि अन्तिममा तीनैजनाको मृत्यु भयो । 

त्यसपछि गाउँकै अर्की महिलाको मृत्यु भयो । क्वारेन्टाइनको नियम तोडेको भन्दै उनलाई कडा श्रम सजाय दिइएको थियो । महिला र तिनका छोराहरू भोक भोकै मरे ।

हालै चान होका चिनजानका छोरालाई सेनाबाट छुट्टी दिइएको थियो किनभने उनी कुपोषणको सिकार थिए ।

चान हो अझै पनि ती केटाको सुन्निएको अनुहार सम्झन्छिन् । एक साताभित्रै उनको मृत्यु भयो । चान हो भन्छन्, ‘मेरा सन्तान पनि सधैँ यो नर्कमा बस्नुपर्छ भन्ने सोचेर मेरो निद्रा हराउँछ ।’

north korea5जी येओन

जी येओन, खानपिनको सामान बेच्ने पसलमा काम गर्छिन् । यसबाट उनले जे जति पैसा कमाउँछिन्, त्यसबाट आफ्ना श्रीमान् र दुई सन्तानको पेट पाल्नुपर्छ ।

पहिले उनी मालिकको पसलबाट फलफूल र तरकारी चोरेर बजारमा बेच्ने गर्थिन् ।

उनका श्रीमानले सहकर्मीबाट घुस लिँदा जुन चुरोट पाउँथे, त्यो बेचेर थोरै कमाइ गर्थे ।

जी येओन त्यो पैसाले चामल किन्ने गर्थिन् । तर, अब पसलबाट बाहिर निस्कने बेला उनको कडा तलासी हुन्छ । उनका श्रीमानले पनि घुस पाउन छाडे । अब कुनै पनि मानिसले केही दिने भार वहन गर्न सक्दैन । 

जी योन रिसाउँदै भन्छिन्, ‘अब उनीहरूले अतिरिक्त कमाउने सबै बाटो बन्द गरेका छन् ।’

जी येओन दिनमा तीन पटक खाना खान्छु भनेर भन्ने गर्छिन् तर उनी दिनमा एक पटक मात्रै खान्छिन् । उनी भोक खप्न सक्छिन् तर आफू गरिब छु भनेर देखाउन चाहन्नन् । 

उनले पुलजुक नामको पल्प खाएर हप्ता बिताउनुपरेको थियो । त्यो सम्झेर उनलाई अहिले पनि कहाली लाग्छ । 

यसलाई तरकारी, बोटबिरुवा र घाँस मिसाएर तयार गरिन्छ । पुलजुक, उत्तर कोरियाको इतिहासको सबैभन्दा खराब समयको उदाहरण हो ।

त्यो १९९० को दशक थियो, जब ठुलो अनिकाल थियो । यसमा तीन लाख मानिस मारिएका थिए ।

जी येओन भन्छिन्, ‘दश दिन अगाडि सोचेर हामी बाँचेका छौँ । मलाई लाग्छ कि यदि मेरो श्रीमान् र म भोको छौँ भने पनि कम्तीमा हामी हाम्रा बच्चाहरूलाई खुवाउन सक्नेछौँ ।’

शालै जी योनले दुई दिन खाना बिना बिताउनु परेको थियो । उनी भन्छिन्, ‘सुतिरहेकै बेला मर्छु कि बिहान उठ्न सक्दिनँ कि भन्ने सोच्थेँ ।’

उनको सबै कठिनाइहरूको बाबजुद, जी येओनले आफूभन्दा खराब अवस्था भएकाको ख्याल राख्छिन् ।

अहिले सहरका सडकमा भिखारीहरू बढी देखिन्छन् । उनी भुईँमा लडिरहेका मानिसहरूको नजिकै रोकिन्छिन् र उनीहरूलाई हेर्छिन् ।

तर, सामान्यतया उनले तिनीहरूलाई मृत फेला पार्छिन् । एक दिन जी योनले पानी दिन आफ्नो छिमेकीको ढोका ढकढक्याइन् ।

तर, भित्रबाट कुनै प्रतिक्रिया आएन । तीन दिनपछि सरकारी कर्मचारी घरभित्र पसेपछि सबै परिवार भोकले मरेको भेटिए ।

उनी भन्छिन्, ‘यो विपत्ति हो । सिमानाबाट सामान आउँदैन । जसका कारण मानिसले कसरी बाँच्ने भन्ने बुझेका छैनन् ।’

योन भन्छिन्, ‘मैले केही समय अघि मात्रै सुनेकी थिएँ कि कतिले आफ्नै घरमा आत्महत्या गरेका छन् । धेरै मानिस मर्नका लागि गोप्य रूपमा पहाडतिर गए ।’

सहरको यो उदासीनताप्रति दुःख व्यक्त गर्दै उनी भन्छिन्, ‘आफ्नो छेउको घरमा कोही मर्‍यो भने पनि तपाईंले आफ्नो बारे मात्रै सोच्ने दिन आएको छ ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप