बिहीबार, २७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शिक्षा दिवसमा समाज कल्याण शिक्षा पुरस्कार र नेपाल प्रविधि विद्याभूषण थप

बुधबार, १३ भदौ २०८०, २२ : २२
बुधबार, १३ भदौ २०८०

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोज २ गते हुने राष्ट्रिय शिक्षा दिवसका अवसरमा पहिलो पटक नेपाल प्रविधि विद्याभूषण र समाज कल्याण शिक्षा पुरस्कार प्रदान गर्ने भएको छ ।

विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, कृषि, पशु विज्ञान, वन विज्ञान र चिकित्साशास्त्र विधाको स्नातकोत्तर तह वा सोभन्दा माथिल्लो तहमा नेपालसँग सम्बन्धित विषय भएको र नयाँ प्रविधि विकास हुने तथा सम्बन्धित अध्ययनलाई निरन्तरता दिन वा प्रयोग गर्न सकिने गरी तयार गरिएको शोधपत्रका आधारमा नेपालका विश्वविद्यालयका प्रत्येक सङ्कायका दुई विद्यार्थीलाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने छ ।

नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७ पुरस्कार थपिएका हुन् ।

यस्तै सडक बालबालिका, एचआइभी एड्स सङ्क्रमितका सन्तान, अशक्त तथा असहाय बालबालिकालाई पालनपोषणसहित शिक्षा प्रदान गरी राष्ट्रियस्तरमा उल्लेखनीय योगदान दिएका व्यक्ति र संस्थालाई यो पुरस्कार दिइने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । 

सो पुरस्कारका लागि यही भदौ २२ गतेभित्र आवश्यक कागजातसहित सिफारिस वा आवेदन दिन मन्त्रालयले सूचना जारी गरेको छ । बढीमा पाँच जनालाई अधिकतम रु पाँच लाखसम्मका दरले यो पुरस्कार दिइने छ ।

दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्दै आएको छ ।

दिवस मनाउन शिक्षामन्त्री अशोककुमार राईका अध्यक्षतामा गठित मूल समारोह समितिको मातहतमा सहसचिव डा.हरि लम्सालका संयोजकत्वमा रहेको पुरस्कार चयन उपसमितिले पुरस्कार सिफारिस गर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप