बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

के महिलाको भावनालाई अस्वीकार गरिन्छ ?

सोमबार, १८ भदौ २०८०, ११ : ३३
सोमबार, १८ भदौ २०८०

‘म हुर्कदैँ गर्दा मलाई धेरैले भावुक, संवेदनशील र रिसाहा स्वभावको भने ।’

आफ्ना भावनाहरू साझा गर्दै, बिहेवियरल एन्ड डेटा साइन्टिस्टकी प्राध्यापक प्रज्ञा अग्रवाल भन्छिन्, ‘मैले एक युनिभर्सिटीमा पढाउन सुरु गर्दा वरिष्ठ पुरुष सहकर्मीले मलाई कस्तो व्यवहार गर्नुपर्छ भनेर सङ्केत पाएँ । म बलियो देखिनुपर्थ्यो, आफ्ना भावनाहरू लुकाउनु पर्थ्यो र कहिलेकाहीँ आक्रामक पनि देखिनु पर्दथ्यो ।’

भावनाहरू पनि लिङ्गका आधारमा बाँडिएका हुन्छन् भन्ने कुरा बाल्यकालमा नै बुझेको उनी बताउँछिन् ।

उनले एउटा पुस्तक लेखेकी छिन् – हिस्टेरिकलः एक्सप्लोडिङ द मिथ अफ जेन्डर इमोशन्स । यस पुस्तकमा उनले कसरी मानिसहरूसँग उनीहरूको लिङ्गको आधारमा फरक भावना राख्ने अपेक्षा गरिन्छ भन्ने विषयमा लेखेकी छिन् । 

उनी भन्छिन्, ‘महिलालाई सधैँ उनीहरूको भावनाको आधारमा निशानामा लिइन्छ ।’

‘महिलाहरू बढी भावुक हुन्छन् भन्ने गरिन्छ । त्यसपछि उनीहरूको यो भावुकतालाई तार्किकता र विवेकभन्दा कम ठानिन्छ जसलाई ‘मर्द’ को गुण मानिन्छ । तर हामीले तार्किकतालाई भावुकताभन्दा राम्रो मान्ने यो सोचलाई चुनौती दिनुपर्ने हुन्छ । ’

womanभावनालाई लुकाउने दबाब

प्राचीन कालको कला र साहित्यमा केही भावनाहरू महिलासँग मात्र जोडिएका छन् भने केही पुरुषसँग मात्र जोडिएका छन् । उदाहरणका लागि, ईर्ष्या वा चीजहरू प्राप्त गर्ने चाहनालाई महिलासँग जाेडिएकाे छ भने बहादुरीजस्ता सकारात्मक भावनालाई पुरुषसँग जोडियो । 

अहिले अवस्था केही हदसम्म सुधार भएको छ तर पूर्णरुपमा भने छैन । दिल्लीकी मनोवैज्ञानिक शिवानी मिस्री साधुका अनुसार आज पनि पुरुषहरूमा क्रोध वा प्रभुत्वलाई प्रोत्साहन गरिन्छ, जबकि महिलाहरूमा सहानुभूति र हेरचाहको भावनालाई जोड दिइन्छ ।

उनी भन्छिन्, ‘यसै कारण पुरुषमा आफ्नो भावनात्मक पक्ष लुकाउन र महिलामा आफ्नो शक्तिको भावना लुकाउन दबाब सिर्जना हुन्छ । यस्तो अवस्थामा पुरुषहरूले उदासी वा डर जताउँदैनन् जबकि महिला रिस वा भावना देखाउन सक्दैनन् किनभने यसलाई उनीहरूको देखभाल गर्ने र हेरचाह गर्ने भूमिका अनुरूप मानिँदैन ।’

महिलाहरूले आफ्ना भावना व्यक्त गर्दा उनीहरूलाई ‘अत्यधिक’ संवेदनशील, छिटो रिसाउने र असाध्यै आक्रामक भन्ने गरिन्छ । 

प्राध्यापक प्रज्ञा भन्छिन्, ‘यी शब्द सकारात्मक होइनन् र महिलाको जायज भावनालाई पनि गलत ढङ्गले प्रस्तुत गरिन्छ । यही कारणले गर्दा महिलाहरूले आफ्ना भावनाहरूलाई दबाउने गर्छन् ताकि उनीहरूलाई मानिसले गम्भीरताका साथ लिउन् ।’

यसका साथै, रिसकै उदाहरण लिँदा पनि पुरुष र महिलाको रिसलाई भिन्न दृष्टिकोणले हेर्ने गरिन्छ । पुरुषलाई रिस उठ्यो भने सामान्य मानिन्छ भने महिला रिसाएमा उनको व्यक्तित्वमा नै समस्या छ भनेर आरोप लगाइन्छ ।

अनुसन्धानले यो पनि देखाउँछ कि कार्यस्थलमा रिस देखाउने महिलालाई रिस देखाउने पुरुषको तुलनामा कम पारिश्रमिक दिइन्छ ।

प्राध्यापक प्रज्ञा भन्छिन्, ‘म महिला र पुरुषको कुरा गर्दै छु तर कतिपय मानिस यी दुई श्रेणीमा पर्दैनन् । ट्रान्सजेन्डर वा जेन्डर ननकन्फर्मिङ मानिसमाथि धेरै अनुसन्धान भएको छैन तर थुप्रै ट्रान्स महिला र ट्रान्स पुरुषले उनीहरूमाथि पनि आफ्नो पहिचान अनुरूप व्यवहार गर्ने दबाब रहने बताउँछन् ।’

woman1कहाँबाट भयो सुरुवात ?

थुप्रै शताब्दीदेखि जरो गाडेर बसेको सामाजिक र सांस्कृतिक परिमाणको आधारमा हाम्रा भावनालाई मापन गरिन्छ र हामी बाल्यकालदेखि नै यही विचारमा विश्वास गर्न थाल्छौँ । 

अनुसन्धानले भन्छ – आमाबाबुले आफ्ना छोरा र छोरीबीच फरक व्यवहार गर्छन् जसका कारण हाम्रो मनमा केही धारणा बन्ने गर्छन् जुन सधैँ बनिरहन्छन् ।

मानिसहरूले आफ्ना साना बच्चालाई यस्तो भनेको सुन्नुभएको होला – ओहो, कस्तो छोरी जस्तै रोइरहेको ? वा छोरीलाई केही विषयमा कुरा गरिरहेका बेला चुप लाग्न भनिन्छ । छोरीहरूलाई धेरै नबोल, सानो स्वरले बोल, ठुलो स्वरले नहाँस जस्ता सल्लाह पनि दिइन्छ । 

भारतकी मनोवैज्ञानिक शिवानी मिस्री साधु भन्छिन्, ‘भावनाको यो विभाजनको सम्बन्ध जेन्डर रोल अर्थात् पारम्परिक रूपमा लिङ्गको आधारमा बाँडिएको भूमिकासँग छ ।’

उनी भन्छिन्, ‘प्राचीन समाजमा जीवित रहनका लागि लिङ्ग आधारित भूमिका दिइएको थियो । पुरुष सिकार गरेर ल्याउँथे र आफ्नो समूहको सुरक्षा गर्दथे । यसका लागि उनीहरू बहादुर र बलियो हुनुपर्दथ्यो । यस्तै, महिलाले परिवारको हेरविचार गर्दथे जसका लागि सहानुभूति र संवेदनशीलता आवश्यक छ ।’

‘यही भूमिका पछि गएर धार्मिक र सामाजिक मान्यतामा फेरियो । यस्तै, जब औद्योगिक क्रान्तिको समय आउँदा पुरुष घरबाट कारखानामा जान थाले । त्यति बेला पुरुष भावनात्मक रूपमा कठोर हुनुपर्छ भनेर आशा राखियो जबकि घरको हेरविचार गरिरहेका महिलाबाट हेरविचारको गुणको अपेक्षा गर्न थालियो । समयसँगै यो सोच थप गहिरिँदै गयो ।’

यो एउटा अनौठो अवस्था हो, जहाँ महिलामाथि पहिले एक किसिमको भावना थोपरिन्छ र त्यसपछि तिनै भावना अभिव्यक्त गर्दा उनीहरूबारे धारणा बनाइन्छ । 

यति मात्र होइन । अब, महिलाहरूले कार्यस्थलमा आफ्नो प्रभुत्व बढाएपछि, उनीहरूले तथाकथित पुरुष गुणहरू, जस्तै अधिकार र दृढता प्रदर्शन गर्नुपर्ने हुन्छ र तथाकथित महिलाको गुण जस्तै विनम्र र सरल पनि हुनुपर्छ ।

यस्तो सोचले महिलालाई अप्ठ्यारो बनाएको प्राध्यापक प्रज्ञा बताउँछिन् । उदाहरण दिँदै उनी भन्छिन्, ‘राजनीतिमा महिलाको मूल्याङ्कन उनीहरूले व्यक्त गर्ने भावनाका आधारमा गरिन्छ । हिलारी क्लिन्टन बारे भनिएको थियो कि उनी धेरै स्पष्टवक्ता छिन् र प्रायः रिसाउँछिन् ।’

एक सर्वेक्षणमा पुरुष र महिला मतदाताले उनी कम हाँस्छिन् भनेर समेत आलोचना गरेको पनि पत्ता लाग्यो । थुप्रै योग्यता हुँदा पनि उनले राष्ट्रपति निर्वाचित हुनको लागि यो सर्वेक्षणमा समर्थन पाउन सकिनन् ।’

genderमिडियाको असर

मिडिया, टिभी सिरियल र सिनेमाले पनि लिङ्गका आधारमा भावनालाई विभाजित गर्न र यो सोचलाई अझ गहिरो बनाउन ठुलो भूमिका खेलेको छ ।

अधिकांश समय मिडियाले पुरुष र महिलालाई रूढिवादी विचारहरू अनुसार नै देखाएको छ । चलचित्र र टिभी सिरियलमा पुरुषहरूलाई प्रायः बलियो र आत्मविश्वासी रूपमा चित्रण गरिएको छ भने महिलाहरूलाई कमजोर र भावनात्मक रूपमा चित्रण गरिएको छ ।

तर, पछिल्लो समय केही परिवर्तन पनि भएका छन् । मनोवैज्ञानिक शिवानी शिवानी मिस्री साधु भन्छिन्, ‘यस दिशामा मिडियाले पनि सकारात्मक भूमिका खेल्न सक्छन् । अहिले परम्परागत मान्यतालाई तोड्न थालिएको छ । अब यस्ता पुरुष पात्रहरू देखिन थालेका छन् जो भावुक छन् र डराउँछन् । महिलाहरू पनि अहिले बलियो र सशक्त भूमिकामा देखिएका छन् । यसले दर्शकको मनमा रहेको स्टेरियोटाइपलाई तोड्न मद्दत गर्छ ।’

woman2कसरी सुधार गर्न सकिन्छ ?

हामी सबैले नयाँ र फरक वातावरणमा अनुकूलन गर्न आफ्नो व्यवहार परिवर्तन गर्छौँ । तर यस प्रकारको दबाब केही व्यक्तिहरूको लागि धेरै हुन्छ ।

यदि कसैले आफ्नो भावना व्यक्त गर्न सक्दैनन् भने यसले उसको मानसिक र शारीरिक स्वास्थ्यलाई असर गर्न सक्छ । तपाईं तनाव, बेचैनी, अनिद्रा र डिप्रेसनको पनि सिकार हुन सक्नुहुन्छ ।

प्राध्यापक प्रज्ञा अग्रवाल भन्छिन्, ‘आदर्श स्थिति त यो हो कि आफ्ना बारे कसले के सोच्लान् भन्ने चिन्ता नगरी आफ्नो भावना व्यक्त गर्न सक्नु हो ।’

विज्ञका अनुसार यस्तो अवस्था रह्यो भने कोही पनि आफ्नो उदासी, डर, दुःख वा कुनै पनि नकारात्मक भावनालाई अभिव्यक्त गर्न हिचकिचाउने छैन, भलै उसको लिङ्ग जे सुकै होस् । त्यति बेला कसैले पनि उदासी र अन्य नकारात्मक ठानिने भावना जताउन कुनै लज्जा महसुस गर्ने छैनन् । 

एउटा यस्तो माहौल बनाउनु पर्नेछ जहाँ सबैले खुलेर कुरा भन्न सकुन् र आफ्नो वास्तविक भावनालाई व्यक्त गर्न सकुन् । 

प्रोफेसर प्रज्ञा भन्छिन्, ‘याद राख्नुहोस्, आफ्ना भावना व्यक्त गर्ने हाम्रो क्षमताले नै हामीलाई मानिस बनाएको हो ।’

बीबीसी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप