शुक्रबार, ०५ असोज २०८०
ताजा लोकप्रिय

नाटक : आहार विज्ञान

सोमबार, २५ भदौ २०८०, १६ : २८
सोमबार, २५ भदौ २०८०

स्थान– सामुदायिक विद्यालयको आँगन 

समय अपराह्न तीन बजे 

पात्रहरू– सुवर्ण – स्वास्थ्य शिक्षा शिक्षक, सुलोचना – कक्षा १० की छात्रा, सुभद्र – कक्षा १० को छात्र, सुप्रभा – कक्षा १० की छात्रा, सुदर्शन – कक्षा १० को छात्र ।

नेपथ्यमा सामुदायिक विद्यालयको परिसर देखिन्छ । दर्शक दीर्घामा विद्यार्थी र उनीहरूका अभिभावकहरू लहरै बसेका हुन्छन् । रङ्गमञ्चमा शिक्षक सुवर्ण कुर्सीमा बसेर विद्यार्थीहरूको प्रतीक्षा गरिरहेका देखिन्छन् । एक छिनमा विद्यार्थीहरू आएर शिक्षकलाई नमस्कार गर्दै वरिपरि बस्छन् । 

शिक्षक– (विद्यार्थीहरूलाई सम्बोधन गर्दै) भन त बाबु नानी हो ! आजको अतिरिक्त कक्षामा के पढ्ने विचार गरेका छौ ।

विद्यार्थीहरू (सामूहिक स्वरमा) खानाका बारेमा जान्न चाहन्छौँ गुरु !

शिक्षक– राम्रो, तर कुन कुरा जान्न चाहेका हौ त्यसबारे विचार गरेका छौ ?

सुलोचना– अस्ति तपाईँले हीतभुक, ऋतभुक र मीतभुकमा ध्यान दिनुपर्छ भन्नुभएको थियो त्यो भनेको के हो गुरु !

शिक्षक– ए ! त्यो ? लौ सुन । हीतभुक भनेको फाइदा गर्ने चीज मात्र खानुपर्छ भन्ने हो । ऋतभुक भन्नाले नियमपूर्वक खानुपर्छ भन्ने बुझ्नुपर्छ । अनि मीतभुक भनेको थोरै खानुपर्छ भन्ने हो ।

सुभद्र– कुन समयमा कुन चीज खाने भन्ने नियम पनि छ कि गुरु ! 

शिक्षक– छ नि किन छैन । मङ्सिर पुस महिनातिर चिसो बढी हुन्छ । त्यसले शरीरको बाहिर एउटा आवरण बनाउने काम गरेको हुन्छ । यसबाट शरीरको गर्मी बाहिर जान पाउँदैन र पाचनशक्ति बढाउने गर्छ । त्यसैले यतिबेला पिरो, अमिलो, तीतो र चिल्लो भोजन गर्नु उपयुक्त हुन्छ । यसबाहेक यतिबेला नयाँ अन्न खानु बढी उपयुक्त हुन्छ । नयाँ अन्नमा भिटामिन बढी हुन्छ । बढी भिटामिन पचाउन पाचन शक्ति पनि त्यस्तै हुनुपर्ने हुन्छ, जुन यति बेलाको समयले दिएको हुन्छ । त्यस्तै माघ र फागुन महिना पनि चिसै महिना हो । त्यसैले यतिबेला पनि यस्तै आहार उपयुक्त हुन्छ ।

सुदर्शन– अनि अन्य समयको खाना कस्तो हुनुपर्छ नि गुरु !

शिक्षक– ठीक भन्यौ । चैत र वैशाखतिरको खाना अमिलो, मीठो र रसिलो उपयुक्त हुन्छ । जौ, गहु आदि पनि यतिबेलाका उपयुक्त आहार हुन् । त्यस्तै जेठ र असारतिरका खाना चिसो र मधुर हुनु राम्रो हुन्छ । दूध, दही, घ्यु र चामल यतिबेलाका उपयुक्त आहार हुन् । बढी नुनिलो, अमिलो, तीतो तथा तातो चीजबाट भने बच्नुपर्ने हुन्छ । त्यसैगरी साउन र भदौतिर जौ, गहुँ, तथा चामल खानु राम्रो मानिन्छ तर ती सकेसम्म पुरानो राम्रो हुन्छ  । सम्भव भएसम्म खानामा मह मिलाएर खाँदा बढी फाइदा गर्छ । यतिबेला नदी तथा खोलाको पानी खान तथा पानीमा घोलेको सातु भने खानुहुँदैन । त्यस्तै असोज र कात्तिकतिरको समयमा मधुर र शीत प्रधान खाद्यान्न राम्रो मानिन्छ । यो पित्तजन्य प्रकोपको समय भएकाले पित्त बढाउने खाना भने सकेसम्म नखाँदा नै राम्रो हुन्छ ।  

सुलोचना– ऋतभुकलाई पनि थप प्रष्ट पारिदिनुहुन्छ कि गुरु !

शिक्षक– अवश्य । ऋतभुक भन्नाले नियमपूर्वक खानुपर्छ भन्ने त बुझिहाल्यौ । जहाँसम्म नियमपूर्वक खानुपर्छ भनेको के हो भन्ने कुरा छ । त्यो भने हरेक कुराको नियम हुन्छ । यसमा खाना पनि पर्छ । तरिका मिलाएर खाए त्यही खाना अमृत बन्छ नत्र विष बनेर दुःख दिन सक्छ । खाना खाँदा सुरुमा ठोस् बीचमा पिरो र अन्त्यमा तरल चीज खानु राम्रो हुन्छ तर धेरै पिरो, अमिलो, चिल्लो, गुलियो, नुनिलो, चिसो र तातो नहोस् भन्नेतर्फ भने सतर्क हुनुपर्छ । तातो खाएको लगत्तै चिसो खानु राम्रो हुन्न । खानासित पानी खानु पनि राम्रो होइन । त्यसैले खाएको एक घण्टापछि मात्र खानुपर्छ । बेलुका सुत्ने बेला तातो र बिहान उठ्ने बित्तिकै चिसो पानी खानु राम्रो हुन्छ । बासी, सडेगलेको र गरिष्ठ चीज कहिल्यै पनि खानुहुँदैन । बेलुका सकेसम्म सुत्नुभन्दा दुई घण्टा अगाडि नै खाइसक्नुपर्छ ।  फलफूल स्वास्थ्यवर्धक हुन्छन् तर बेलुका सुत्ने बेलामा र बिहान खाली पेटमा भने नखाँदा नै राम्रो हुन्छ ।  

सुभद्र–  अनि मीतभुक भनेको के हो नि गुरु ! 

शिक्षक– यो भनेको थोरै खानुपर्छ भन्ने हो तर यसको अर्थ पेट भोकै राख्ने भन्ने होइन । सकिन्छ भने पेटको दुई भाग मात्र खानाले भर्नुपर्छ । एक भाग पानीलाई र एक भाग वायुलाई खाली छाडिदिँदा बढी राम्रो हुन्छ । त्यसैले एकैचोटी कोचिकोची खानुभन्दा थोरथोरै गरेर पटक पटक खानु राम्रो हुन्छ । बिहानको भन्दा बेलुकाको खाना हल्का हुनुपर्छ । बिहानको खाना मागेर र बेलुकाको खाना बाँडेर खानु भन्ने त भनाइ नै छ । 

यत्तिकैमा समय सकिएको घण्टी बज्छ । पर्दा खस्छ र सबै घरतिर लाग्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप