आइतबार, १४ असोज २०८०
ताजा लोकप्रिय

वर्ल्ड ओलम्पिक फोरममा नेपालको ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमको प्रसंशा

सोमबार, ०१ असोज २०८०, १३ : ४५
सोमबार, ०१ असोज २०८०

काठमाडौँ । वर्ल्ड ओलम्पियन्स फोरममा नेपाल ओलम्पियन्स संघले सञ्चालन गरेको ‘स्कुल टु ओलम्पिक कार्यक्रम’ ले निकै चर्चा बटुलेको छ । वर्ल्ड ओलम्पियन्स फोरमका सहभागीले ‘स्कुल टु ओलम्पिक कार्यक्रम’ को प्रशंसा पनि गरेका छन् । 

टर्कीको इस्तानबुलमा शनिबार र आइतबार भएको दुई दिने वर्ल्ड ओलम्पियन्स फोरममा आफूले प्रस्तुत गरेको संघको गतिविधिमध्ये ‘स्कुल टु ओलम्पिक कार्यक्रम’ लाई सबैले प्रशंसा गरेको जानकारी नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले दिए । 

वर्ल्ड ओलम्पियन्स फोरमा सहभागी अन्य देशका संघहरुले पनि यस्तै कार्यक्रम सन्चालन गर्नुपर्नेमा जोड दिएको विष्टले रातोपाटीलाई बताए । फोरममा अन्य देशका सहभागीहरुले पनि आ—आफ्नो देशमा सञ्चालित गतिविधिका बारेमा फोरममा जानकारी गराएका थिए ।

‘संघले पछिल्लो दुई वर्षको अवधिमा गरेका स्कुल टु ओलम्पिक, ओलम्पियन्स रियुनियनलगायतका कार्यक्रमलाई समेटेर तयार पारिएको भिडियो कार्यक्रममा प्रस्तुत गरियो । हामीले प्रस्तुत गरेको कार्यक्रममध्ये स्कुल टु ओलम्पिक अभियानलाई सबैले प्रशंसा गरे । उनीहरु पनि यस्तो कार्यक्रम सञ्चालन गर्न उत्साही देखिएका छन् । हामीले राम्रो कामको सुरुआत गरेको अनुभव भएको छ,’ उनले भने । 

आफूले फोरमा देशभित्रका खेलकुद निकायसँग सहकार्य गर्दै समाज केन्द्रीत नयाँ कार्यक्रमहरु अगाडि ल्याउनु पर्नेमा जोड दिएको पनि उनले बताए । उनले भने, ‘हामीले नेपाल ओलिम्पक कमिटी, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, प्याब्सन र एनप्याब्सनसँग सहकार्य गर्दै स्कुल टु ओलम्पिक कार्यक्रम सन्चालन गरिरहेको छौं, त्यसलाई भविष्यमा पनि निरन्तरता दिनेछौं ।’

फोरममा विश्वका एकसय ५० भन्दा बढी ओलम्पिन्स संघका प्रतिनिधिहरुको सहभागिता रहेको जानकारी पनि विष्टले दिए । आफूले फोरमका सहभागीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको र वर्ल्ड ओलम्पियन्स एसोसिएसनका अध्यक्ष जोय बोउजोउसहित अधिकांश सहभागीबाट सकारात्मक प्रतिक्रिया पाएको पनि विष्टले बताए ।

वर्ल्ड ओलम्पियन्स एसोसिएसनका अध्यक्ष बोउजोउलाई आफूले नेपालको तर्फबाट मायाको चिनोको रुपमा मयुरअंकित काठको आँखी झ्याल हस्तान्तरण गरेको पनि विष्टले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप