मङ्गलबार, १५ फागुन २०८०
ताजा लोकप्रिय

अपर तामाकोशीको हकप्रद सेयरको समय थपियो, असोज २२ गतेसम्म आवेदन दिन सकिने

शुक्रबार, ०५ असोज २०८०, ११ : ३२
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले हकप्रद सेयरको समय थप गरिएको छ । कम्पनीले आफ्ना सेयर सदस्यहरुलाई सहज हुने गरी राइट सेयरको समय आगामी असोज २२ गतेसम्मका लागि लम्ब्याएको हो । 

यसअघि कम्पनीले असोज ७ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको हो ।  कम्पनीले भदौ १८ गतेदेखि असोज ७ गतेसम्म १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । 

जसअनुसार १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन खुला भएको छ । यस हकप्रद सेयरका लागि कम्पनीले गत साउन २६ गते बुक क्लोज गरेको थियो । साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद दाबी गर्न पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको जिम्मेवारी लिएका छन् । 

हाल कम्पनीको कूल चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । अपरले कर्जा तिर्न र २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयरमार्फत रकम संकलन गर्न लागेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप