मङ्गलबार, १५ फागुन २०८०
ताजा लोकप्रिय

सर्लाही घटना ः दुवै पक्षलाई संयम अपनाउन अपिल

‘एक अर्काको धार्मिक गतिविधिमा अवरोध वा खलल पार्नुहुँदैन’
शनिबार, ०६ असोज २०८०, २० : २०
शनिबार, ०६ असोज २०८०

काठमाडौँ । विगत केही दिन यता सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वका कारण सिर्जित प्रतिकूल अवस्थाप्रति मधेस प्रदेशको आमसञ्चार प्राधिकरणले चिन्ता व्यक्त गरेको छ ।  

दुई साता अघि कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवाद साम्य भइसकेको अवस्थामा गत शुक्रबार साँझ गणेश चतुर्थीको मूर्ति सेलाउन जाने क्रममा झडप हुँदा घटनाले उग्र रूप लिएको हो । प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै द्वन्द्वरत दुवै पक्षलाई संयमित हुन आग्रह गरेका छन् ।

सामाजिक एकता र सद्भावको पक्षमा उभिन मलङ्गवाबासीलाई उनले अपिलसमेत गरेका छन्  । केही दिनयता अशान्त एवम् निरन्तर कर्फ्यु जारी रहेकोले अवस्था सहज बनाउनका लागि सम्बद्ध सबै पक्षलाई आ–आफ्नो तवरबाट गम्भीर बन्न उनको आग्रह छ ।

‘विविधतासहितको एकतामा आधारित हाम्रो धर्म, संस्कृति र परम्परा एक अर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुता सहित सामाजिक सद्भाव र एकताको पक्षमा रहँदै आएका छौँ । संविधानले सबैलाई धर्म र मर्यादा अवलम्बन गर्ने हक सुनिश्चित गरेकोले एक अर्काको धार्मिक गतिविधिमा अवरोध वा खलल पार्ने कार्य कोही कसैबाट हुनु हुँदैन । जस्तोसुकै समस्या, विमति र चुनौतीहरू वार्ता संवाद, सहमति,  र सहकार्यबाट गर्न सकिने भएकोले यसतर्फ गम्भीर बन्न सम्बद्ध पक्षसँग आग्रह छ,’ उनले भने ।

मलङ्गवामा उत्पन्न द्वन्द्व र त्यसबाट सिर्जित घटनाहरूबारे फेसबुक, पेज, युट्युब, टिकटक, इन्टाग्राम लगायतका केही सामाजिक सञ्जालमा अतिरञ्जित, उत्तेजक, घृणा, द्वेष तथा द्वन्द्वलाई प्रोत्साहित गर्ने खालका भड्काउपूर्ण पोष्ट एवम् सन्देशहरू प्रवाह भइरहेको पाइएकोले यस्ता कार्य नगर्न नगराउन पनि आग्रह गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप